s

वैदेशिक रोजगारीमा ठगिएका कामदारलाई एक महिनामै २ करोड १४ लाख फिर्ता

वैदेशिक रोजगारीमा जाँदा म्यानपावरबाट ठगिएका कामदारले पछिल्लो समयमा छिटो र सहजै आफ्नो रकम फिर्ता पाउन थालेका छन् । वैदेशिक रोजगार विभागले भदौ महिनामा मात्रै पीडितहरुलाई २ करोड १४ लाख नगद क्षतिपूर्ति भराएको छ । विभागका अनुसार एकै महिनामा क्षतिपूर्ति भराएको यो अहिलेसम्मकै ठूलो रकम हो । केही महिनायता क्षतिपूर्ति भराउनेसँगै मुद्दा न्यायाधीकरणमा लैजाने काममा पनि तीव्रता आएको छ । विभागले एक महिनाभित्र २ करोड ८५ लाख विगो दाबीसहित ४१ मुद्दा वैदेशिक रोजगार न्यायाधीकरणमा पेश गरेको विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए । कामदारले आफू ठगिएको स्पष्ट आधार लिएर आएपछि विभागले म्यानपावरको कारोबार नै रोकेर अनुसन्धान गर्ने गरेको छ । ठग्ने म्यानपावर र दलालविरुद्ध ‘शून्य सहनशीलता’को नीति लिइएको भुसालले दावी गरे । आफू ठगिएको भए ढुक्कसँग विभागमा उजुरी गर्न पीडितहरुलाई उनको आग्रह छ ।

‘विगतमा के भयो जानकारी छैन, तर अहिले विभागमा उजुरी आएपछि पीडितलाई क्षतिपूर्ति दिलाउन हामी प्रतिवद्ध छौं,’ उनले भने ।

विभागले भदौमा म्यानपावर व्यवसायीहरुबाट १९ लाख ५० हजार जरिवानासमेत असूल गरेको छ । गत साउन महिनामा विभागले ७१ लाख विगो भराएको थियो भने १७ लाख रुपैयाँ जरिवाना तिराएका थियो । गत आर्थिक वर्षमा म्यानपावर विरुद्धका ४२९ मुद्दामा विभागले पीडितलाई ९ करोड ५९ लाख रुपैयाँ क्षतिपूर्ति भराएको थियो । जुन अघिल्लो वर्षको भन्दा दोब्बर हो । ८१ वटा म्यानपावरलाई विभागले ८७ लाख जरिवाना पनि तिराएको थियो । विभागले उजुरी परेका म्यानपावर कम्पनीको कारोबार रोक्का गरी पीडित कामदारलाई बोलाएर छलफल गराउने गरेको छ । छलफलमा हुने आपसी सहमतिका आधारमा लेनदेन गरेर मुद्दा फरफारक गर्ने गरिएको छ । विभागले व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा नाममा भएको ठगीका सबै मुद्दा अदालत लैजान्छ । अघिल्ला वर्षहरुमा सकेसम्म यस्ता मुद्दा आपसी लेनदेनमा विभागमै मिलाउने गरिएको थियो । गत वर्ष विभागमा ५३ करोड ६७ लाख रुपैयाँ व्यक्तिगत रुपमा ठगी भएको दावीसहित उजुरी परेको थियो । विभागले यी मुद्दामा २२ करोड ५६ लाख रुपैयाँ बराबरको रकम विगो दावी गर्दै न्यायाधीकरणमा मुज्ञा लगेको थियो ।

वैदेशिक रोजगार विभागमा उजुरी परेर पनि विगतमा त्यतिकै थन्क्याइएका विभिन्न ठगीका मुद्दाहरु अघि बढाउन वर्तमान नेतृत्व अग्रसर भएको छ। महानिर्देशक भुसाल विगतमा फरफारक हुन नसकेका, नभएका र वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा नलगी त्यसै छाडिएका पीडित कामदारका उजुरीमाथि पुनः अनुसन्धान भइरहेको बताउँछन् । यसबाट पीडितले न्याय पाउने अवस्था बन्ने उनको विश्वास छ । विगतमा मुद्दाहरुलाई प्राथमिकताका साथ हेरेर टुंगोमा पुर्‍याउने योजनामा विभाग छ । विगतको नेतृत्वले विभिन्न पक्षसँग साँठगाँठ गरेरै पनि यस्ता उजुरीमाथि अनुसन्धान नगरी थन्क्याउने गरेका थियो ।

‘अहिले विभागप्रति विश्वास बढेको छ, आएका उजुरीलाई जतिसक्दो छिटो सम्बोधन गर्दै पुराना उजुरीलाई पनि घटाउँदै लैजान्छौं,’ भुसालले भने, ‘ठगी गरेका कसैलाई नछाड्ने र पीडितहरुलाई न्यायको अनुभुति दिलाउन खोजेका छौं ।’

सरकारले मलेसियासहितका खाडी मुलक जाँदा कामदारसँग अधिकतम १० हजार सेवा शुल्क लिन पाउने व्यवस्था गरे पनि कार्यान्वयन हुन सकेको छैन । यसबाहेक कामदारबाट अनाधिकृत असुली गरेर फरार हुने दलाल र म्यानपावर सञ्चालकको संख्या पनि सानो छैन । यस्ता ठगीलाई नियन्त्रण गर्न दायर भएका सबै उजुरीको सम्वोधन गर्ने महानिर्देशक भुसालको भनाइ छ ।

Published on: 18 September 2019 | Onlinekhabar

Back to list

;