s

अस्ट्रेलियामा १ सय २५ प्रतिशतले बढे नेपाली

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियामा नेपालीको जनसंख्या करिब १ लाख ३० हजार पुगेको छ । ५ वर्षअघि ५५ हजार मात्र रहेको नेपालीको जनसंख्या झण्डै १ सय २५ प्रतिशतले बढेको तथ्यांक सार्वजनिक भएको छ ।

अस्ट्रेलिया सरकारले हरेक ५ वर्षमा राष्ट्रिय जनगणना गर्ने गरेको छ । सन् २०१६ को जनगणनामा करिब ५५ हजारको हाराहारीमा रहेका नेपालीको संख्या ५ वर्षको अन्तरमा दोब्बर बढी भएको हो । अस्ट्रेलियन सरकारले मंगलबार सार्वजनिक गरेको जनगणनाको तथ्यांक अनुसार विदेशमा जन्मिएर अस्ट्रेलिया आउने नागरिकको जनसख्ंया वृद्धिमा नेपालीको संख्या दोस्रो स्थानमा परेको छ ।

यस ५ वर्षको अवधिमा मात्र झण्डै ७० हजार नेपाली थपिएका छन् । अस्ट्रेलियाको तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०११ मा जम्मा २७ हजार मात्र जनसंख्या रहेको नेपालीको संख्या ११ वर्षमा १ लाख ३० हजार पुगेको छ ।

अस्ट्रेलियामा अध्ययनका लागि आउने विदेशी विद्यार्थीको संख्यामा नेपाली तेस्रो स्थानमा रहेकाले पनि यो जनसंख्या वृद्धिलाई स्वभाविक रुपमा लिइएको छ । यसका साथै अस्ट्रेलियन सरकारले अनिवार्य नगरेका कारण जनगणनाको फारम नभर्ने कैयौं नेपाली रहेका कारण यो संख्या अझ धेरै हुनसक्ने अनुमान गरिएको छ । सन् २०१० सम्ममा विद्यार्थीका रुपमा रहेका अधिकांश नेपालीले यहाँ स्थायी बासिन्दाको अनुमति लिएर पारिवारिक रुपमा व्यवस्थित बनिसकेका कारणसमेत नेपालीको संख्या ह्वात्तै बढेको अध्यागमन क्षेत्रका जानकारको भनाइ छ । उनीहरूले यो संख्या आगामी वर्षहरूमा अझ बढ्नसक्ने बताएका छन् ।

Published on: 29 June 2022 | Kantipur

 

Link

Back to list

;