s

'केयरगिभर'मा इजरायल जान किन उत्साहित छन् पुरुषहरू?

कालीगण्डकी गाउँपालिका गुल्मीका केशवराज पौडेल इजरायल रोजगारी कहिले खुल्ला र जान पाइएला भन्ने आशले दिन गनेर बसिरहेका छन्। इजरायल जानै भनेर उनले काठमाडौंस्थित एक तालिम केन्द्रबाट 'केयरगिभर' सम्बन्धी तालिम पनि लिइसके।

इजरायल रोजगारीबारे थप बुझ्न केशवराज वैदेशिक रोजगार विभाग, बुद्धनगर पुगेका थिए। देशमा काम खोज्दै धेरै भौंतारिए पनि भनेजस्तो नभएपछि इजरायल जाने सोच बनाएको उनले सेतोपाटीलाई बताए। 

'देशमै काम गर्ने नसोचेको होइन। गाउँमै कृषि फर्म खोलेँ। तर घाटामा गयो, डुब्यो,' उनले भने, 'त्यसपछि इजरायल खुल्ने रे भन्ने सुनियो। कमाइ पनि राम्रो हुने रहेछ। त्यसपछि यता लागियो।' 

केशवराज यसअघि सन् २००७ मा रोजगारीका लागि कतार पुगेका थिए। त्यहाँ केही वर्ष काम गरेर फर्किएका उनी पछि दक्षिण कोरिया पुगे। कोरियामा पाँच वर्ष पसिना बगाए। त्यहाँ कामको करार अवधि सकिएर फर्किएका उनले अब देशमै पसिना बगाउने सोचेका थिए।

'देशमा सोचेजस्तो भएन,' उनी भन्छन्, 'इजरायलमा मासिक डेढ लाखसम्म कमाइ हुन्छ रे भन्छन्। जान पाइयो भने त राम्रो हुन्छ।' 

गुल्मीकै नवराज ढकाल पनि केयरगिभर कामका लागि इजरायल जान निकै उत्साहित छन्। 

पहिले रोजगारीका लागि जापान पुगेर फर्किएका उनी दुई वर्ष नेपालमै भौंतारिए। भनेजस्तो केही काम पाएनन्। त्यसपछि इजरायल रोजगारी खुल्दैछ भन्ने सुनेका उनले इजरायल जाने सोच बनाए। 

'देशमा काम पाउन मुस्किल। पाइहाले पनि यहाँको कमाइले आफ्नै ज्यान पाल्न गाह्रो पर्छ, परिवार कसरी चलाउनु,' वैदेशिक रोजगार विभागमा भेटिएका नवराजले गुनासो गरे।

इजरायल रोजगारीबारे बुझ्न वैदेशिक रोजगार विभाग पुगेका कालीगण्डकी गाउँपालिका गुल्मीका केशवराज पौडेल (दायाँ) र  सहित साथीहरू।

नवराजसँग केयरगिभर सम्बन्धी ज्ञान भएकाले पनि आफू यही कामका लागि इजरायल जान उत्साहित भएको बताउँछन्। वैदेशिक रोजगारीमा जाने सोच बनाइरहेका उनले अन्य मुलुकको तुलनामा सरकारी संयन्त्र (जि-टु-जी) मार्फत इजरायल जान सहज हुने सुनेपछि त्यसैको तयारी गरेका हुन्।

'के-के काम गर्नुपर्ने थाहा छैन, कमाइ राम्रो हुन्छ रे। जान पाइयो भने त भविष्य बन्छ भनेर बुझ्न आएको,' इजरायल रोजगारीबारे बुझ्न विभाग पुगेका ओखलढुंगाका दयाराम गौतम पनि इजरायल जाने सपना बुन्दैछन्।

दयारामले केही समय अघिदेखि इजरायल रोजगारी खुल्न लागेको छ भन्ने सुनेका थिए। इजरायल जान प्लस टु उत्तीर्ण गरेको हुनुपर्ने साथीहरूले उनलाई सुनाएका थिए। उनी पनि प्लस टु उत्तीर्ण गरेर कामको खोजीमा थिए। इजरायल जान पाइहालिन्छ कि भन्ने मनसाय बोकेर विभाग पुगेका उनले बुझ्दा सुनेजस्तो सजिलो भने पाएनन्।

'प्लस टु पास गरेर मात्रै त नहुने रहेछ। केयरगिभरको तालिम पनि लिनुपर्ने रहेछ,' उनी भन्छन्, 'तालिम लिइराख्नुपर्‍यो। पहिलो लटमा परिएन भने दोस्रो लटमा जान पाइएला नि।'

केशवराज, नवराज र दयाराम विदेशमा घरायसी काम गर्न जान इच्छुक पुरुषका प्रतिनिधि मात्र हुन्। घरेलु कामदारका रूपमा विदेश जाने पुरुष संख्या निकै कम छ। इजरायलले पनि केयरगिभर काममा पुरुषलाई भन्दा महिला श्रमिकलाई प्राथमिकता दिने उल्लेख गरिएको छ। तर यसपालि नेपालबाट इजरायलमा पहिलो चरणमा केयरगिभरमा श्रमिक लैजाने गरी सम्झौता भएसँगै विभिन्न जिज्ञासा बोकेर वैदेशिक रोजगार विभागमा युवाको लर्को लाग्ने गरेको छ। त्यसमा पुरुष संख्या अत्यधिक छ। 

इजरायलमा कमाइ राम्रो हुने भएकाले पुरुषहरू उत्साहित रहेको विभागको भनाइ छ। कतिपय त कमाइ राम्रो हुने सुनेपछि केयरगिभरमा के काम गर्नुपर्छ भन्ने नबुझी उत्साहित देखिएको वैदेशिक रोजगार विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले बताए।

'कमाइ राम्रो हुने सुनेपछि त काम के हो भनेर नबुझी हामफाल्न खोज्ने पनि छन्। यहाँ बुझ्न आउने धेरैलाई केयरगिभरमा के–काम गर्नुपर्छ भन्ने जानकारी नै छैन,' उनले भने। 

इजरायल आम्दानी, सामाजिक सुरक्षा तथा रोजगारीजन्य श्रमिक स्वास्थ्यका दृष्टिले राम्रो मुलुक मानिन्छ। तर यो कामका लागि श्रमिक पोख्त हुनुपर्छ।

विभागका अनुसार इजरायल जान २५ वर्ष उमेर पूरा भएको र ४५ वर्ष ननाघेको हुनुपर्छ। उचाइ कम्तीमा १.५ मिटर र तौल कम्तीमा ४५ केजी हुनुपर्छ। त्यस्तै सिटिइभिटीबाट मान्यताप्राप्त प्रशिक्षण केन्द्रबाट कम्तीमा तीन महिनाको केयरगिभर तालिम लिएको हुनुपर्छ। नर्सिङ तालिम वा अन्य सामुदायिक औषधोपचार सहायक तालिम वा सुडेनी सम्बन्धी तालिम लिएकाहरू पनि केयरगिभरका लागि जान सक्छन्।

त्यस्तै अंग्रेजी भाषा जानेको र शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुपर्छ। दीर्घ रोग नलागेको तथा लागुपदार्थ सेवन नगर्ने हुनुपर्ने विभागले जनाएको छ। पहिले इजरायलमा काम गरेकाहरू जि-टु-जी प्रणालीमार्फत जान पाउने छैनन्। छोराछोरी, पतिपत्नी इजरायलमा काम गरिरहेकाहरू पनि जान पाउँदैनन्। त्यस्तै इजरायलमा गैह्रकानुनी बसोबास गरी फर्किएका पनि रोजगारीमा सहभागी हुन पाउने छैनन्।

इजरायल रोजगारीमा जाँदा आतेजाते हवाई टिकट, बीमा लगायत शुल्क श्रमिक आफैंले बेहोर्नुपर्नेछ। कामदारले तिर्नुपर्ने शुल्क के-कति भनेर कार्यविधिमै प्रस्ट्याइने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

मलेसिया तथा खाडी मुलुकमा नेपाली श्रमिक पठाउँदा फ्रि भिसा, फ्रि टिकट व्यवस्था छ। तर इजरायल रोजगारीमा यस्तो अभ्यास नरहेकाले तत्काल सो व्यवस्था लागू गर्न नसकिने सरकारी अधिकारीहरूको भनाइ छ।

हाल इजरायलस्थित विभिन्न क्षेत्रमा करिब तीन हजार नेपाली कार्यरत छन्। उनीहरू केयरगिभर, होटल, उद्योग, कृषि लगायत क्षेत्रमा आबद्ध छन्। नेपालसँगको श्रम सम्झौतापछि इजरायलले पहिलो चरणमा केयरगिभरमा कामदार लैजाने भए पनि विस्तारै कृषि, उद्योग लगायत अन्य क्षेत्रमा समेत नेपाली श्रमिक लैजाने इच्छा देखाएको छ। इजरायल र नेपालबीच गत असोज १४ गते श्रम सम्झौता भएको थियो।

Published on: 7 April 2021 | Setopati

Link

Back to list

;