गाउँमै टिक्न खोज्दै युवा

परदेशभन्दा सय रूपैयाँ कम कमाए पनि परिवारसँगै बस्न रमाइलो

रूपा गहतराज

नेपालगन्ज — मटेहिया चोकस्थित नास्ता पसलमा उनी समोसा तार्न र चिया पकाउन व्यस्त थिए । मिठाई र पकौडा तयार भइसकेको थियो । ग्राहक भरिभराउ थिए । पसलका सञ्चालक हुन्, ६ महिनाअघि भारतबाट फर्किएका नरैनापुर गाउँपालिका–५ मटेहियाका अयोध्याप्रसाद यादव । भारत फर्किने मेसो नमिलेपछि उनी अहिले गाउँमै नास्ता पसल सञ्चालन गरेर बसेका छन् ।

भारतमा पनि बिहान ६ देखि साँझ ६ बजेसम्म होटलमा खाना बनाउने काम गरेर मासिक २० हजार रुपैयाँ कमाउँथे । त्यही रोजगारीबाट उनका तीन छोराछोरीसहित पाँच जनाको परिवार पालिएको थियो । खाना खान मुस्किलले एक घण्टा फुर्सद पाउँथे । ‘दिन–रात काममा घोटिनुपर्थ्यो । आराम गर्न पाउँदैनथ्यौं,’ ३२ वर्षीय यादवले भने, ‘कोरोनाले गाउँमै बस्ने मेसो मिलाइदियो ।’ गाउँमै व्यवसाय गर्न पाएपछि उनी खुसी छन् । त्यसका लागि स्थानीय सहकारीबाट ७० हजार रुपैयाँ ऋण लिएका छन् । ‘भारतको भन्दा सय रुपैयाँ कम कमाए पनि परिवारसँगै गाउँमै बस्न रमाइलो छ,’ उनले भने, ‘सायद अब भारत गइँदैन ।’

नरैनापुर–५ मटेहियाकै २५ वर्षीय शिवराज आर्य मुम्बईको मन्डीमा तरकारी बिक्री गर्थे । दिनभरि काम गरेबापत महिनामा १६ हजार रुपैयाँ कमाइ हुन्थ्यो । त्यसैको आम्दानीले परिवार धानिएको थियो । कोरोना महामारी फैलिएपछि चार महिनाअघि स्वदेश आएका उनलाई बेरोजगारीले सतायो । नरैनापुर गाउँपालिकाकै कोरोना ‘हटस्पट’ बनेकाले पैसा आउने अवस्था रहेन । त्यही बेला १० कट्ठामा अधियाँमा धान खेती गरेको उनले बताए । एक महिनाअघि २० हजार रुपैयाँ ऋण लिएर गाउँमै किराना पसल खोलेका छन् । पसलमा चाउमिनलगायत खाजा पनि बनाउँछन् । ‘भारत जाने नाका बन्द छ, खानलाई नै समस्या भयो । केही त गर्नुपर्‍यो भनेर पसल खोलें,’ उनले भने ।

स्थानीय मटेहियाका सन्तराम धोबी अहिले गाउँमै ज्यालामजदुरी गर्छन् । कहिले इँटा बोक्छन् । कहिले घर बनाउने काममा जुट्छन् । भारतमा उनी सब्जीमन्डीमा काम गर्थे । स्वदेश आएको पाँच महिना भयो । यहाँ आएपछि ५ बिघामा ‘बटैयामा’ खेती पनि गरे । ‘गाउँमै काम गर्न त्यति सजिलो भने छैन । कहिले काम मिल्छ, कहिले मिल्दैन,’ ३२ वर्षीय धोबीले भने, ‘एक दिन काम गरेबापत पैसा लिन एक महिना कुर्नुपर्छ ।’ निर्माणका काम सुरु भएपछि सजिलो भएको उनले बताए । ‘यस्तो महामारीमा किन भारत जानू,’ उनले भने, ‘गाउँघरमा जे काम पाइन्छ त्यही गरेर गुजारा चलाउने विचारमा छु ।’

भारतमा कोरोनाको कहर सुरु भएपछि नरैनापुरका धेरै युवा घर फर्किएका थिए । उनीहरूले गाउँमै विकल्प खोजेका छन् । तर स्थानीय तहले उनीहरूको माग सम्बोधन गर्न नसकेको नरैनापुर–५ का वडाध्यक्ष कृष्णचन्द्र मौर्यले बताए । ‘क्वारेन्टाइनमा राम्रोसँग नराखेकाले जनप्रतिनिधिलाई विश्वास गर्दैनन्,’ उनले भने, ‘न उनीहरूलाई राहत बाँड्न पायौं, न त उचित रोजगारी दिन सक्यौं ।’

नरैनापुरका करिब तीन हजार युवा रोजगारीका लागि भारतमा छन् । अधिकांश युवा हैदराबाद, दिल्ली, पन्जाब, मुम्बई र कानपुर सहरमा छन् । केही कतार र दुबईमा छन् । जिल्लाको दुर्गम गाउँपालिका तीन महिना कोरोनाको चपेटामा पर्‍यो । संक्रमण तीव्र भएपछि कोरोना हटस्पट बन्यो । क्वारेन्टाइनस्थलमै उपचार नपाएर एक युवाको मृत्यु भयो । गाउँपालिकामा बिजुली नभएकाले उद्योगधन्दा सञ्चालनमा छैन ।

Published on: 16 September 2020 | Kantipur

Link

Back to list

;