s

अभिमुखीकरण तालिम प्रभावकारी बनाइने

काठमाडौँ, जेठ १२ गते । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्नुपूर्व दिइने अभिमुखीकरण तालिमलाई खारेजी नभई प्रभावकारी गराउने विषय उठेको जनाएको छ ।

बोर्डका सूचना अधिकारी राजन पौडेलले वैदेशिक रोजगारीमा प्रस्थानपूर्व हाल दिइँदै आएको तालिमलाई थप प्रभावकारी गराउने विषयमा छलफल भएको जानकारी दिनुभयो । अभिमुखीकरण तालिममा अनियमितता भएको स्वीकार गर्दै उहाँले भन्नुभयो, “तालिमप्रदायक संस्थाले तालिम नै नदिइकन प्रमाणपत्र दिने व्रmम बढेको छ । त्यसैले तालिम नदिने संस्थाको अनुगमन गरेर तालिम अनिवार्य गराउने र तालिमलाई थप प्रभावकारी गराउन अन्य माध्यमसमेत प्रयोग गर्ने विषयमा छलफल भएको छ ।” बोर्डका निर्देशकसमेत रहनुभएका पौडेलले अभिमुखीकरण तालिम दिँदै आएको तालिमप्रदायक संस्थालाई थप प्रभावकारी गराउने भनिरहेका बेलामा संस्था खारेजीको कुरा बाहिर आएकामा आश्चर्य प्रकट गर्नुभयो ।

वैदेशिक रोजगारमा जानुपूर्व गर्नुपर्ने तयारी, सूचना प्रविधि प्रयोग सम्भावित जोखिम न्यूनीकरण, गन्तव्य देशको सामान्य कानुन, संस्कार, संस्कृति, भाषालगायत विषयमा जानकारी दिने उद्देश्यले यस्तो अभिमुखीकरण प्रदान गरिँदै आएको छ ।

अभिमुखीकरणबाट दुर्घटना बिमा तथा कल्याणकारी कोषसम्बन्धी जानकारी, वैदेशिक रोजगारसँग सम्बद्ध निकायहरूको भूमिका, गन्तव्य मुलुकमा समस्या पर्दा सम्पर्क तथा समन्वय गर्ने निकायलगायत विषयमा जानकारी दिइने गरी पाठ्यक्रममा व्यवस्था छ ।

यस्तो अभिमुखीकरणपछि मात्रै श्रमिकले वैदेशिक रोजगारीमा जाने अनुमति पाउँछन् तर अभिमुखीकरण तालिम सम्बन्धमा नियमन हुन नसक्दा सेवाप्रदायकले कानुनविपरीत प्रमाणपत्र बिक्री वितरण गर्ने गरेको पाइन्छ । बोर्डका अनुसार अभिमुखीकरण तालिमलाई थप प्रभावकारी गराउन तालिमको पाठ्यक्रमलाई मोबाइल एप तथा युट्युबलगायत सामाजिक सञ्जालमार्फत पनि अभिमुखीकरण दिन सकिने विषय उठिरहेको छ । तालिमप्रदायक संस्था खारेज गर्ने भन्ने होइन । तालिमलाई प्रभावकारी गराउन सूचनाका नयाँ माध्यम थप गर्ने भनिएको हो ।

वैदेशिक रोजगारमा जानुअघि दिइने अभिमुखीकरण तालिमको अवधि १२ घण्टाको हुने भएकाले दुई दिन सञ्चालन गर्नुपर्छ । प्रत्येक कक्षामा बढीमा २५ जना प्रशिक्षार्थी राख्न सकिने व्यवस्था छ । त्यस्तै एउटा संस्थाले एक पटकमा बढीमा तीन वटा कक्षामा तालिम सञ्चालन गर्न सक्ने व्यवस्था छ। । यस्तो तालिम देशगत समूह (क्लस्टर) अनुसार सञ्चालन हुँदै आएको छ ।

प्रशिक्षार्थीहरूको तालिम कक्षामा उपस्थिति र प्रस्थान समयको विद्युतीय हाजिरीको दैनिक अभिलेख राखी तालिम अवधि समाप्त भएपछि संयोजकहरूबाट प्रमाणित गराई अनलाइन माध्यमबाट वैदेशिक रोजगार बोर्डको सचिवालय र वैदेशिक रोजगार विभागमा पठाउनुपर्ने व्यवस्था छ । तर, पछिल्लो समय तालिमप्रदायक संस्थाहरूले तालिम नै नदिई प्रमाणपत्र बिक्री गर्ने गरेका घटना बढेका छन् । यसमा नियमन हुन नसक्दा अनियमितता बढेको हो ।

Published on: 26 May 2023 | Gorkhapatra

Link

Back to list

;