s

चार्टर्ड उडानमार्फत ६३ हजार नेपाली स्वदेश फर्किए

शरद अधिकारी र मञ्जु गाैतम

हालसम्म वैदेशिक रोजगारीमा अलपत्र परेका ६३ हजार ३ सय ४७ नेपाली स्वदेश फर्किएका छन्। विदेशमा अलपत्रमध्ये हालसम्म ६३ हजार ३ सय ४७ नेपाली नागरिक स्वदेश फर्किएको गैरआवासीय नेपाली संघले जनाएको छ। सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने नीति तय गरेपछि सिसिएमसीको अगुवाइमा चार्टर्ड उडानमार्फत उद्धार जारी रहेको छ। गैरआवासीय नेपाली संघ, नेपाली दूतावास र कूटनीतिक नियोगलगायतसँगको सहकार्यमा उनीहरूको उद्धार गरिएको हो। यो साता भारतसहित ३० वटा मुलुकबाट उद्धार उडान भएको थियो।

सरकारले विदेशमा अति समस्यामा परेका कामदारलाई सरकारी कोषबाट फिर्ता ल्याउने निर्देशिका समेत तयारी गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार २ हजार ५ जनाले निःशुल्क फिर्ताको निवेदन दिएका छन्। सरकारले दैनिक ४÷५ सयलाई मात्रै स्वदेश फर्काइरहेको छ। सुरुमा १ हजार ५ सयजनालाई स्वदेश फर्काउँदै आएको थियो। दैनिक ५ सय जनालाई मात्रै ल्याउने सरकारी नीतिले नेपाल फर्कन चाहेका कामदार आउन पाएका छैनन्।

विदेशमा अलपत्र र समस्यामा परेका नेपाली कामदारलगायत अन्य विविध प्रयोजनले विदेश गएका तर उतै रोकिएका नेपालीको उद्धारमा थप ढिलाइ हुने गैरआवासीय नेपाली संघको ‘कोभिड १९’ उच्चस्तरीय समितिको प्रेस संयोजक चिरन शर्माले जानकारी दिएका छन्।

सुरुमा १ हजार ५ सयजनालाई स्वदेश फर्काउँदै आएको थियो। दैनिक ५ सय जनालाई मात्रै ल्याउने सरकारी नीतिले नेपाल फर्कन चाहेका कामदार आउन पाएका छैनन्।

भारतसहित ३० मुलुकबाट उद्धार उडान भएको थियो। सबैभन्दा बढी नेपाली फर्किएको देश यूएई हो। युएईबाट १७ हजार ९ सय ६३ नेपाली स्वदेश फर्किएका छन्। कुवेतबाट ७ हजार ६० जना, साउदी अरेवियाबाट ९ हजार ४ सय ६४, मलेसियाबाट ९ हजार ७ सय ४१, कतारबाट ८ हजार २ सय ४७ जना नेपाली स्वदेश फर्किएका छन्।

नेपाल फर्किएकामध्ये प्रदेश १ का १३ हजार ३ सय ६५, प्रदेश २ मा १० हजार ८ सयजना, बागमती प्रदेशका १७ हजार २ सय १५, गण्डकी प्रदेशका ८ हजार २ सय ६५, प्रदेश ५ का १० हजार ६ सय ५९, कर्णाली प्रदेशका १ हजार ४ सय २६ र सुदूरपश्चिम प्रदेशका १ हजार ६ सय १७ जना गरी ६३ हजार ३ सय ४७ जना फर्किएका छन्।

विदेशबाट घर फर्किएका नेपालीलाई विमानस्थलमा सामान्य स्वास्थ्य जाँचपछि सम्बन्धित प्रदेशको होल्डिङ सेन्टरमा लगिने छ। होल्डिङ सेन्टरमा प्रक्रिया पूरा भएपछि उनीहरूलाई प्रदेशले नै सम्बन्धित पालिकामा पठाउने गरिन्छ। यात्रा गर्न नसक्ने, कुनै स्वास्थ्य समस्या भएमा वा कोरोनाको आशंका भएमा काठमाडौंकै अल्पकालीन क्वारेन्टिनमा राखिने व्यवस्था भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले जनाएको छ।

३४२ शव नेपाल ल्याइयो

पछिल्लो समयमा विदेशमा मृत्यु भएका ३ सय ४२ जनाको शव नेपाल ल्याइएको छ। विश्वव्यापी कोरोना भाइरस (कोभिड १९) को समयमा विदेशमा विविध कारण मृत्यु भएका ३ सय ४२ जनाको शव स्वदेश ल्याइएको छ।

विदेशमा कोरोनाबाट २४३ जना नेपालीको मृत्यु

विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट २७ गतेसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको संख्या २४३ पुगेको छ। यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले बताए।

गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको राजदूतावासलाई उद्धृत गर्दै स्वास्थ्य समितिले उल्लेख गरेको छ। यो सँगै साउदी अरबमा मात्रै संक्रमणका कारण निधन हुने नेपालीको संख्या ५२ पुगेको साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्रसिंह राजपुतले जानकारी दिए। यो साता कतारमा पनि थप दुई नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ।

स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्याण्ड, भारत, कतार, र साउदी अरबलगायतका मुलुकमा कोरोना सक्रमणदर सामान्यरूपमा वृद्धि भएको छ। समितिका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपाली कोरोनाबाट सक्रमित छन्।

कोरोना भाइरसका कारण हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १६ देशमा रहेका नेपालीले ज्यान गुमाएका छन्। यस्तै नेपालमा शनिबारसम्म ५३ हजार १ सय २० जना कोरोना भाइरसबाट सक्रमित भएका छन्। तीमध्ये ३७ हजार ५२४ कोरोनामुक्त भएका छन्। यो कुल सक्रमितको ७० दशमलव ६ प्रतिशत हो। हालसम्म नेपालमा ३ सय ३६ जनाको कोरोना सक्रमणका कारण ज्यान गएको छ।

कोरोना सक्रमणका कारण नेपालसहित विश्वभर जम्मा ५७९ जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ। यस्तै विश्वभर ९० हजार ७ सय ६७ जनामा नेपालीमा सक्रमण देखिएको छ भने तीमध्ये ७१ हजार ७ सय १७ जना कोरोनामुक्त भएका छन्। नेपालसहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या औसत ७८ दशमलव ७ प्रतिशत रहेको छ।

Published on: 16 September 2020 | Nagarik

Link

Back to list

;