नेपाल–जापान सम्बन्धमा नयाँ आयाम

प्रा.डा. गोपाल शिवाकोटी

विश्व शक्तिराष्ट्रको रूपमा उदय हुने महŒवाकाङ्क्षा बोकेको, सैनिक शक्तिलाई सुदृढ गरिरहेको तथा नयाँ व्यापार समूहको नेतृत्व लिने आकाङ्क्षा बोकेको जापान तथा समृद्ध र सुखी नेपालीको नारा अगाडि सारेर समाजवाद प्राप्त गर्न अघि बढेको नेपालबीच नयाँ सम्बन्ध विकसित हुन गएको छ । जापानले नेपालसँग कामदार लिने तथा नेपालले जापानबाट लगानी भिœयाउने कार्यक्रम अगाडि बढाएपछि नयाँ आयाम विस्तार भएको हो । नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले औपचारिक भ्रमण गर्नुभएको छ भने जापानका परराष्ट्रमन्त्रीले पनि नेपालको दुईदिने भ्रमण गर्नुभएको छ । यो उच्चस्तरीय भ्रमणले नेपाल र जापानबीच जनस्तर र राज्यस्तरको सम्बन्धले नयाँ उचाइ लिने विश्वास गरिएको छ । 

जापानले यो सम्बन्धमा सम्झौताको मस्यौदा पठायो । यसमा जापानले १४ क्षेत्रमा कामदार लिने भएको छ । यसमा घरेलु स्याहारसुसार, व्यापार, उद्योग व्यवसाय, इलेक्ट्रोनिक, पशुपालन, कृषि व्यवसायमा नेपाली जान पाउने तोकिएको छ । यस अघि नेपालबाट जापानले प्रशिक्षार्थी कामदारहरू लिने गरेकोमा अहिले आएर पूर्ण कामदारहरूलाई नै लैजाने भएकोले नेपालीहरू उत्साही भएका छन् । जापान नेपालीका लागि आकर्षक गन्तव्य हो । जापानमा कामदारहरूलाई दिइने तलब आकर्षक रहेकोले नेपालीहरू उत्साही भएको देखिएको छ । यसैले गर्दा कामदार पठाउने मेनपावर कम्पनीहरूबीच चलखेल भइसकेको देखिएको छ । 
 
जापानले नेपालबाट करिब एक सय २० वर्ष अगाडि देव शमसेरको पालामा सरकारको अनुरोधले आठ जना युवालाई जापानमा अध्ययन गर्न लगेको थियो । जापानमा शिक्षा पाएका यी व्यक्तिले नेपालको विकासमा महŒवपूर्ण योगदान गरेका थिए । साथै देव शमसेरले जापानको संविधानलाई अनुशरण गर्न खोज्दा बेलायत रिसाएर चन्द्र शमसेरबाट उनलाई धनकुटा निष्कासन गरेपछि राजनीतिक सुधार रोकिएको थियो । जापानमा इन्जिनियरिङ पढेर आएका व्यक्तिहरूले नेपालको निर्माण र विकासको पूर्वाधार तयार गर्ने कामसमेत गरेका थिए । अहिले एक सय २० वर्षपछि छात्रवृत्तिमा पढाउनका लागि होइन, विभिन्न १४ वटा क्षेत्रमा श्रमिकको आपूर्तिका लागि नेपाली लैजान लागेको हो । यसबाट जापानको परम्परागत मित्रताभन्दा नयाँ आयामको सम्बन्धमा विकास भएको देखिन्छ । जापान जल परिवेष्टित प्रशान्त क्षेत्रमा रहेको टापु राज्य हो । यो मध्य एसियामा रहेको राज्य हो । यति हुँदाहँुदै पनि नेपालीसँग जापानीहरूको एकरूपता रहेको छ । दुवै देशको अधिकांश जनता बुद्धमार्गी रहेका छन् । त्यसैले गर्दा जापानी र नेपालीबीच भावनात्मक एकतासमेत पाइन्छ । 
 
जापानले अमेरिकाको नयाँ व्यापार संयन्त्र निर्माण गर्ने प्रयासस्वरूप ट्रान्सप्यासिफिक सम्झौताका सदस्य राष्ट्रसँग संवाद गर्ने जिम्मा लिएको छ । जनवरी २०१७ मा अमेरिकाको ट्रान्सप्यासिफिक व्यापार सम्झौताबाट बाहिरिने घोषणा गरेपछि यसको प्रतिक्रियास्वरूप यस क्षेत्रका ११ वटा मुलुकले सिपिटिपिपी सम्झौता गरेका थिए र यसको नेतृत्व जापानले लिएको थियो । जापानले यस क्षेत्रको व्यापार बारेमा वार्ता गरे अनुसार नै २०१७ को अन्त्यमा नयाँ व्यापार सम्झौतामा हस्ताक्षर भएको थियो । ८ मार्च २०१८ मा ११ राज्यले दस्तखत गरेको सिपिटिपिपी सम्झौतालाई जापानको लागि उपलब्धिको रूपमा लिएको छ । यो व्यापार सन्धिको सफलताका लागि जापानले केही जोखिमसमेत उठाउनुपर्ने हुनसक्छ भन्ने शङ्काहरू रहेका छन् । 
 
जापान सेवा उद्योग, इलेक्ट्रोनिक, सूचना प्राविधि, उत्पादन तथा निर्माण उद्योग, वित्तीय क्षेत्र र बौद्धिक सम्पत्तिका आधारमा अन्य सदस्य राष्ट्रभन्दा अगाडि रहेको छ तथापि जापानमा बढ्दै गएको वृद्धको सङ्ख्याले गर्दा यी क्षेत्रमा नयाँ युवाशक्तिको कमी प्रमुख चुनौती हो । यही चुनौतीलाई सामना गर्न जापानले नेपालबाट दक्ष र अदक्ष कामदारहरू भिœयाउन लागेको होे । सम्झौतामा संलग्न राज्यहरू भियतनाम, मलेसिया, मेक्सिको र अन्य औद्योगिक राष्ट्रले जापानका मझौला तथा साना उद्योगका लागि जनशक्ति प्रस्तुत गर्न सक्ने देखिन्छ । यस्तो अवस्थामा आफ्ना उच्च प्रविधिक उद्योगको बचाउमा जापान आउन सक्ने अवस्था छ । दीर्घकालमा कृषि, पशुपालन, मत्स्यपालन तथा अन्य साना उद्योग व्यवसायमा जापान अरूसँग भर पर्न सक्ने सम्भावना पनि छ । 
 
सबै खालका उद्योग व्यवसायीलाई बचाउन जापानले विदेशी श्रम शक्तिहरूको खरिद गर्न लागेको हो । यसका लागि नेपाललाई जापनले प्राथमिकता दिएको देखिन्छ । यसले गर्दा जापानले युवा जनशक्तिको आपूर्ति गर्न सक्दछ र आफ्नो औद्योगीकरणलाई बचाउन र गति दिन सक्नेछ । त्यसैले दक्ष र अदक्ष सबै खालका नेपाली श्रमिकहरू लिने मार्च ८ को जापानको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको होे । विदेशी श्रमिकहरू लैजाने मुलुकहरूमा नेपाल, पिmिलपिन्स, चीन, इन्डोनेसिया, कम्बोडिया र भियातनाम रहेका छन् । यी देशमा पहिलोचोटि पाँच वर्षको अवधिमा तीन लाख ४५ हजार श्रमिक लैजाने निर्णय गरिएको छ । आवश्यकता अनुसार यो सङ्ख्यामा वृद्धि हुन सक्ने देखिएको छ । 
 
नेपालीका लागि खाडी मुलुक, दक्षिण कोरिया र मलेसियाको साथै जापान पनि वैदेशिक रोजगारीको आकर्षक केन्द्र रहेको छ । अहिले पनि जापानमा प्रशिक्षार्थीका रूपमा गएका तथा गैर कानुनी रूपमा काम गर्नेहरूको सङ्ख्या प्रशस्त रहेको छ । नेपालीहरूको इमानदारी र श्रम गर्ने बानीले गर्दा जापानीहरू प्रभावित छन् । जापानले आफ्ना कामदारहरूको कमी भएपछि वर्किङ भिसामा कामदारहरू लैजान थालेको हो । हाल गैर कानुनी बाटोबाट जापान पठाउनका लागि पनि दलालहरूले १२ लाख रुपियाँसम्म लिने गरेका छन् । नक्कली कागजात बनाएर जाँदा नेपालीले अनेक किसिमका समस्या भोग्नुपरेको छ । तर अब वैधानिक रूपमा वर्किङ भिसामा नेपालीहरू जापान जान पाउनेछन् । नेपाली कामदारहरू लिनका लागि जापानले एक सयभन्दा बढी केन्द्रहरू खोल्ने र जापानी भाषा र सीप सिकेकाहरूलाई प्राथमिकतामा राख्ने देखिएको छ । 
 
नेपालमा पनि जापानबाट प्रविधि ल्याएर मोटर गाडीहरू, मोटरसाइकल तथा अन्य विद्युतीय सामानले नेपाललाई समृद्ध बनाउन सकिन्छ । जापान गएका श्रमिकहरूले श्रम सिकेर आई नेपालमा प्रयोग गर्न सक्नेछन् । जापानलाई कामदार आपूर्ति गर्ने कार्य दुवै देशको आपसी हित र स्वार्थको विषय हुन सक्छ । नेपालका उच्चस्तरीय भ्रमण पनि दुवै देशवीच हुँदै आएका छन् र पर्यटकहरूको सङ्ख्या पनि बढ्दै आएको छ । जापानले नेपालको विभिन्न क्षेत्रको विकासमा महŒवपूर्ण सहयोग गर्दै आएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको निर्माण, पुल्चोकमा साझा यातायातको ग्यारेज र बसको व्यवस्था, बीपी राजमार्गको निर्माण, पुराना खानेपानी प्रणाली र ढललाई सुधार, गोंगबु बसपार्कको निर्माण, कालीगण्डकी जलविद्युत् परियोजनाको निर्माण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार, खाद्यान्नको आपूर्ति जस्ता कार्यहरू गर्दै आएकोमा अबको दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिनेछ । तथापि जापान – चीनबीचको बढ्दो तनावको विद्यमान अवस्थामा सन्तुलन नमिलाउँदा चीनसँगको सम्बन्धमा असर पर्नसक्ने हुँदा गम्भीर भएर अगाडि बढ्नु आवश्यक छ ।
 
Published: 10 January 2019/ Gorkhapatra

NEWS SEARCH