s

युरोप रोजगारीका लागि गेटवे बन्दै पोल्यान्ड

मुना कुँवर

 

युरोपमा रोजगारीका लागि नेपाली कामदारले पोल्यान्डको बाटो प्रयोग गर्न थालेका छन् । नेदरल्यान्डस्थित ट्रेड युनियनले गरेको एक अध्ययनअनुसार युरोपका विभिन्न मुलुकमा प्रवेश गर्न नेपाली कामदारले पोल्यान्डलाई गेटवेका रूपमा प्रयोग गर्न थालेका हुन् । अध्ययनअनुसार नेपाली कामदार पोल्यान्ड हुँदै युरोपका विभिन्न मुलुकहरू जर्मनी, फ्रान्स, पोर्चुगल, स्पेन, बेल्जियम, नेदरल्यान्डलगायतका मुलुकमा प्रवेश गरेको पाइएको छ ।

युरोपियन मुलुकहरूमा उच्च पारिश्रमिक पाउने भएकाले नेपाली कामदारहरूको आकर्षण बढ्न थालेको इक्विडिएम रिसर्च नेपालका तर्फबाट अध्ययनमा सहभागी रामेश्वर नेपालले बताए । अन्य युरोपेली मुलुकको तुलनामा पोल्यान्ड प्रवेश गर्न सहज भएपछि नेपालीहरूले पोल्यान्डलाई प्रवेशद्वारका रूपमा प्रयोग गरेको उनको दाबी छ ।

साढे ९ लाखसम्म रकम तिर्छन् कामदारले

पोल्यान्ड जान नेपाली कामदारले साढे ९ लाख रुपैयाँसम्म तिर्ने गरेको पनि युनियनको अध्ययनले देखाएको छ । कामदारहरूले २ लाखदेखि ५ लाख रुपैयाँ अग्रिम भुक्तानी गर्ने गरेको र बाँकी पछि भुक्तानी गर्ने गरेको समेत अध्ययनले देखाएको छ । नेपालमा पोल्यान्डको दूतावास नभएकाले भारतबाट भिसा लिएर पोल्यान्ड जानुपर्छ ।

अध्ययनअनुसार सन् २००८ देखि २०१८ सम्ममा ७ हजार २ सय ४१ जना नेपाली कामदारले पोल्यान्डमा काम गर्ने अनुमति (वर्क परमिट) पाएका छन् । सन् २०१४ देखि नेपाली कामदार पोल्यान्ड जानेक्रम बढेको हो । तर, पछिल्लो तीन वर्षयता यो क्रम झनै बढेको अध्ययनले देखाएको छ । अध्ययनअनुसार २०१६ मा ३ सय ४० जनाले पोल्यान्डको वर्क परमिट पाएका थिए । सन् २०१७ मा २ हजार २ सय ७२ र २०१८ मा ३ हजार ७ सय १४ ले वर्क परमिट पाएको अध्ययनमा उल्लेख छ ।

अध्ययनअनुसार सन् २०१९ मा ९० प्रतिशत पुरुष र १० प्रतिशत महिला पोल्यान्डमा रोजगारीका लागि गएको देखिन्छ । जसमध्ये ५० प्रतिशत २५ देखि ३४ वर्ष उमेरका कामदार गएका छन् । ३० प्रतिशत १८ देखि २४ वर्ष उमेरका छन् । करिब १८ प्रतिशत ३५ देखि ४४ वर्ष उमेरका र २ प्रतिशतजति ४५ वर्षभन्दा माथिका कामदार देखिन्छन् ।

युरोपमा पनि अदक्ष कामदार

पछिल्लो समयमा युरोपमा पनि नेपालबाट अदक्ष कामदारहरू जान थालेको अध्ययनले देखाएको छ । युनियनको अध्ययनअनुसार सन् २०१७/०१८ मा पोल्यान्ड पुगेका नेपाली कामदारमध्ये ९९ प्रतिशत अदक्ष रहेको पाइएको छ । सन् २०१६ मा भने करिब ५० प्रतिशत मात्र अदक्ष कामदार पोल्यान्ड पुगेका थिए भने ४० प्रतिशत आइटी स्पेसलिस्ट गएका थिए । बाँकी अन्य क्षेत्रका दक्ष कामदार पोल्यान्ड गएका थिए । सन् २०१५ मा भने ३५ प्रतिशत अदक्ष, ५५ प्रतिशत आइटी स्पेसलिस्ट र बाँकी अन्य क्षेत्रका दक्ष जनशक्ति पोल्यान्ड गएको पाइएको छ ।

जबकि सन् २००८ मा ७५ प्रतिशत आइटी स्पेसलिस्ट, २० प्रतिशत अदक्ष र करिब ५ प्रतिशतजति अन्य क्षेत्रका दक्ष जनशक्ति पोल्यान्ड पुगेको पाइएको छ । सन् २०१७ देखि २०१९ को पहिलो त्रैमास अवधिमा ४८ प्रतिशत नेपाली कामदारले अदक्ष कामका लागि वर्क परमिट लिएको अध्ययनले देखाएको छ । ४२ प्रतिशतले औद्योगिक क्षेत्रको, ३ प्रतिशतले अफिसियल काम, ३ प्रतिशतले सेवा र सेल्स वर्करका लागि र २ प्रतिशतले कृषिका लागि वर्क परमिट लिएको पोल्यान्डको श्रम मन्त्रालयको तथ्यांकले देखाएको छ ।

सन् २०१४/०१५ मा पोल्यान्ड गएका कामदार व्यक्तिगत रूपमा नै गएको देखिन्छ । सन् २०१५/०१६ मा यो क्रम जारी रह्यो । तर, सन् २०१६/०१७ मा भने कामदारहरू म्यानपावर कम्पनीमार्फत पनि पोल्यान्ड प्रवेश गरेको अध्ययनले देखाउँछ । अध्ययनअनुसार सो आवमा करिब १ सय कामदार म्यानपावर कम्पनीमार्फत पोल्यान्ड प्रवेश गरेको देखाएको छ ।

सन् २०१७/०१८ मा आइपुग्दा यो संख्या ह्वात्तै बढेको देखिन्छ । सो अवधिमा ३ हजार ५ सय कामदार पोल्यान्ड गएको देखिन्छ । जसमध्ये २ हजार कामदार म्यानपावर कम्पनीमार्फत गएका छन् भने बाँकी व्यक्तिगत प्रक्रियाबाट नै पोल्यान्ड प्रवेश गरेका छन् । सन् २०१८/०१९ मा भने करिब १ हजार २ सय पोल्यान्ड गएको देखिन्छ । जसमध्ये करिब १ हजार १ सय म्यानपावर कम्पनीमार्फत गएका छन् भने बाँकी व्यक्तिगत प्रक्रियाबाट पोल्यान्ड गएका छन् । पोल्यान्ड जानेमध्ये अधिकांशको वर्क परमिट न्यूनतम तीन महिना र अधिकतम एक वर्षसम्म हुने गरेको पाइएको छ ।

पोल्यान्ड पुगेपछि ठगिन्छन् तर उजुरी गर्दैनन् कामदारहरू

एजेन्टमार्फत युरोप प्रवेश गरेका कामदार आपत्मा परे पनि उजुरी नगर्ने गरेको अध्ययनले देखाएको छ । अध्ययनअनुसार नेपालमा ठगिएका कामदारले वैदेशिक रोजगार विभागमा उजुरी दिने गरे पनि युरोप प्रवेश गरेपछि जति ठूलो समस्या परे पनि उजुरबाजुर नगर्ने गरेको पाइएको छ । अध्ययनअनुसार सन् २०१८/०१९ मा नेपालमा युरोप लैजाने म्यानपावर र एजेन्टले ठगिएको भन्दै विभागमा ३ सय १३ वटा उजुरी परेका थिए, जसमध्ये व्यक्तिगत उजुरी ९३ वटा थिए भने २ सय २० वटा म्यानपावर कम्पनीका विरुद्धमा उजुरी परेका थिए ।

व्यक्तिगत रूपमा र भ्रमणमा जाने कामदार पोल्यान्ड पुगेपछि ठगिने गरेको अध्ययनले देखाएको छ । यसरी कामदारलाई स्थानीय एजेन्टले केन्द्रीय एजेन्ट हुँदै पोल्यान्ड पुर्‍याउँछ । नेपालबाट पठाउने एजेन्टको पनि पोल्यान्डस्थित रोजगारदातासँग सम्पर्क नहुने गरेको अध्ययनमा सहभागी रामेश्वर नेपालले बताए । उनका अनुसार नेपाली एजेन्ट पनि पोल्यान्डस्थित रोजगार एजेन्टलाई नेपाली कामदार पठाउँछ ।

जसका कारण धेरै नेपाली कामदार बिचल्लीमा पर्ने गरेको उनले बताए । ‘युरोप भन्नेबित्तिकै धेरै कामदार ठूलो सपना लिएर जान्छन् । तर, पोल्यान्डमा पनि एजेन्टको चंगुलमा पर्दा धेरै कामदार बिचल्लीमा पर्छन् । तर, सामाजिक र पारिवारिक दबाबका कारण जति दुःख परे पनि नेपाल फर्कंदैनन्, न त उनीहरूले उजुरी नै गर्छन्,’ उनले भने ।

अधिकांश नेपालीहरू निश्चित समयपछि परिवार पनि लैजान सकिने अपेक्षाका कारण युरोप प्रवेश गर्ने गरेको रामेश्वर नेपालले बताए । उच्च पारिश्रमिक, नागरिकता पाइने आसले पनि युरोपमा जति दुःख परे पनि नेपालीहरू नफर्कने गरेको उनले बताए ।

Published on: 19 November 2020 | Nayapatrika

Link

Back to list

;