s

विदेशमा रहेका नेपालीले दूतावासबाटै घटना दर्ता गर्न पाउने

जन्म, मृत्यु, विवाहजस्ता घटना दर्ता विदेशमा रहेका नेपालीले त्यही रहेका नेपाली दूतावासमार्फत गराउन पाउने भएका छन् । पञ्जीकरणसम्बन्धी नयाँ नियमावलीले यस्तो सुविधा दिएको हो । ११ फागुनमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली २०७७ स्वीकृत गरेसँगै सो नियमावलीअनुसार अब नेपाली दूतावासबाटै घटना दर्ताको प्रमाणपत्र विदेशमा रहेका नेपालीले पाउने भएका हुन् । 

नियमावलीअनुसार नेपाली नियोगमै कार्यरत एक कर्मचारीलाई पञ्जीकरण अधिकारी तोकिने र उनले नै घटना दर्तासम्बन्धी प्रमाणपत्र प्रमाणीकर गर्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक जितेन्द्र बस्नेतले बताए । ‘घटना दर्ता अनलाइनबाटै गर्न सकिन्छ’ उनले भने, ‘त्यसको प्रमाणीकरण अब विदेशस्थित नेपाली दूतावासबाट पनि गरिन्छ ।’ 

व्यक्तिगत घटना दर्तासम्बन्धी नियमावली २०३४ खारेज गरी सरकारले नयाँ नियमावली ल्याएको हो । गत वर्ष संसद्बाट पारित भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐनअनुसार नयाँ नियमावली जारी भएको हो । जसअनुसार सबै नेपाली दूतावासमा पञ्जीकरण अधिकारी छिट्ट्रै तोकिने महानिर्देशक बस्नेतले बताए । व्यक्तिगत घटना दर्तामा जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद र बसाइँ–सराइ पर्दछन् । यो सुविधाले विदेशमा रहेका नेपालीलाई यससम्बन्धी कामका लागि स्वदेश नै आउनुपर्ने बाध्यता हटेको छ । 

२० लाखको विवरण संकलन

नियमावली स्वीकृत भएसँगै राष्ट्रिय परिचयपत्र वितरणले पनि बल्ल कानुनी रूपमा वैधता पाएको छ । सरकारले यससम्बन्धी कानुन नआउँदै राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको थियो । ३ मंसिर ०७५ मा परिचयपत्र वितरण सुरु भएकोमा ०७६ सालमा मात्र ऐन र हालै नियमावली पारित भएको छ । यो अवधिमा एक लाख १७ हजारले परिचयपत्र लिइसकेका छन् ।

Published on: 2 March 2021 | Naypatrika

Link

Back to list

;