s

कोरोनापछिको विश्लेषण : वैदेशिक रोजगारीमा चाँदीको घेरा !

रवीन्द्र घिमिरे

७ साउन, काठमाडौं । कोभिड–१९को महामारी सुरु भएदेखि नै खाडी र मलेसियाका दूतावास र नियोगहरुमा २४ घण्टा नै फोनको घण्टी बज्थे । घर फर्काउन गुहार माग्नेदेखि कम्पनीले काम र तलब नदिएको लगायतका विभिन्नखालका सयौं गुनासाहरु आउँथे ।

त्यतिबेला श्रम गन्तव्य मुलुकका धेरै दूतावासहरुको निष्कर्ष थियो, कोरोना कारणका अब ठूलो संख्यामा नेपालीहरुले रोजगारी गुमाउने छन् ।

संख्या कति त ? दूतावासका अधिकारीलाई अड्कल काट्न गाह्रो थियो । जति महामारी बढ्दै थियो, उद्धारका लागि दूतावासले खुला गरेको अनलाइन फारम भर्नेदेखि दूतावासमै फोन गर्नेको संख्या दिनानुदिन बढ्दै थियो ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेलाई पनि त्यसबेला लागेको थियो, ‘रोजगारीको क्षेत्रमा ठूलै समस्या आउला जस्तो छ ।’ तर, कोरोनाको महामारी साम्य हुँदै गर्दा पाण्डे त्यतिबेलाको जस्तो धेरै निराश छैनन् । कारण हो, नेपाली कामदारमा परेको अपेक्षितभन्दा कम प्रभाव ।

अहिले दूतावासहरुमा फोन आउने क्रम पातलिएको छ, अनलाइनमा स्वदेश फिर्तिको फराम भर्नेहरु पनि घटेका छन् ।

खाडी र मलेसियामा कोभिड–१९को महामारी सुरु हुँदै गर्दा ठूलो संख्यामा नेपाली कामदारले रोजगारी गुमाउने अनुमान थियो । रोजगारदाता कम्पनीमा देखिएको समस्याबाट पिरोलिएका कामदारहरु संकटको समयमा घर आउन आतुर थिए ।

अहिलेसम्म चार्टर्ड उडानको टिकट काटेर मंगलबारसम्म ३२ हजार ८७८ जना नेपाली स्वदेश फर्किएका छन् । त्यसमध्ये कति जना रोजगारी गुमाएर फर्किएका हुन् भन्ने तथ्यांक सरकारसँग छैन ।

तर, कोभिड–१९को महामारी मत्थर हुँदै जाँदा ती श्रम गन्तब्य मुलुकमा पूर्वानुमान गरिएभन्दा कम संख्यामा कामदारहरु प्रभावित भएको विश्लेषण हुन थालेका छन् । तथापि, विदेशस्थित नियोगहरुले तथ्यांकमा त्यसलाई व्याख्या गर्न भने सकेका छैनन् ।

वैदेशिक रोजगार बोर्डले महामारी सुरु हुँदै गर्दा करिब ४ लाख ७ हजार कामदारले तत्कालै रोजगारी गुमाउने आकलन सार्वजनिक गरेको थियो । १ लाख २७ हजारलाई तत्काल उद्धार गर्नुपर्ने र २ लाख ८० हजार रोजगारी गुमाएर फर्किने अनुमान थियो ।

यो तथ्यांक त्यतिबेला सम्बन्धित देशका दूतावासहरुले दिएको अनुमानित सूचीमा आधारित थियो ।

यता, रोजगारी गुमाएर फर्किने नेपालीहरुको संख्या ठूलो भएमा उनीहरुलाई यहाँ पुनर्स्थापित गर्न सरकारलाई सकस हुने अड्कलबाजी थियो । प्रधानमन्त्री केपी ओलीका भाषणहरुमा पनि यो भय अभिव्यक्त हुने गरेको थियो ।

भिसा अवधि सकिएका बाहेक करार अवधि बाँकी छँदै पनि धेरैले बीचैमा जागिर गुमाएर फर्किनुपर्ने बाध्यात्मक अवस्था आउला भन्ने डर सरकारलाई थियो । तर, अहिले पूर्वाअनुमानभन्दा केही फरक परिदृश्य देखिएको दूतावासका अधिकारीहरु बताउँछन् ।

श्रम गन्तव्य मुलुकमा कोरोनाको महामारी नियन्त्रण हुँदै गर्दा प्रभावित हुने नेपाली कामदारको संख्या पनि ठूलो हुने अवस्था नदेखिएको भन्दै दूतावासमा खुसी व्यक्त हुन थालेको छ ।

यद्यपि धेरै नेपालीहरुले कोभिड–१९को महामारीका कारण कार्यस्थलमा समस्या भोगिरहेको राजदूतहरु बताउँछन् । कतिले रोजगारीबाटै हात धुनुपरेको छ । तर, त्यो संख्या कति हो भने तथ्यांक छैन ।

श्रम गन्तव्य मुलुकले कोभिड–१९ विरुद्ध लिएको प्रभावकारी कदम चालेकाले विस्तारै आर्थिक गतिविधि बढ्दै गएपछि रोजगारीमा अपेक्षाभन्दा कम संकट आएको तर्क अधिकारीहरुको छ ।

मलेसिया सामान्यतर्फ उन्मुख

मलेसिया नेपालीको प्रमुख श्रम गन्तव्य मुलुकको सूचीमा अग्रभागमा पर्छ । वैदेशिक रोजगार बोर्डले मलेसियाबाट ७ हजारलाई तुरुन्तै उद्धार गर्नुपर्ने र ३० हजार नेपालीहरु रोजगारी गुमाएर फर्किने अनुमान गरेको थियो ।

तर, त्यहाँ अहिलेसम्म करिब १ हजार जनाले कोभिड–१९का कारण रोजगारी गुमाएको बताउँछन् राजदूत पाण्डे । अहिलेसम्म मलेसियाबाट ४ हजार २८६ नेपाली फर्किएका छन्, ती मध्ये धेरै कामदार भिसा अवधि सकिएका र अवैध हैसियतमा बसेर दुःख पाएकाहरु हुन् ।

मलेसियामा अहिले दिनमा १२–१३ जना मात्रै नयाँ संक्रमित भेटिँदैछन् । पहिलोजस्तो उच्च दरमा त्यहाँ संक्रमण फैलिन छाडेकाले अब विस्तारै त्यहाँको बजार चलायमान भएको छ । मलेसियाको बजार चलायमान भएसँगै धेरै कामदारहरु काममा फर्किएका छन्।

तर, होटल तथा रेष्टुरेन्टमा कार्यरत नेपालीहरु भने अझै पनि समस्या भोगिरहेका छन् । उनीहरुमध्ये धेरैले रोजगारी गुमाउनेपर्ने जोखिम छ भने कतिले गुमाइसकेका छन् ।

राजदूत पाण्डे पूर्वानुमान गरिएजस्तो मलेसियामा कामदारहरुको अवस्था भयावह नरहेको बताउँछन् । भिसा अवधि सकिएका र अवैध रुपमा बसिरहेकाबाहेक रोजगारी नै गुमाएर फर्किने र फर्किनुपर्ने अवस्थामा कामदार थोरै भएकाले मलेसियामा कोभिड–१९का कारण नेपाली कामदारमा ठूलो प्रभाव नपरेको देखिएको दूतावासको निश्कर्ष छ ।

‘मलेसियामा अब रोजगारीमा ठूलो संकट देखिएका भन्ने जस्तो परिवेश देखिँदैन,’ पाण्डे भन्छन्,‘ महामारी नियन्त्रणमा पूर्ण रुपमा नियन्त्रणमा आयो भने यहाँबाट धेरै नेपालीले रोजगारी गुमाएर फर्किनुपर्दैन ।’

यूएई र कतारमा अझै अन्योल

यूएई र कतार भने मलेसियाको भन्दा अवस्था केही फरक छ । दुबै देशमा अझै पनि रोजगारीमा महामारीको प्रभाव परिररहेको छ ।

बोर्डको अनुमान अनुसार ७५ हजारलाई तत्काल उद्धार गर्नुपर्ने र ७० हजार कामदार जागिर गुमाएर फर्किने अनुमान गरेको थियो ।

तर, अहिले कतारबाट करिब १४÷१५ हजार नेपालीहरुले महामारीकै बीचमा नेपाल फर्किन चाहेका छन् । ३ हजार ७८६जना फर्किसकेका पनि छन् ।

तर, केही ठूला कम्पनीहरु नै बन्द भएका छन् । विभिन्न कम्पनीले कामदारलाई नेपालको एयरपोर्टसम्म ल्याइदिने गरी नेपाल सरकारसँग अनुमति मागेका छन् ।

५ वटा ठूला कम्पनीले रोजगारी गुमाएका ३ हजारदेखि ३२ सय जना कामदारको आफ्नै खर्चमा उद्धार गर्दिने भन्दै अनुमति मागेको बताउँछन् कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाज ।

उनका अनुसार अहिले पनि कतारमा नियमित उडान सुरु भएको छैन । सीमा नाकाहरु बन्द छन् । धेरै परियोजना र उद्योगमा काम सुरु हुन सकेको छैन ।

नेपाली दूताबासका अनुसार कतारमा ठूलो संख्यामा विश्वकप फुटबल २०२२को लागि तयार गरिँदै गरेका रंगशाला लगायतका पूर्वाधार निर्माणमा काम गर्ने नेपालीहरु छन् । कतारमा यस्ता परियोजनामा अहिले सीमित मात्रै कामदार खटाएर काम हुँदैछ । यस कारण धेरै नेपालीहरुले त्यहाँ रोजगारी नगुमाए पनि त्यस सम्बद्ध समस्या भोगिरहेका छन् । कति नेपाली त्यहाँबाट रोजगारी गुमाएर फर्किन सक्छन् भन्ने अझै यकीन गर्न नसकिने राजदूत भारद्वाज बताउँछन् ।

‘कतिपय घर जान टिकट काटेकाहरु पनि कम्पनीमा सहमति गरेर तत्काल नफर्किने मनस्थितिमा देखिनुभएको छ,’ राजदूत भारद्वाज भन्छन्,‘अवस्था विस्तारै सहज हुँदै गएपछि रोजगारीमा पुनर्स्थापित हुनेको संख्या पनि बढ्दै जान्छ भन्ने अपेक्षा गरेका छौं।

भारद्वाजको अनुभवमा पनि विगतमा पूर्वानुमान गरिएजस्तो अत्तालिनुपर्ने अवस्था छैन । तर, धेरै नेपालीहहरु समस्यामा रहेकाले सामान्य भन्न सकिने स्थिति पनि छैन ।

महामारी नियन्त्रण हुँदै गएपछि उद्योग, व्यवसाय र परियोजनाहरुमा काम सुरु हुने र त्यसपछि नेपाली कामदारले पनि रहात पाउने दूतावासको अपेक्षा छ । ‘धेरै कामदारमा विस्तारै काममा फर्किनुपर्छ भन्ने आत्मविश्वास पनि देखिन्छ, यहाँ अवस्था सहज भयो भने हिजो हामीले भनेजस्तो कतारबाट ठूलो संख्यामा रोजगारी गुमाएर फर्किने अवस्था आउँदैन भन्ने हाम्रो अपेक्षा छ,’ राजदूत भारद्वाजले भने ।

यूएईमा पनि कतारकै जस्तो थोरै अन्योलकै अवस्था छ । अझै पनि रोजगारी गुमाउनेहरु बढ्दै गरेकाले भविष्यमा कस्तोसम्म अवस्था आउला भनेर दूतावासले आकलन गरेको छैन ।

सुरुमा वैदेशिक रोजगार बोर्डले १२ हजार कामदारलाई तत्कालै उद्धार गर्नुपर्ने र ५५ हजार नेपालीले रोजगार गुमाउने अनुमान गरेको थियो ।

अहिले करिब २५ हजारजति नेपाली यूएईबाट स्वदेश फर्किन चाहानेको सूचीमा छन् । यूएईबाट अहिलेसम्म ७ हजार ६७६ जना नेपाली फर्किएका छन् ।

केही कम्पनीले नेपालसम्म नै विमानमा ल्याइदिने भनेर प्रस्ताव गरेका छन् । ट्रान्सगार्ड नामक कम्पनीबाट २५ सयजना नेपालीले रोजगारी गुमाएर उद्धारको प्रतिक्षा छन् ।

दूतावासका एक अधिकारी अन्यत्रभन्दा यूएईमा रोजगारी गुमाउने क्रम बढी रहेको रहेको बताउँछन् । त्यहाँका कम्पनीहरुमा आर्थिक समस्या भएकाले उनीहरुले विदेशी कामदार कटौतीको नीति लिएका छन् । जसका कारण अझै पनि रोजगारी कटौतीको जोखिम छ ।

‘विगतमा हामीलाई पनि निकै डरलाग्दो अवस्था आउँछ कि भन्ने लागेकै हो,’ यूएईस्थित दूतावासका एक अधिकारी भन्छन्, ‘तर, अब विस्तारै समस्यामा पर्नेहरुको गुनासो घट्दै गएकाले अवस्था सहज बन्छ कि भन्ने सोचिरहेका छौं ।’

साउदीमा पुनर्विचार गर्ने श्रमिक बढ्दै

महामारी सुरु हुँदै गर्दा साउदीमा २० हजारको उद्धार गर्नुपर्ने अवस्था आउने र १ लाख कामदार रोजगार गुमाएर फर्किने वैदेशिक रोजगार बोर्डको अनुमान थियो ।

साउदीस्थित नेपाली दूतावासले भने अहिलेसम्म कोभिड–१९को महामारीका कारण कति नेपालीले रोजगारी गुमाउनुपर्यो भन्ने अड्कल पनि गर्न सकेको छैन । यहाँबाट अहिले पनि करिब २५ हजार नेपालीले स्वदेश फर्किन इच्छा देखाएका छन् । ५ हजार ४४ जना फर्किसकेका छन् ।

साउदीका लागि नेपाली राजदूत डा. महेन्दप्रसाद्र सिंह राजपुत घर जान इच्छा देखाउने अधिकांश नेपाली रोजगारीमा कुन नै समस्या भएकै कारण फर्किन चाहेकाले उनीहरुलाई प्रभावितकै नजरमा हेर्नुपर्ने तर्क गर्छन् ।

ठूलो भूगोल भएकाले आफूहरुले कति कामदारले रोजगारीबाट हात धुनुपर्यो भन्ने यकीन तथ्यांक तयार गर्न नसकेको उनी बताउँछन् । तर, साउदीमा प्रभावित कामदारको संख्या सानो भने नभएको उनको भनाइ छ ।

राजपुतका अनुसार महामारी विस्तारै कम हुँदै जाँदा साउदीमा पनि आर्थिक गतिविधि बढ्दै गएकाले अब आशाका किरण भने देखिन थालेका छन् ।

‘सुरुबाटै हामीलाई यो महामारीको के कस्तो अवस्था ल्याउँछ भन्ने आकलन गर्न गाह्रो थियो, अझ पनि यसले कति नेपालीलाई बेरोजगार बनायो भन्न गाहे नै छ,’ उनी भन्छन्,‘कोही नेपालीको कम्पनी खुलेको छैन, कम्पनीले रोजगारी गयो है पनि भनेको छैन, कसैले थोरै काम गरेर कम तलब बुझ्दैछन् ।’

उनका अनुसार सबै कामदारको समस्या एकै खालको छैन । कसैको रोजगारी गुमिसिकेकाले घर फर्किनैपर्ने अवस्था छ ।

कति भने घर फर्किएर पनि कामविहीन हुने भएकाले साउदीमा कम्पनीले जति काम दिन्छ त्यति नै गर्छु भन्ने मानसिकतामा समेत छन् । अन्यत्र जस्तै साउदीमा पनि पहिले घर जान आतुर भएकाहरुले पुनर्विचार गर्न थालेका छन् । कतिपयले कम्पनीमा पाएको काम गर्ने र केही समस्या भएपनि रोजगारी नछोड्ने बताउन थालेका छन् । यस्ता कारणले पनि कति नेपाली अहिले कामविहीन भएर बसेका छन् भन्न अप्ठेरो भएको राजदूत राजपुतको तर्क छ ।

कुवेतमा पनि सकारात्मक संकेत

नेपालीहरुको अर्को प्रमुख श्रम गन्तव्यका रुपमा रहेको कुवेतमा करिब ९ हजार नेपालीले रोजगारी गुमाउने प्रारम्भिक आकलन थियो । करिब १५ हजार कामदार कामविहीन भएर फर्किने वैदेशिक रोजगार बोर्डको आकलन थियो ।

कुवेतबाट करिब ५ हजार ५ सय नेपाली स्वदेश फर्किसके । त्यसमध्ये २८ सय नेपाली मात्रै वैध रुपमा काम गरिहेकाहरु थिए । करिब ३ हजार अवैध कामदारलाई कुवेतले आममाफी दिएर आफ्नै खर्चमा नेपाल ल्याइदिएको हो ।

कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी अझै करिब ५ हजार ५ सय जना नेपालीले स्वदेश फर्किन इच्छा देखाएर बसेको बताउँछन् । तर, विस्तारै लकडाउन खुकुलो हुँदै गएपछि उनीहरुमध्ये धेरै काममा फर्किने अनुमान गरिएको उनको भनाइ छ ।

दूतावासले करिब १० देखि १५ हजार नेपालीले कोरोनाका कारण नै रोजगारी गुमाउने अवस्थामा पुग्ने अनुमान गरेको थियो । तर, त्यसैबेला कुवेत सरकारले आकर्षक रुपमा विदेशी कामदारलाई आममाफी दिने नीति ल्याएपछि ३ हजार नेपालीले रोजगारी संकटमै नपरे पनि स्वदेश फर्किने निर्णय लिएका थिए ।

कुवेतमा हाल विस्तार आर्थिक गतिविधि बढ्दै गएको छ । राजदूत भण्डारी अब क्रमैसँगै कुवेतका उद्योग, कलकारखना र परियोजनाहरु खुल्न थालेकाले स्वदेश फर्किने मानसिकता बनाएकाहरुले पनि परिवर्तन गर्ने सम्भावना देखिएको बताए ।

‘हामीलाई के विश्वास छ भने अब विस्तारै अवस्था सहज बनेको छ,’ उनी भन्छन्,‘अब पहिलेजसरी दूतावासमा फोन आउँदैन । जसले राम्रो संकेत गरेको छ ।’

Published on: 23 July 2020 | Onlinekhabar

Link

Back to list

;