s

बिकेन वैदेशिक रोजगार बचतपत्र

तुलसी सुवेदी

काठमाडौं : वैदेशिक रोजगार बचतपत्र डेढ दशकदेखि जारी हुँदै आए पनि ९५ प्रतिशत बिक्री नहुने पाइएको छ। नेपाल राष्ट्र बैंकले हालसम्म १३ अर्ब ५८ करोड ७९ लाख रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र जारी गरिसकेको छ। तर, ६७ करोड ९२ लाख रुपैयाँको मात्रै बिक्री भएको छ।

रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा लगाउने उद्देश्यले सरकारले २०६६/०७७ देखि बचतपत्र बिक्री सुरु गरेको थियो। २०७७/०७८ मा ५० करोड रुपैयाँ जारी भएकोमा ३ करोड ९९ लाख रुपैयाँको बिक्री भएको थियो। यो ७.९८ प्रतिशत हो। बचतपत्र पाँच वर्षपछि मात्रै परिपक्क हुन्छ। बचतपत्रबाट पाउने ब्याज बचतपत्र खरिदकर्ता आफैं वा इच्छाइएको व्यक्तिमार्फत भुक्तानी लिन सक्छन्। खरिदकर्ताले ६/६ महिनामा ब्याज पाउँछन्। बचतको ब्याजमात्र दिने भन्दा पनि पुँजी बढ्नेगरी लाभ दिन सके आकर्षण बढ्ने अर्थविद् ज्ञानेन्द्र अधिकारी बताउँछन्। ब्याजदर बढाउनुमात्र नभई आकर्षक बोनस दिन सक्ने नीति ल्याउन आवश्यक भएको उनको भनाइ छ। हुन्डीबाट बढी आम्दानी हुने भएकाले रेमिट्यान्सको ठूलो हिस्सा अनौपचारिक माध्यमबाट आइरहेको छ। पछिल्लो समयमा त कतिपय युवाहरू क्रिप्टोकरेन्सी र हाइपर फन्डजस्ता नेटवर्किङ व्यवसायमा सक्रिय हुँदा रेमिट्यान्स घट्दो क्रममा छ। चालू आर्थिक वर्षको सुरुदेखि लगातार रेमिट्यान्स घटिरहेको छ। अर्थविद् अधिकारी औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउन प्रोत्साहन तथा बाध्यकारी व्यवस्था गर्न सके आकर्षण बढ्ने बताउँछन्।

राष्ट्र बैंकले छोटो समयका लागि जारी गर्ने हुँदा वैदेशिक रोजगारीमा रहेका अधिकांशले यसको जानकारी पाउँदैनन्। विदेशमा रहेकाले जतिबेला पनि किन्ने व्यवस्था हुनुपर्ने श्रमविज्ञ डा. गणेश गुरुङले बताए। खाडी तथा मलेसियामा रहेका नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघ, रेमिट्यान्स कम्पनीसँग सहकार्य गर्न सकेमात्रै बचतपत्र बिक्रीमा समस्या नहुने उनको भनाइ छ। अधिकांश युवा न्यूनतम पारिश्रमिकमै वैदेशिक रोजगारीमा गइरहेका छन्। जसले गर्दा चाहेर पनि धेरैले बचत गर्न सकेका छैनन्। गुरुङका अनुसार ब्याज बढी हुँदा गाँस कटाएर भए पनि बचत गर्न सक्ने सम्भावना रहन्छ। तर, विदेश जानुअघि यसबारे पूर्ण जानकारी दिनुपर्ने उनको भनाइ छ। राष्ट्रको तथ्यांकअनुसार मुलुक भित्रिएको रेमिट्यान्समध्ये अधिकांश रकम उपयोगमै सकिने गरेको छ। घरजग्गा जोड्ने प्रचलन बढ्दै गएको छ। दैनिक खर्च, पढाइ, घडेरी र खेतमै उपयोग हुने गरेको छ। त्यसकारण पनि लगानी प्राथमिकतामा नपरेको श्रमविज्ञ गुरुङ बताउँछन्। राष्ट्र बैंकले यस वर्षदेखि साढे २ प्रतिशतले ब्याज बढाएको छ। जेठ १८ गतेदेखि बिक्री खुला हुने वैदेशिक रोजगार बचतपत्रमा अब श्रमिकले साढे १२ प्रतिशत ब्याज पाउनेछन्।

वैदेशिक रोजगार बचतपत्रमा यसअघि १० प्रतिशतमात्रै ब्याज पाइन्थ्यो। ब्याजदर बढाएकाले विगतका तुलनामा बिक्री बढ्ने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगानाले बताइन्। हालै राष्ट्र बैंकले बचतपत्रमा आकर्षण थप्नका लागि ब्याज बढाउन अर्थ मन्त्रालयसँग प्रस्ताव गरेको थियो।

Published on: 7 May 2022 | Annapurna Post

Link

Back to list

;