s

विदेशबाट १४ वर्षमा ९ हजार २३७ श्रमिक बाकसमा फर्किए

मुना कुँवर

 

दैलेखका ३३ वर्षीय लोकबहादुर शाही रोजगारीका लागि मलेसिया गएको तीन वर्ष भयो । मलेसियामा उनी सुरक्षा गार्डको काम गर्थे । एउटी छोरी र छोरालाई श्रीमती पुष्पा शाहीको जिम्मा लगाएर पैसा कमाउन उनी मलेसिया गएका थिए । गत असार ६ गते बिहान उनले श्रीमती पुष्पाको मेसेन्जरमा कल गरेका थिए । तर, ७ असारमा पुष्पाले कल गर्दा साथीले उठाएर लोकबहादुरको मृत्यु भएको खबर सुनाए । पुष्पा छाँगाबाट खसिन् । श्रीमान्को मृत्यु भएको करिब एक महिना भए पनि लकडाउनका कारण शनिबार मात्रै श्रीमान्को शव आइपुग्यो । शनिबार छोराछोरीलाई समेत लिएर शब बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी श्रीमती पुष्पा आफैँ सम्हालिन सकिनन्, छोराछोरीलाई कसरी सम्झाउलिन् !

लोकबहादुरजस्तै मुलुकमा रोजगारीको अवसर नपाएर धन कमाउन विदेश गएकामध्ये बर्सेनि ७ सय हाराहारीमा युवा बाकसमा फर्कने गरेका छन् । विगत १४ वर्षको अवधिमा ९ हजार २ सय ३७ नेपाली श्रमिकहरूको विदेशी भूमिमा निधन भएको वैदेशिक रोजगार बोर्डको तथ्यांक छ । गत आर्थिक वर्ष ०७७/७८ मा १ हजार ७३ नेपाली युवाको बिरानो भूमिमा मृत्यु भएको बोर्डले जनाएको छ । त्यसअघि ०७६/७७ मा ६ सय ७१ र ०७५/७६ मा ७ सय ६३ को विदेशमा मृत्यु भएको थियो ।  

तथ्यांकअनुसार मलेसियामा सबैभन्दा धेरै ३ हजार ९८ नेपाली श्रमिकको निधन भएको छ । साउदी अरबमा २ हजार ५ सय १३, कतारमा १ हजार ७ सय ९०, युएईमा ९ सय १, कुवेतमा ३ सय २४, बहराइनमा १ सय ३१, कोरियामा १ सय ४२, ओमानमा ६६ श्रमिकको मृत्यु भएको छ ।

शनिबार मलेसियाबाट २४ वटा शव र तीनवटा अस्तु ल्याइयो

शनिबार नेपाल एयरलाइन्सको वाइडबडीले मलेसियाबाट २४ वटा नेपाली श्रमिकको शव र तीनवटा अस्तु ल्याएको छ । मलेसियास्थित नेपाली दूतावास, नेपाल एयरलाइन्स र वैदेशिक रोजगार बोर्डको समन्वयमा शव ल्याइएको हो । शनिबार नै बोर्डले सबै शव परिवारलाई बुझाइसकेको छ । बोर्डले नै मृतकको घरसम्म शव पुर्‍याउने व्यवस्था गरेको छ । त्यसैगरी, शनिबार नै जजिरा एयरवेजले साउदी अरबमा अलपत्र परेका ७४ जना नेपाली श्रमिकलाई काठमाडौं ल्याइपुर्‍याएको छ । 

शनिबार काठमाडौं ल्याइएका शवमध्ये सल्यानका बुद्धिराम कामी, बर्दियाका मनीराम चौधरी, बैतडीका कर्णबहादुर भण्डारी, जाजरकोटका सन्दीप विक, बाग्लुङका सुनील विसी, तनहुँका झपटबहादुर थापा, पाँचथरका दलविक्रम लावती, ललितपुरका जितबहादुर मोक्तान, खोटाङका कृष्णकुमार राई, सुनसरीका होमबहादुर गुरुङ, बाराका राम कानु, सिन्धुपाल्चोकका अम्बरबहादुर माझी, दैलेखका लोकबहादुर शाही, सिराहाका रूपेश पुलामी मगर, कपिलवस्तुका श्यामु थारू, ओखलढुंगाका सोमरबहादुर तामाङ, झापाका शम्भु विक, मोरङकी कमलादेवी भण्डारी, पाल्पाका प्रेमबहादुर सुनारी, ओखलढुंगाकी कुमारी तामाङ, झापाका युवराज बोहरा, सर्लाहीका कनानराय दनुवार रहेका छन् । त्यस्तै, मलेसियाबाट नवलपरासीका मोहनप्रसाद चौधरी, डडेल्धुराका मीनबहादुर विष्ट, सिराहाका रोशनकुमार यादवको अस्तु काठमाडाैँ ल्याइएको छ । 

सुनसरीका होमबहादुर गुरुङ रोजगारीका लागि मलेसिया गएको २२ महिना मात्रै भयो । ३८ वर्षीय गुरुङ सुरक्षा गार्डको भिसामा मलेसिया दोस्रोपटक गएका हुन् । पहिलोपटक मलेसिया नै गएर तीन वर्ष काम गरी फर्केका होमबहादुर दोस्रोपटक गएर भने नफर्किएको उनका भाइ किरण गुरुङले बताए । गत ३० जेठमा उनको मृत्यु भएको थियो । उनका साथीहरूले फेसबुकमा होमबहादुरको मृत्यु भएको स्टाटस राखेपछि मात्रै परिवारले थाहा पाएको भाइ किरणले बताए । अघिल्लो रात सकुशल सुतेका होमबहादुर भोलिपल्ट बिहान भने उठेनन् । हृदयाघातका कारण उनको मृत्यु भएको भाइ किरणले बताए ।

जाजरकोटका प्रमोद विक पनि रोजगारीका लागि मलेसिया गएको करिब दुई वर्ष भयो । ३२ वर्षीय उनी सुरक्षा गार्डको भिसामा नै मलेसिया पुगेका थिए । प्रमोदका श्रीमती, बुबा र आमा छन् । बेलुका साथीहरूसँग खाना खाएर सुतेका प्रमोद बिहान भने उठेनन् । उनको शव लिनसमेत उनका परिवार काठमाडौं आउन सकेनन् । काठमाडौंमा नै बस्ने उनका आफन्तले शनिबार शव बुझेर जाजरकोट पठाए । 

कैलालीका ३४ वर्षीय कर्णबहादुर भण्डारी लेबर भिसामा मलेसिया पुगेको ३ वर्ष भयो । भण्डारी यसअघि पनि सोही कम्पनीमा ३ वर्ष काम गरी पुनः सोही कम्पनीमा रोजगारीका लागि गएका थिए । भण्डारीको दोस्रोपटकको भिसा अवधि पनि सकिएपछि उनी नेपाल फर्कने तयारीमा थिए । तर, भण्डारीको पनि हृदयाघातका कारण मृत्यु भएको छोरा रामबहादुरले बताए । उनका अनुसार खाना खाएर सुतेका कर्णबहादुर सुतेको सुत्यै भए । शव बुझ्न शनिबार काठमाडौंमा आएका उनका आफन्तले शवलाई शनिबार नै कैलाली लाने भएका छन् ।

नियमित उडान नहुँदा ५६ वटा शव रोकिए

सरकारले नियमित उडान गर्न नसक्दा ५६ वटा शव विदेशमा रोकिएका छन् । सम्बन्धित मुलुकमा राजदूत र श्रम काउन्सिलरले नियमित उडान नहुँदा र इदका कारण शव रोकिएको बताएका छन् । मलेसियाका लागि नेपाली श्रम काउन्सिलर दीपक ढकालका अनुसार मलेसियामा २२ वटा शव बाँकी रहेका छन् । शनिबार २४ वटा शव र ३ वटा अस्तु काठमाडौं ल्याइएको छ । 

बाँकी रहेका २२ वटामध्ये ६ वटा कोरोना संक्रमणका कारण मृत्यु भएका कारण मलेसियामा नै दाहसंस्कार गरिने उनले बताए । त्यस्तै, साउदीका लागि नेपाली श्रम काउन्सिलर जीवन राईका अनुसार २५ वटा शव अड्किएका छन् । त्यस्तै, कतारका लागि नेपालका राजदूत नारदनाथ भारद्वाजका अनुसार कतारमा ४ वटा शव रहेका छन् ।

इदका कारण सो शव पठाउन नसकिएको उनले बताए । कुवेतका लागि नेपाली राजदूत दुर्गा भण्डारीका अनुसार कुवेतमा पनि ४ वटा शव रोकिएका छन् । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीका अनुसार ओमानमा एउटा शव रहेको छ । कोरोना संक्रमणका कारण सो शवको दाहसंस्कार गर्न नपाइएको उनले बताइन् । त्यस्तै, युएईमा कुनै शव नरहेको युएईका लागि नेपाली श्रम काउन्सिलर निर्मला थापाले बताइन् । बहराइनमा पनि एउटा शव बाँकी रहेको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बताए ।

Published on: 25 July 2021 | Nayapatrika

Link

Back to list

;