परिवर्तनका लागि सँगै युद्व लडेका कार्यकर्ताहरू कहिलेसम्म खाडीमा?

जनयुद्वको २३ वर्ष
 
सुबास शर्मा
 
२३ वर्ष अगाडि सत्ता बन्दुकको नालबाट जन्मिन्छ भन्दै बन्दुक बोकेर जङ्गल पसेको उसले आज अरबमा १२ घन्टा काम सकेर कोठामा आई खुईइ..सुस्केरा हाल्दै फेसबुकमा स्ट्याटस् लेख्यो ‘महान जनयुद्व जिन्दावाद! वीर सहिद अमर रहुन्! प्रचण्ड पथ जिन्दावाद!’
 
टुईटरमा पोष्ट गरिएका टुईटमा आँखा रोकिए। मानौं ती शब्दहरु भित्र कहीँ न कतै म पनि जोडिएको छु। त्यसैले एकपटक पढेर मात्र चित्त बुझेन। अनि फेरि  दोहोर्‍याए पढे ‘महान जनयुद्ध जिन्दावाद! वीर शहिद अमर रहुन्! प्रचण्ड पथ जिन्दावाद।’
 
कोठामा चलिरहेको चिसोसँगै मस्त निद्रामा सुतिरहेका रेमिट्यान्स लाहुरेको निद्रा भंग नहुने गरि मनमनै पढेँ। अनि मनमनै सम्झिएँ त्यो बेलामा प्रचण्डपथको बाटोमा आफ्नो जीवनको अमूल्य समय नास गर्दै हिडेका मेरा एकजना दाइलाई। जो आज प्रचण्डपथको बाटो हिँड्दै हिँड्दै दुबईको फराकिलो सडकमा आफ्नो एक थान ज्यानलाई अवतरण गराएका छन्।
 
हप्ताको ६ दिनसम्म आफ्नो ज्यानलाई मेसिनको रफ्तारसँगै चलाएर थकित भएका मेरो दाईले बिहिबारको हरेक साँझ त्यो थकित ज्यानको दुखाई कम्ती गर्न आफ्नो कोठामा मलाई बोलाउने गर्छन्। अनि रोयल स्टेगले भरिएको गिलास ठोक्याएर चियर्स भन्दै मनको अनि ज्यानको दुखाई कम गर्ने कोशिस गर्छन्।
 
दाईले रक्सी पिउदै गर्दा यस्तो लाग्छ कि, उनले रक्सी होइन, कुनै औषधिको झोल पिईरहेका छन्। मनको पीडा कम गर्ने औषधि। त्यसैले होला बेलाबेलामा उनले भन्ने गर्छन् ‘यो रक्सी बनाउने मान्छेले पनि धेरै सोच-विचार गरेर बनाएको रैछ यार। नत्र म यसरी पीडा बोकेर कसरी बाँच्न सक्थे होला र।’
 
‘मेसिन चलाउन सजिलो कि मेसिनगन चलाउन दाई?’ ‘हैट! चलाउन त मेसिनगन नै सजिलो नि यार भाई। तर के गर्नु, त्यै मेसिनगन चलाएर देशमा केही परिवर्तन हुन्छ कि भनेर कलम फालेर मेसिनगन समातियो, लास्टा ज्यानले आज दुबईमा पन्जा बनाउने मेसिन चलाउनु पर्‍या छ। थुक्क जिन्दगी!’
 
थालमा नुन छर्केर राखेको मुलाको चाना समाउँदै दाईले आफ्नो जिन्दगीलाई थुक्यो। थाहा छैन मेरो दाइले जस्तै कति जना पूर्व लडाकुहरुले जिन्दगीलाई थुकिरहेका छन्।
 
एक जना रोल्पाका मित्र छन्। यतै दुबई आएर चीनजान भएको। केही समय पहिले पूर्वप्रधानमन्त्री प्रचण्ड युएई भ्रमण आएको बेला आबुधाबीस्थित नेपाली राजदूतावासमा उनले प्रचण्डलाई आफूले घाँटीमा भिरेको क्यामेरा देखाउँदै भनेका थिए- ‘कम्रेड! म तपाईँको पार्टीको पूर्वलडाकु। हिजो हजुरसँगै जनयुद्वमा हिँडेको म आज अरबमा एक्लै हिडिरहेको छु, सपनाहरू तुहाउँदै। अहिले ‘म’ सँग सम्पत्तिको नाममा यही एउटा क्यामेरा छ कम्रेड। मलाई जवाफ दिनुहोस् ‘अझै कति वर्षसम्म ‘म’ विदेशमा यस्तो अवस्थामा बसिरहनुपर्ने हो?’
 
उनले प्रधानमन्त्री समक्ष पोखेका ती पीडाका शब्दले प्रधानमन्त्री प्रचण्डको मनलाई छोयो या छोएन त्यो उनैले जानुन्। तर एउटा कुनामा उभिएर बोलिरहेका उनको त्यो मनभित्रको पीडा मिसिएको आवाजले मेरो मनलाई भने चसक्क घोच्यो। फाटेको लुगा सिउँदा हातको औंलामा सियोले च्वाँस्स घोचे जसरी।
 
२३ वर्ष पूरा भयो, तत्कालीन नेकपा माओवादीले रोल्पाको होलेरी, रूकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढी अनि गोरखाको प्रहरी चौकी आक्रमण गरेर जनयुद्व घोषणा गरेको। दश वर्षसम्म चलेको त्यो कहालीलाग्दो दिनहरूको अन्त्य गर्न बिस्तृत शान्ति सम्झौतामा गरेको पनि यतिका वर्ष बितिसक्यो।
 
यो बिचमा दर्जनौंपटक सत्ता परिवर्तन भए, नयाँ अनि पुराना अनुहारहरुले पटकपटक राज्यको बागडोर सम्हालेर बसे। जो आए, जति आए, अनि जसरी आए, बस् आफ्नै झोली भर्नकै लागि आए। देश सधैं रित्तो रित्तो।
 
जनयुद्वको घोडा चढेर भारतको दिल्लीमा बिस्तृत शान्ति सम्झौता गरेपश्चचात प्रचन्ड अनि बाबुराम प्रधानमन्त्री/मन्त्री त बन्न सफल भए। तर, हिजो जनतालाई जुन सपनाको गुलियो लड्डु देखाएर नेपालको विकास र समृद्धिको कुरा गर्थे, ठूला भाषण दिन्थे, आज ती केवल खोक्रो भाषण मात्रै रहेछन् भन्ने कुरा स्वयम् उनीहरुको चरित्रले नै प्रमाणित गर्दै गइरहेको छ।
 
हिजो युद्वकालमा गाउँका घरहरुका भित्ता भित्तामा ‘भारतीय बिस्तारवाद मुर्दाबाद’ का ठूलठूला अक्षर कोर्नेहरू आज तिनै बिस्तारबादी भनिएकाको आदेश बिना अगाडि पाईला बढाउँनै नसक्ने भएका छन्। समय पनि कस्तो कस्तो आइपुग्ने रहेछ।
 
जनयुद्व लडेको रोल्पाभन्दा प्यारो आज लैनचौर बनेको छ। नबनोस् पनि कसरी। सत्ताको कुर्सी उसैको हातमा जो छ। हिजो रोल्पामा बसेर भारत विरुद्ध सुरूङ युद्वको हुँकार दिनेहरु आज त्यही भारतले रोल्पाका गाउँहरुमा बच्चाहरु पढ्ने स्कुल बनाईरहदा कहाँ अनि कुन सुरूङको खाल्डोबाट टुलुटुलु हेरिरहेका छन्? सोध्न अनि खोज्न मन लागेको छ।
 
दश वर्षसम्म तिनै रोल्पाली जनतालाई ढाल बनाएर युद्व लडेकाहरु आज कस्को ढाल बनेर देशलाई हानिरहेका छन् भन्नेकुरा घाँम जत्तिकै छर्लङ्ग हुँदै गएको छैन र?
 
न भोक, न प्यास भनी काधँमा बन्दुक अनि कम्मरमा गोलि गठ्ठा बोकेर परिवर्तनको खातिर आफ्नो ज्यानलाई हत्केलामा राखी युद्व लडेकाहरू मध्यका केही आज अरबका अग्ला अग्ला भवनका सीसा सफा गर्दैछन्, भने कोही सुरक्षा गार्डको बर्दी लगाएर उभिएका छन्।
 
बचेका कती नेपालमा कष्टको जीवन बाँचिरहेका छन्। युद्वको बेला जङ्गलमै जन्मिएका आफ्ना सन्तानलाई काखमा च्यापेर गाउँबाट काठमाडौं पुगि आफ्नै पार्टीको कार्यालय घेराउ गर्छन् विचराहरू। आफ्नो समस्या समाधान गरिदिन भन्दै मलिन अनुहार मा धर्ना बस्छन्। तर आज आफ्नै पार्टीका अध्यक्ष दुई-दुई पटक प्रधानमन्त्रीको कुर्सीमा बसिसक्दा उल्टो प्रहरी लगाएर ती बिचराहरुलाई भ्यानमा कोचेर जेल पुर्‍याउँछन्।
 
के यहीँ दिन देख्नको लागि भनेर प्रचन्ड पथको बाटोमा आफ्नो जवानी खेर फालेका थिए उनीहरूले? जवाफ कसले दिने हो? नयाँ बोतलमा पुरानो रक्सी हालेर जनता झुक्याउँदै गरेका नयाँ शक्तिका अध्यक्षज्यूले या ‘क्रान्ति अझै बाँकी रहेको भन्दै बम बारूद पट्काउदै हिँडेका बिप्लबज्यूले? ‘कसले दिने जवाफ? ‘गरिब जनताको मुक्तिका लागि युद्व गरेको हुँ भनेर कहिल्यै नथाक्ने प्रचण्ड ज्यूले?’
 
त्यही रोल्पाले जन्मायो सभामुख ओनसरी घर्ती। त्यही रोल्पाले नै जन्माएको हो वर्षमान पुन अनि कृष्ण बहादुर महरालाई। तर आज कहाँ छ रोल्पा? कुन अवस्थामा आफ्नो प्राण थेगीरहेका छन् रोल्पाली जनताले? कहिँले महसुस गर्ने समय मिल्यो रोल्पाबाट काठमाडौं झरी सुटबुट लगाउँदै हिडेका महान रोल्पाली क्रान्तिकारी नेताज्यूलाई?
 
दस वर्षसम्म हज्जारौंको रगतको होली खेलेका आज सत्ता र कुर्सीको लुछाचुडीमै रमिता देखाउँदै दुनियाँ हसाईरहेका छन्। हिजो सँगै युद्व लडेकाहरु  पदीय भागबण्डा नमिलेर टुक्राटुक्रा बनी अलगअलग ठाउँमा जनयुद्व दिवस मनाउदै रमिता देखाईरहेका छन्।
 
बिचरा हिजो कलम र किताब छोडी बन्दुक समाएर मुक्तिको लागि भन्दै हिँडेका निर्दोष नेपाल आमाका सन्तानहरू आज बिदेशी भूमीबाट तिनै कथित मुक्तिदाता चटकेहरुको नाङ्गो नाच हेर्दै आफ्नो जीवनलाई धिक्कार्दै बसिरहेका छन्।
 
आफ्नो जीवनको अमूल्य समय नास् गर्दै त्यै परिवर्तन र गरिबीको मुक्तिको आसै आसमा हिजो हाम्रा बाबू बाजेले आफ्नो जीवन खेर फाले। आज हामी पनि यिनले देखाएको त्यै कतिथ परिवर्तनको आसै आसमा आफ्नो जीवनलाई अभाव र गरिबीमा छट्पटाउदै नास् गरिरहेका छौं। यदि यस्तै अबस्था हो भने भोलि हाम्रा सन्तानले पनि यस्तै अन्योलमा आफ्नो  जीवनलाई नाश गर्नुपर्ने दिन आउनेछ।
 
जीवनको पचास दशक क्रान्ति क्रान्ति भन्दै बित्यो,अनि बित्यो साठीको दशक त्यो एक थान संविधान लेख्नकै लागि। सत्तरीको दशक संघीय प्रदेशको सीमाङ्कन नाम र राजधानी छनोटको हुलदङ्गामै बित्नेछ। बाँकी समय प्रदेशका दल सरकार, तिनका कार्यकर्ताहरु पालन पोषण गर्दैमा बित्ने छ। यस्तै यस्तै छ देश मुलुकको कथित परिवर्तन।
 
Published: 14 February 2018/ Setopati