s

भारतबाट घर फर्कनेको लर्को

दिलबहादुर छत्याल 

भारतमा कोरोनाको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि महाराष्ट्रलगायत विभिन्न राज्यमा मजदुरीका लागि गएका नेपालीहरू घर फर्कने क्रम बढेको छ। सुदूरपश्चिमका मुख्य दुई नाका गौरीफन्टा र कंचनपुरको गड्डाचौकी नाकाबाट दिनहुँ १ हजारभन्दा बढी नेपाल भित्रिइरहेका छन्। नेपाल भित्रिरहेकामध्ये कतिपयमा जाँच गर्दा कोरोनाको संक्रमण देखा परेको छ। दोस्रो लहरमा तीव्र रूपमा कोरोना संक्रमण फैलिइरहेका सहरशाट नेपाल भित्रिइरहेकाबाट सुदूरपश्चिममा समुदायमा संक्रमण फैलिने जोखिम उच्च बढेको छ। 

गत वर्ष भारतमा कोराना संक्रमण देखा पर्न थालेपछि त्रासले नेपालीहरू घर फर्कने लहर चलेको थियो। नेपालमा पनि कोरोनाको संक्रमण देखा परेपछि गत वर्ष चैत ११ गतेदेखि सरकारले लकडाउन गर्दै अन्तर्राष्ट्रिय सीमानाका बन्द गरेको थियो। भारतका विभिन्न सहरबाट घर फर्कन आएका नेपाली सीमानजिकका भारतीय बजारका क्वारेन्टिनमा करिब २ महिना बढीसम्म बसेका थिए। त्यसबेला भारतमा रहेका नेपालीलाई प्रवेश गर्न दिइएपछि नेपाल भित्रिनेको घुइँचो लाग्यो। मरे पनि आफ्नै भूमिमा मर्ने भनेर घर फर्केकाहरू स्वदेशमा रोजगार नपाउँदा र परिवारमा बालबच्चाको पेट पाल्नै समस्या भएपछि भदौदेखि पुनः भारततिरै लागेका थिए। अहिले भारतमा नयाँ प्रकारको कोरानाको भाइरसको संक्रमण देखा परेको र तीव्र रूपमा संक्रमण फैलिएपछि पुनः नेपाल फर्कन थालेका छन्। 

सोमबार सुदूरपश्चिममा गौरिफन्टा र गड्डाचौकी नाकावाट १३ सय ३४ जना भारताबाट भित्रिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले बताएका छन्। पछिल्लो एक सातामा ७ हजार ५६ जना भारतवाट यि नाका हुदै सुदूरपश्चिम भित्रिएको उनले बताए। ‘भारतवाट सुदूरपश्चिम भित्रिनेको संख्या केही दिनयता बढ्दै गएको छ,’ उनले भने। सुदूरपश्चिममा नयाँ वर्षको अवसरमा मनाइने बिसु पर्वका लागि र भारतमा कोरानाको संक्रमण तीव्र रूपमा फैलिएको कारण समेत घर फर्कने बढेको उनी बताउँछन्। 

तर स्वास्थ्य कार्यालय कैलालीले मंगलबारबाट आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको छ। भारतबाट आएका लक्षण देखिएका संक्रमितलाई उक्त आइसोलेसनमा राखिएको समाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए। धनगढी उप–महानगरपालिका–१५ कनरीमा रहेको जडीबुटी प्रशोधन केन्द्रमा बनाइएको आइसोलेसन सेन्टरमा करिव ५० जना संक्रमित उक्त आइसोलेसनमा राखिएको उनले बताए। भारतबाट आएका ३ जना नेपालीमा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पनि देखा परेको उनले बताए। 

सुरतबाट आएका २ जना र पंजावबाट आएको १ जना नयाँ कोरोना भाइरसको संक्रमण देखा परेको उनले बताए। २० जनाको नमुना जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा जाँच गर्न पठाएकोमा ३ जनामा देखिएको उनले बताए। नयाँ प्रकारको कोरोना भाइरस जाँच गर्ने प्रयोगशाला सुदूरपश्चिममा नभएकाले काठमाडौं पठाइएको उनले बताए।  

कञ्चनपुरको गड्डाचौकी नाकाबाट आउनेहरूलाई भने महाकाली अस्पतालको आइसोलेशनमा राख्ने निर्णय गरिएका स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए। संक्रमण पुष्टि भएका तर सुरक्षित तरिकाले आफ्नो घर जान नसक्ने व्यक्तिलाई १० दिनसम्म आइसोलेसन सेन्टरमा राख्ने गरिएको छ। भने होम आइसोलेसनमा बस्न चाहनेलाई सीमाबाट छुट्टै गाडीमा घर पठाइने गरिएको उनले बताए। 

भारतबाट फर्कनेमा संक्रमण देखिँदै 

भारतबाट घर फर्किरहेका नेपालीहरूमा ऐन्टिजेन परीक्षण गर्दा संक्रमित देखा पर्न थालेका छन्। आइतबार एकै दिन भारतका विभिन्न सहरबाट गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका ३६ जनामा कोरोना संक्रमित देखा परेको छ। ८ सय ४५ जनाको ‘ऐन्टिजेन’ विधिबाट कोरोना परीक्षण गर्दा ३६ जनामा संक्रमण देखिएको हो। ‘ऐन्टिजेन’ बिधीवाट जाँच गर्दा पछिल्लो डेढ सातामा भारतबाट घर फर्कने मध्य १ सय ३५ जनामा कोरानाको संक्रमण देखा परेको कार्कीले बताएका छन। भारतमा सवैभन्दा बढी कोरोनाको संक्रमण देखा परेको महाराष्ट्रवाट नै सुदूरपश्चिमका नाका हुदै भित्रिने बढिरहेका छन्। 

‘हामी ५ जना मुम्बईवाट आएका हौं, कोराना तीव्र रूपमा फैलिएकाले घर फर्केका हौं,’ डोटीको राम बहादुर लुहारले भने। भारतमा कोरोनाको संक्रमण सुरु भएसँगै त्रासले फागुनको अन्तिम सातादेखि नेपालीहरू घर फर्कन थाले। फागनुको अन्तिम साता देखि सरकारले अन्तर्राष्ट्रिय सीमा बन्द गरेर प्रवेश निषेध गरेको चैत ११ गते सम्म भारतका विभिन्न ठाउँवाट मजदुरी गरि घर फर्कने लाम देखिन्थ्यो। पछि नाका प्रवेश खुला गरेपछि जेठ र असार महिनामा पनि घर फर्कनेको लर्को नै थियो।  

आयस्रोत नभएको र आफुुसँग भएको जमिनको कमाइले ३,४ महिना पनि खान नपुग्ने भएकाले सुदूरपश्चिमका करिब ७ लाख बढी भारतमा मजदुरी गर्न जाने गरेका छन्। गत वर्षको फागुन महिनायता ३ लाख बढी नेपालीहरू घर फर्केका थिए। भदौ यता करिव डेढ लाख बढी भारत पुनः मजदुरी गर्न गएका थिए।

Published on: 6 April 2021 | Nagarik

Link

Back to list

;