s

गैरकानुनी बस्नेहरूलाई देश निकाला गर्न अमेरिकी अध्यागमनको कारबाही सुरू, नेपाली समुदाय पनि त्रसित

अमेरिकी अध्यागमन विभाग (आइस) ले आइतबारदेखि अमेरिकाका ९ वटा सहरमा गैर कानुनी रूपमा बसोबास गरिरहेका र राष्ट्रिय सुरक्षाका हिसाबले संवेदनशील मानिएका आप्रवासीहरूलाई देश निकालाका लागि कारबाहीको प्रक्रिया सुरू गरेको छ।

न्यु योर्क, एटलान्टा, बाल्टिमोर, सिकागो, डेनभर, ह्युस्टन, लस एन्जलस, मायामी र सान फ्रान्सिस्कोमा आइतबार, बिहानदेखि सुरू हुने भनिएको आइसको छापाका खबरहरूले नेपाली समुदायसँगै अमेरिकाको सिङ्गो आप्रवासी समुदाय त्रसित छ।

यसैबीच आप्रवासीहरूको हक हितमा कार्यरत नेपाली संस्था अधिकारले आइतबारदेखिफेरि आप्रवासीमाथि नयाँ आतङ्क आउन लागेको उल्लेख गर्दै गैरकानुनी बसोबास गर्ने नेपालीहरूलाई 'नडराउन र नआत्तिन' आग्रह गरेको छ।

पहिलो चरणमा अदालतबाट देश निकालाको आदेश पाएर पनि अमेरिका नछोडेका आप्रवासीहरूलाई प्रकाउ गर्ने अमेरिकी अध्यागमन विभाग (आइस)ले जनाएको छ। जसअनुसार आइतबारमात्र अमेरिकाका ९ सहरबाट करिब २ हजार कागजविहीन आप्रवासीलाई प्रकाउ गरिन अनुमान गरिएको छ।

अमेरिकी अध्यागमन विभागका प्रवक्ता म्याथियु बोर्केले आपराधिक पृष्ठभूमि भएका र अदालतबाट मुलुक छोड्ने आदेश पाएकाहरूलाई लक्षित गरिएको बताए।

Published on: 15 July 2019 | Setopati

Back to list

;