s

बौरिन थाल्यो वैदेशिक रोजगारी, दैनिक १७ सयभन्दा बढी विदेशिँदै

 सुजन घिमिरे

७ मंसिर, काठमाडौं । कोरोना महामारीका कारण दुई वर्षयता धेरै नेपालीले विदेशमा काम गुमाए भने वैदेशिक रोजगारीमा जाने अवसर पनि पाएका थिएनन् । तर, कोरोना महामारीको असर घट्दै गएपछि पछिल्लो केही महिनायता वैदेशिक रोजगारी फेरि पुरानै लयतर्फ उन्मुख भएको छ । 

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत जेठयता लगातार उकालो लागिरहेको छ । वैदेशिक रोजगार विभागका अनुसार मुख्य रुपमा खाडी मुलुक कतार, साउदी अरेबिया र यूएईमा जाने नेपालीको संख्या धेरै छ । कुवेत, ओमान लगायतका देशमा पनि नेपालीहरु गइरहेका छन् ।

वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुङ महामारीका कारण आउन छाडेको श्रमिकको माग एक्कासी आउँदा वैदेशिक रोजगार क्षेत्रमै तरङ्ग आएको बताउँछन् । विदेशमा खोप अभियानपछि व्यवसायिक तथा औद्योगिक क्षेत्र चलायमान भएकाले श्रमिकको माग बढेको उनको भनाइ छ । 

‘महामारीका कारण डर त्रासले नै श्रमिकहरु फर्किएका थिए, कतिपय उद्योग व्यवसाय बन्द भएका थिए, ती सबै क्षेत्र अहिले सञ्चालनमा आएका छन्,’ उनले भने, ‘आर्थिक गतिविधि बढेपछि विदेशमा श्रमिकको अभाव भएको छ, यसले यहाँ माग पनि बढ्न पुगेको हो ।’ 

अबको केही महिना श्रमिकको माग बढ्दै जाने गुरुङको आकलन छ । यसले नेपालका बेरोजगार युवा र महामारीले ठप्प रहेको वैदेशिक रोजगार व्यवसायलाई लाभ मिल्ने गुरुङ बताउँछन् । 

वैदेशिक रोजार विभागका अनुसार २०७८ वैशाखमा २४ हजार ३६३ जना नेपाली रोजगारीका लागि विदेश गएका थिए । त्यसमा १२ हजार ५३७ जना नयाँ श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिएकाहरु थिए । 

तर, जेठमा विदेशिने नेपालीको संख्या घटेर ४ हजार ८६ मा सीमित भएको थियो । जेठमा ७८७ ले मात्रै नयाँ श्रम स्वीकृति लिएका थिए । 

असारमा २० हजार ६५८ जना नेपालीले विदेश जान श्रम स्वीकृति लिए । जसमा १० हजार ७ सय जना नयाँ र अरु यसअघि विदेश गएर फर्केकाहरू थिए । 

साउनयता डेढ लाख विदेशिए 

गत साउनदेखि कात्तिकसम्म १ लाख ५६ हजार ५७ जना नेपाली वैधानिक रुपमा वैदेशिक रोजगारीका लागि गएका छन् । 

साउनदेखि कात्तिक महिनासम्म्म वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या ९६ हजार ३३४ पुगेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या ५९ हजार ७२३ पुगेको छ । 

विभागका अनुसार साउनमा २५ हजार ४२८ जना नेपाली कामका लागि विदेश गएका थिए । त्यसमध्ये म्यानपावर कम्पनी र व्यक्तिगत पहलमा आएको नयाँ भिसामा जानेको संख्या १३ हजार ८ सय थियो । 

भदौमा २४ हजार ६९२ जनाले नयाँ श्रम स्वीकृति लिए भने श्रम स्वीकृति नवीकरण गर्नेसहित ३६ हजार ४० जना कामका लागि विदेशिएको विभागको तथ्यांकमा देखिन्छ । 

असोजमा ३९ हजार ६७१ जना नेपाली विदेश उड्दा २७ हजार ८२४ जना नयाँ श्रम स्वीकृति लिनेहरु छन् । 

कात्तिक महिनामा विदेशिने नेपालीको संख्या दैनिक १५ सय भन्दामाथि पुगेको छ । कात्तिक महिनामा ५४ हजार ९१८ जाने विदेश जान श्रम स्वीकृति पाएका छन् । त्यसमध्ये ३० हजार १८ जनाले विदेशमा नयाँ कामको अवसर पाएका हुन् भने अन्य श्रम स्वीकृति नवीकरण गरेर पुरानै कार्यस्थलमा फर्किएका छन् । कात्तिकमा मात्रै दैनिक औसत १ हजार  ८३० जना श्रमिक  विदेशिएको देखिन्छ । 

पछिल्ला दिनमा श्रम स्वीकति नवीकरण गर्ने भन्दा नयाँ अवसर पाएर विदेशिनेको संख्या बढी देखिन थालेको छ । अझै मलेसियामा पनि रोजगारीको ढोका खुले यो संख्या छोटो सयममै दोब्बर हुने वैदेशिक रोजगार विभागका अधिकारीहरु बताउँछन् । 

विभागका निर्देशक कमल ज्ञवाली दैनिक १७ सय जनासम्म विदेश उडिरहेको बताउँछन् । ‘महामारीपछि वैदेशिक रोजगारीमा जान नपाइने जुन खालको अवस्था थियो, अब त्यो हट्दै गएको छ,’ उनले भने, ‘वैदेशिक रोजगारीले पुरानो लय समातिसक्यो, अझै यो बढ्दो दरमा देखिन्छ ।’ 

उनका अनुसार अब श्रम गन्तब्य मुलुकहरुमा महामारीका कारण बन्द रहेका उद्योग, कलकारखाना र परियोजनाहरु फेरि सञ्चालन हुन थालेका छन् । त्यसैकारण विदेशबाट श्रमिकको माग बढ्दै गएको उनको भनाइ छ । 

‘चाडबाड र खोतीपातीका काम सकिएपछि विदेशिने नेपालीको संख्या विगतकै ट्रेन्ड पनि हो,’ उनी भन्छन्, ‘त्यसमाथि महामारीका कारण देशभित्र बेरोजगारी भोगिरहेकाहरुले उचित अवसर पाए भने विदेश त जाने नै भए ।’ 

उनका अनुसार अहिले श्रम गन्तब्य देशको नियमअनुसार स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्ने भएकाले विदेशिने नेपालीलाई विगतको भन्दा सकसको अवस्था छ । 

‘तोकिएको पीसीआर, खोप, क्वारेन्टिन जस्ता व्यवस्था पालना गर्नुपर्ने भएकाले विगतको जस्तो सहज अवस्था छैन,’ निर्देशक ज्ञावाली भन्छन्,’अहिले पनि धेरै श्रमिकहरु म्यानपावरहरुमा धाइरहनुभएको पाएका छौं ।’

ताहचलमा ठेलमठेल

विदेशिने नेपालीको संख्या बढेपछि सरकारलाई भने श्रम स्वीकृति लगायतका सेवा प्रवाहमा कठिनाइ परेको छ । श्रम स्वीकृति दिने ताहचलस्थित वैदेशिक रोजगकार कार्यालयमा भीड बढेपनि सेवा प्रवाहमा कोटा प्रणाली कायम राखिएको छ ।

भीड बढ्दै गएपछि श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले आवश्यक सुधारहरु गर्न निर्देशन दिएको छ । मन्त्रालयले अनलाइन तथा अफलाइन टोकन संख्या बढाउन, सहायता कक्ष स्थापना गर्न, प्रक्रियागत झन्झटहरु बटाएर सहजीकरण गर्न र दुई सिफ्टमा सेवा प्रवाहको व्यवस्था मिलाउन भनेको थियो ।

मन्त्रालयको निर्देशनअनुसार ताहाचलबाट दुई सिफ्टमा श्रम स्वीकृति दिन दिन थालिएको  विभागले जनाएको छ । ताहचलमा हिजोआज राति ८ बजेसम्म सेवा दिनुपर्ने अवस्था आएको विभागको भनाइ छ ।

Published on: 24 November 2021 | Onlinekhabar

Link

Back to list

;