s

इजरायलले कृषि क्षेत्रका लागि एक हजार नेपाली कामदार लैजाने

मुना कुँवर

कामदारको उमेर, समूह, सीप, तालिम र सेवा शुल्कका विषयमा छलफल हुन बाँकी

इजरायलले कृषि क्षेत्रका लागि एक हजार नेपाली कामदार लैजाने भएको छ । दीर्घकालीन स्याहार केन्द्रमा नेपाली सहयोगी कामदार (केयर गिभर) भर्ना गरिरहेको इजरायलले कृषि क्षेत्रका लागि पनि नेपाली कामदारको माग गरेको हो । कामदार भर्नाका लागि इजरायल र नेपालबीच प्रारम्भिक छलफल भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

इजरायलले कृषि कामदार माग गरेपछि श्रम मन्त्रालयले अध्ययन समिति नै गठन गरेको वैदेशिक रोजगार विभागका निर्देशक डम्बर सुनुवारले बताए । उनका अनुसार सो समितिको अध्ययनपछि इजरायल र नेपालबीच पहिलो चरणको बैठक सम्पन्न भएको छ । तर, कामदारको उमेर, समूह, सीप, तालिम र सेवा शुल्कका विषयमा भने छलफल हुन बाँकी रहेको उनले जानकारी दिए ।

त्यस्तै, नेपालले इजरायललाई कामदार भर्ना प्रक्रियाको संरचनाको ड्राफ्ट पठाउन आग्रह गरेको छ । सो ड्राफ्टमाथि आवश्यक छलफलपछि अन्य प्रक्रिया अगाडि बढ्ने विभागका निर्देशक सुनुवारले बताए । ‘इजरायल सरकारको मनसाय बुझेपछि हामीले हाम्रा कामदारको हित, सेवा–सुविधा र पारिश्रमिकका विषयमा आफ्ना धारणा राख्नेछौँ,’ उनले भने ।

इजरायल रोजगारीमा फेरि ढिलाइ

इजरायल सरकारले विदेशी कामदार भर्ना प्रक्रिया नीतिमा फेरबदल गरेपछि नेपाली कामदार लैजाने प्रक्रियामा ढिलाइ हुन थालेको हो । इजरायलले विदेशी कामदार भर्ना प्रक्रियालाई परिवर्तन गरी सशुल्क बनाएछ । नीति परिवर्तनपछि इजरायल रोजगारदाता हच्किएको हुन सक्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव एवं सहायक प्रवक्ता डा. थानेश्वर भुसालले बताए । तर, यो नीति इजरायलको आन्तरिक समस्या भएको उनले बताए । यसले नेपालबाट लैजाने कामदारको हकमा कुनै प्रभाव नपर्ने उनको भनाइ छ ।

इजरायलले नेपालबाट केयर गिभरका लागि एक हजार एक सय ७५ जना कामदार लैजाने सहमति गरेको छ । हालसम्म इजरायलले एक हजारभन्दा बढी कामदार इजरायल लगिसकेको छ । बाँकी कामदारको हकमा भने भिसा जारी हुन केही ढिलाइ भएको छ । इजरायल रोजगारीका लागि छनोट भएका कामदार लैजाने प्रक्रियामा बारम्बार अवरोध सिर्जना भएको छ । गत चैत महिनादेखि असार महिनासम्ममा इजरायलले नेपाली कामदार लैजाने प्रक्रिया रोेकेको थियो । तत्कालीन समयमा इजरायलस्थित परराष्ट्र मन्त्रालयका कर्मचारीले श्रमका विषयलाई लिएर आन्दोलन सुरु गरेपछि नेपाल कामदार लैजाने प्रक्रिया रोकिएको थियो ।

गत असारमा इजरायलको सो समस्या समाधान भएपछि पुनः नेपाली कामदाार इजरायल गएका थिए । तर, कामदार जान सुरु भएको एक महिना नबित्दै गत भदौदेखि फेरि नेपाली कामदार इजरायल जाने प्रक्रिया फेरि रोकिएको छ । यसपटक इजरायल सरकारले आप्रवासी कामदारको विषयमा ल्याएको नयाँ नीतिका कारण प्रक्रिया ढिलो भएको हुन सक्ने मन्त्रालयको अनुमान छ ।

छनोट भएका ५६ केयर गिभरको करारपत्र नै आएन

इजरायलले केयर गिभरका लागि छनोट गरेकामध्ये ५६ जना नेपाली कामदारको करारपत्र नै प्राप्त भएको छैन । वैदेशिक रोजगार विभागका अनुसार इजरायल सरकारले केयर गिभर भिसामा लैजान सहमति भएका एक हजार एक सय ७५ नेपाली कामदारमध्ये ५६ कामदार इजरायल रोजगारीमा जान पाएका छैनन् ।

रोकिएका कामदारका विषयमा विभाग र श्रम मन्त्रालयले इजरायलसँग बारम्बार सोधपुछ गरिरहेको विभागका निर्देशक सुनुवारले बताए । तर, इजरायलले सम्बन्धित क्षेत्रबाट नै कामदारको माग नभएकाले रोकिएको जवाफ दिएको उनले बताए । बाँकी रहेका कामदारलाई इजरायल पठाउन विभागले सक्दो प्रयास गरिरहेको उनको भनाई छ ।

त्यस्तै, ७० जना नेपाली कामदार इजरायल रोजगारीका लागि अयोग्य भएका छन् । भाषा र सीप परीक्षामा उत्तीर्ण भए पनि यी कामदार मेडिकल परीक्षणमा असफल भएका हुन् । त्यस्तै, केही कामदारले नक्कली कागजपत्र बुझाएका कारण विभागले अस्वीकृति गरेको विभागका निर्देशक सुनुवारले बताए । इजरायल केयर गिभरका लागि सुरुमा पाँच सय कामदारको माग गरेको थियो । पछि यो संख्या बढाएर हजार पुग्यो । गोलप्रथाबाट भने उत्तीर्ण भएकामध्ये एक हजार एक सय ७५ जना नेपाली कामदारको छनोट गरेको थियो । जसमध्ये हालसम्म एक हजार १९ नेपाली कामदार इजरायल पुगिसकेका छन् ।

Published on: 18 November 2022 | Naya Patrika

Link

Back to list

;