s

कोरोनाले बेरोजगार भएका गोरखाका पर्यटन श्रमिक तथा मजदुरलाई राहत

६ असार, गोरखा । कोभिड–१९ का कारण रोजगार गुमाएका गोरखाका पर्यटन व्यवसायमा आवद्ध श्रमिक तथा मजदुरलाई राहत वितरण गरिएको छ । गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत रकम वितरण गरिएको घरेलु तथा साना उद्योग कार्यालय गोरखाले जनाएको छ ।

कार्यक्रम अन्तर्गत हालसम्म ५४ जनाले रकम पाइसकेका छन् । उनीहरुलाई जनही दश हजारका दरले रकम वितरण भएको कार्यालय प्रमुख सूर्य भुजेलले बताए । ‘कुल ७५ जनाको निवदेन परेको थियो,’ उनले भने, ‘२१ जनाको आवश्यक कागजात नपुगेर थप विवरण संकलनको काम भइरहेको छ ।’

जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा गठित राहत वितरण सिफारिस समितिले सिफारिस गरेका व्यक्तिलाई राहत उपलब्ध गराइएको उनले जानकारी दिए । ‘समितिले सिफारिस गरेर कार्यालयमा पठायो, हामीले गण्डकी प्रदेशको पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पठायौं, त्यही आधारमा मन्त्रालयले रकम वितरण गर्‍यो,’ उनले भने ।

स्वीकृत वार्षिक बिकास कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा कार्यालयले बिभिन्न पालिकामा सीपमूलक तालिम पनि सञ्चालन गरेको छ । गण्डकी र भीमसेन थापा गाउँपालिकामा डल तथा कुसन बनाउने १५ दिने तालिम र आरुघाट गाउँपालिकामा ३ सय ९० घण्टाको सहायक सूचिकार र सहायक व्यूटिसियन सम्बन्धी तालिम सञ्चालन गरिएको कार्यालय प्रमुख भुजेलले बताए ।

सिरानचोक र भीमसेन थापा गाउँपालिकामा मिनि टिलर बनाउने १५ दिने तालिम समेत सञ्चालन गरिएको उनको भनाइ छ । तालिमबाट कुल १ सय १० जना लाभान्वित भएको कार्यालयले जनाएको छ ।

Published on: 23 June 2022 | Onlinekhabar

Link

Back to list

;