s

धर्म सन्तानका नाममा बालबालिका बेचबिखन गर्न नदेऊ : संसदीय समिति

धर्मसन्तानका रूपमा बालबालिका बेचबिखन हुने क्रम रोक्न संसदीय समितिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ । संसद्को ‘महिला तथा सामाजिक समिति’को बुधबारको बैठकले बालबालिका बेचबिखनको वस्तुस्थितिबारे छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।

‘बालबच्चा बेचबिखनजस्तो निकृष्ट कार्यमा जिम्मेवार पदाधिकारी नै संलग्न देखिनु निकै खेदपूर्ण छ,’ समितिले भनेको छ, ‘विदेशीले नेपाली बालबालिकालाई धर्मसन्तान बनाएर लैजाने कार्यलाई कानुनले निषेध गरेको छ । गैरकानुनी रूपमा एवं अदृश्य मिलेमतोमा नेपाली बालबालिका विदेशी नागरिकलाई बेच्ने गरेको जनगुनासो पनि आइरहेको छ । यसमा मन्त्रालयले ध्यान दिनुपर्छ ।’

बालबच्चा बेचबिखन नियमन गर्ने संघ, संस्था दर्ता ऐन २०३४, समाजकल्याण ऐन २०४९, राष्ट्रिय निर्देशन ऐन, २०१८ लाई सुधार/संशोधनको प्रक्रियामा लैजान पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार अहिलेसम्म आठ सय ८९ जना बालकबालिकालाई केन्द्रीय बालकल्याण समितिको समन्वयमा विभिन्न बालगृहबाट उद्धार र पुनस्र्थापना गरिसकिएको छ । यसमध्ये पाँच सय ३५ जना बालक थिए भने तीन सय ५४ जना बालिका । अहिले देशभरिमा पाँच सय ३३ वटा बालगृह रहेको मन्त्रालयको तथ्यांक छ । तीमध्ये तीन सय ४३ वटा काठमाडौं उपत्यकामै छन् ।

अनुगमन गर्ने संस्थाको भूमिकामा प्रश्न

गैरसरकारी संस्थाको अनुगमन गर्ने जिम्मेवारी पाएको समाजकल्याण परिषद्को भूमिकामा पनि समितिले प्रश्न उठाएको छ । परिषद्को भूमिका प्रभावकारी नभएको भन्दै समितिले प्रभावकारी अनुगमन गर्न, गराउन परिषद्लाई निर्देशन दिएको छ । ‘समाजकल्याण परिषद्को कमजोरी देखिएको छ । हाम्रा साना नानीहरू बेचिनु हृदयविदारक कुरा हो,’ समिति सभापति निरुदेवी पालले भनिन् ।

गत १० जेठमा समितिले परिषद्लाई बालगृह, अनाथालयको अवस्था, न्यूनतम सुविधाबारे जानकारी गराउन अनुरोध गरेको थियो । तर, त्यसबारे कुनै खोजीनीति नगरेपछि बैठकमा परिषद्को आलोचना भएको हो । बालबालिकाको अवस्था तराईमा पनि नाजुक रहेकाले त्यस क्षेत्रमा अनुगमनमा जानुपर्ने समिति सदस्य रुही नाजले बताइन् ।

Published on: 22 August 2019 | Naya Patrika

Back to list

;