s

कोरोना महामारीपछि बढेकाे रेमिटेन्स: नौ महिनामा सात खर्ब २९ अर्ब

कोरोना महामारीपछि वृद्धि भइरहेको रेमिटेन्स पछिल्लो समयमा पनि बढ्ने क्रम जारी रहेको पाइएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको नौ महिना (साउन–चैत) मा रेमिटेन्स साढे १६ प्रतिशतले बढेको छ। 

रेमिटेन्स आप्रवाहमा वृद्धि भएसँगै नौ महिनामा सात खर्ब २९ अर्ब दुई करोड रूपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स ४.२ प्रतिशतले घटेको थियो। 

गत असारदेखि चैतसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या भने ६६.७ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.२ प्रतिशतले बढेको थियो। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि सो अवधिमा ५५.७ प्रतिशतले घटेको छ। 

पछिल्लो समयमा वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिटेन्स कम नहुनुको कारण विगतमा हुन्डीमार्फत आउने गरेको रकम यतिखेर बैंकिङ च्यानलमार्फत आउने गरेको केन्द्रीय बैंकका अधिकारीहरू बताउँछन्। कोरोना महामारी सुरु भएयता (२०७७ चैतपछि) वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ। कैयन गन्तव्य मुलुकले भीडभाड कम गर्न नेपाली कामदार बोलाउन बन्द गरेका छन्। 

पहिलो लहरको कोरोना महामारीपछि करिब ६ महिना बन्द भएको वैदेशिक रोजगारी दोस्रो लहरको महामारी सुरु भएलगत्तै अघिल्लो सातादेखि असहज भएको छ। यतिखेर वैदेशिक रोजगार विभागले श्रम स्वीकृति बन्द नगरी अनलाइनबाट दिने व्यवस्था मिलाए पनि सरकारले भारतका केहीबाहेक सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेका कारण वैदेशिक रोजगारीमा जानेलाई समस्या परेको हो। 

मलेसिया लगायत केही गन्तव्य मुलुकले भने पहिलो लहरको कोरोना महामारीदेखि नै नेपाली कामदारलाई बोलाएका छैनन्। नयाँ श्रमिकलाई नबोलाएका गन्तव्य मुलुकका रोजगारदाताले महामारी सुरु हुनुअघि नै गएका श्रमिकलाई काममा लगाइरहेका छन्। विभागले हालसम्म करिब ५५ लाखलाई श्रम स्वीकृति दिए पनि यतिखेर २५–३० लाख नेपाली रोजगारीको क्रममा विभिन्न मुलुकमा रहेको अनुमान छ। अहिले तिनै विदेशमा रहेका श्रमिकले रेमिटेन्स पठाइरहेका हुन्। तीबाहेक अध्ययनका लागि विभिन्न मुलुक पुगेका विद्यार्थीले पनि बचत गरेर रेमिटेन्स पठाउने गरेका छन्।  

शोधनान्तर बचत ४२ अर्ब 

राष्ट्र बैंकका अनुसार मुलुकको शोधनान्तर स्थिति चैत मसान्तसम्ममा ४२ अर्ब ५४ करोड रूपैयाँले बचतमा छ। फागुनसम्म ६८ अर्ब रूपैयाँले बचतमा थियो। आयात बढ्न थालेसँगै शोधानान्तर बचत घट्न थालेको अधिकारीहरू बताउँछन्। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ६१ करोड रूपैयाँले बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड १० लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ८१ लाखले बचतमा छ। 

यता चैतसम्म चालु खाता भने दुई खर्ब ७ अर्ब ४१ करोड रूपैयाँले घाटामा गएको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब २६ अर्ब नौ करोड रूपैयाँले घाटामा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब १० करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब ७७ करोडले घाटामा छ।  

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १०.७ प्रतिशतले वृद्धि भई १२ अर्ब ८६ करोड रूपैयाँ पुगेको छ। त्यस्तै प्रत्यक्ष वैदेशिक लगानी २५.० प्रतिशतले कमी आई १२ अर्ब ३५ करोड रूपैयाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ११ अर्ब ६२ करोड र प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ४८ करोड रूपैयाँ थियो। 

केन्द्रीय बैंकका अनुसार चालु आवको नौ महिनामा कुल वस्तु निर्यात २०.२ प्रतिशतले वृद्धि भई ९४ अर्ब ७७ करोड रूपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.९ प्रतिशतले वृद्धि भएको थियो।  

जेठ १७ सम्म अन्तर्राष्ट्रिय उडान बन्द

सरकारले जेठ १७ सम्म अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको छ। वैशाख २३ देखि नियमित अन्तर्राष्ट्रिय उडानलाई वैशाख ३१ सम्मका लागि बन्द गरिएको थियो। कोरोना महामारी नियन्त्रणमा पुनः निषेधाज्ञा लगाउने निर्णय भएसँगै अन्तर्राष्ट्रिय हवाई उडान पनि जेठ १७ सम्म बन्द गरिएको हो।  

नियमित अन्तर्राष्ट्रिय उडान बन्द हुँदा चार्टर तथा कार्गाे उडान भने गर्न सकिनेछ। भारतको नयाँदिल्लीका लागि भने काठमाडौंबाट साताको बुधबार र शुक्रबार उडान हुनेछन्। नेपाल वायुसेवा निगमले बुधबार र एयर इन्डियाले शुक्रबार उडान गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

Published on: 13 May 2021 | Nagarik

Link

Back to list

;