s

कोरोना कहर : बौद्धिक अपांगता भएका २० प्रतिशतको रोजगारी गुम्यो

विद्या राई

काठमाडौँ — क्याफेमा कुर्सी मिलाउने, पुछ्ने र ग्राहकले कफी पिइसकेपछि कपहरु उठाउने उनको काम थियो । यसबापत मासिक पाँच हजार तलब र टिप्स बुझ्थे । कोरोना महामारीले चैतदेखि क्याफे बन्द भएपछि काममा जान पाएका छैनन् । काममा किन जानु परेको छैन, तलब नपाएर के समस्या हुन्छ, उनी भेउ पाउँदैनन् । क्याफे जान नपरेदेखि घरबाट निस्केका छैनन् । किन काममा नगएको भनि सोध्दा ‘बन्द छ’ बाहेक अरु कुरा थप्न सक्दैनन् ।

उनी सानैदेखि बौद्धिक अपांगता (डाउन सिन्ड्रोम) भएका व्यक्ति हुन् । उनी एक वर्षअघि दरबारमार्गस्थित क्याफेमा काम गर्दै आएका थिए । सामान्य परिवारमा उनले मासिक कमाउने तलबले गर्जो टार्न भरथेग गरेको थियो । उनकी आमाले भनिन्, ‘उसको तलबले घर खर्च चलाउन निकै टेवा पुगेको थियो, ६ महिनाभन्दा बढी भइसक्यो उसले काममा जान पाएको छैन, समस्या भइरहेको छ ।’ अर्थोपार्जनको टेवा गुम्यो सँगसँगै छोराको दैनिकी र मानसिकतामा पनि असर परेको उनले बताइन् । ‘उसले काम थालेपछि पढ्न छोडेको थियो, अचेल स्कुलले अनलाइन कक्षा सुरु गरेको छ, जागिर खान थालेको मान्छे नि कहीँ पढ्छन्, म पढ्िदनँ भन्छ, बानी व्यवहार बिग्रिने हो कि भन्ने डर भइसक्यो,’ उनले सुनाइन् ।

कोरोना महामारी, लकडाउन, निषेधाज्ञा र यसबाट सिर्जित अवस्थाले उनीजस्ता २०.८० प्रतिशत बौद्धिक अपांगता भएका व्यक्ति र तिनका अभिभावकले आयस्रोत गुमाएको एक सर्वेक्षणले देखाएको छ । बौद्धिक अपांगताका अभिभावकको महासंघ, नेपालले बिहीबार सार्वजानिक गरेको ‘नेपालमा बौद्धिक अपांगता भएका व्यक्ति र उनीहरूका परिवारहरूमा कोभिड –१९ को प्रभावबारे गरेको अनलाइन सर्वेक्षण रिपोर्ट’ मा सो कुरा उल्लेख गरिएको छ । यस्तै ६१.२७ प्रतिशतले आयस्रोत घटेको भनेका छन् ।

दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउने सुर्खेतकी भगवती नेपालीलाई कोरोनाले काम पाउन छाडेपछि घरखर्च धान्न धौधौ परेको छ । गिटी कुट्ने, ढुंगा बोक्ने, बालुवा ओसार्ने, मसला बनाउने काम गरेर उनले मासिक १५/१६ हजार कमाउँथिन् । महामारीले गर्दा महिनामा मुस्किलले ५/६ हजार कमाइ हुन्छ ।

उनका तीन सन्तान छन् । २० वर्षीय छोरो बौद्धिक अपांग छन् । उनलाई खाना खुवाउने, दिसापिसाब गराउने लगायतका काममा हेरचाह चाहिन्छ । उनी सुन्छन् तर स्पष्ट बोल्न सक्दैनन् । सरसफाइका सामाग्री, औषधोपचार र पौष्टिक आहार खुवाउनुपर्छ । महामारीले कमाइ घटेपछि छोरोको दैनिक हेरचाहका लागि खर्च जुटाउन हम्मे परिरहेको उनले सुनाइन् । ‘कमाइ घटेपछि छोराछोरीलाई खुवाउन पिलाउन, अपांगता भएको छोरोलाई पौष्टिक आहार, औषधि पनि घटाउन परेको छ,’ उनले भनिन्, ‘अरु छोराछोरी त जसोतसो भोक मेटाउँछन्, यो बौद्धिक अपांगता भएको छोरो स्याहार नपुगेर कडा खालको बिरामी हुने हो कि भन्ने पिर पर्छ ।’ उनका पति पूर्वतिर सरकारी जागिर गर्छन् । तर परिवारलाई खर्चपर्च हेर्दैनन् ।

कोरोना महामारी अघि जुम्लाका आभिमान सार्कीलाई कामको चापाचाप हुन्थ्यो । उनी सिकर्मी र डकर्मीको काममा पोख्त छन् । महिनामा २५ हजार भन्दा बढी कमाइले ७ जनाको परिवारलाई घरखर्च धान्न मनग्ये पुग्थ्यो । महामारीले चैतयता काम पाउन मुस्किल छ । काम गरेजति ज्याला पाउन पनि मुस्किल छ । महिनामा १० हजारजति कमाउँछन्, घर खर्च टार्न पनि समस्या छ ।

उनका परिवार जुम्ला सदरमुकाम नजिकै डाडाँकोट गाउँमा छिमेकीको जग्गामा दुई तले माटोको घरमा बसेका छन् । खेतीपाती लाउने जग्गा जमिन छैन । सम्पत्तिको नाममा ७/८ गाईवस्तु छन् । आभिमानकी श्रीमती बौद्धिक अपांगता भएका दुई छोरोछोरी गोठालो लाग्नु पर्छ । १२ वर्षीय छोरो र ६ वर्षीया छोरी बौद्धिक अपांग छन् । उनीहरु दिसापिसाब गरेको पत्तै पाउँदैनन् । खाना खुवाउने, सरसफाइ गराउने सबै जिम्मा श्रीमतीको हो । घरको आयस्रोत भनेकै आभिमानको मजदुरी हो । अपांग छोराछोरीको उपचारका लागि घरखर्चबाट केही पैसा जोहो गर्दै थिए । उनले भने, ‘अपांग छोरोछोरीलाई उपचार गर्न पोहोर, परार काठमाडौं लगेर गयाँ हुँ, त्यतिबेला खर्च अलि नपुगेर फर्किए, दुईचार पैसा जोगाएर उपचार गर्न लान्छु भनेर सोचेको थिएँ, कोरोनाले गर्दा कामै पाउन मुस्किल भएको छ ।’

बौद्धिक अपांगताका अभिभावकको महासंघ, नेपालले आफ्नो सर्भेक्षणमा देशभरबाट बौद्धिक अपांगताका १ सय ७३ अभिभावहरुलाई सहभागी गराएको थियो । महासंघका अध्यक्ष राजु बस्नेतका अनुसार रोजगारी गुमेपछि र आयस्रोत घटेपछि बौद्धिक अपांगता भएका व्यक्तिहरुलाई खान, लाउन, सरसफाइ, औषधि, घरखर्च टार्न समस्या भएको बताएका छन् । ‘बौद्धिक अपांगता भएका अभिभावकहरु अति नै विपन्न परिवारका हुन्छन्, दिउँसो कमाएर बेलुकीको छाक टार्नुपर्ने स्थितिका भएलाई लामो समयदेखि महामारीले काम नपाएपछि भोकमरीको भय छ, बौद्धिक अपांग छोराछोरीले खानपान नपाएर थप कडा खालको अपांगता हुने डर छ,’ उनले भने ।

‘बौद्धिक अपांगता र समावेशी शिक्षा’ नामक एक सामाग्रीमा उल्लेख गरिएअनुसार उमेर अनुसारको विकासमा ढिलाइ हुने, सम्झन र सोच्न कठिन हुने, ढिलो सिक्ने छिटो बिर्सने, सञ्चार गर्न कठिन हुने, अस्वभाविक व्यवहार देखाउने जस्ता अवस्था (जस्तो डाउन सिन्ड्रोमसमेत पर्छ) लाई बौद्धिक अपांगता भनिन्छ । बौद्धिक अपांगता भएका व्यक्तिलाई बौद्धिकता मापनको आधारमा सामान्य, मध्यम, तीव्र वा अति अशक्त र अति तीव्र वा पूर्ण अशक्त भनि चार तहमा विभाजन गरिएको हुन्छ । सामान्य बौद्धिक अपांगता भएकाले व्यवसायिक ज्ञान हासिल गर्न, आधारभूत औपचारिक शिक्षा हासिल गर्न, समाजमा घुलमिल हुन र दैनिक गतिविधि गर्न सक्छन् ।

Published on: 16 October 2020 | Kantipur

Link

Back to list

;