s

जागिरको प्रलोभनमा मानव तस्करी

पवन पौडेल

क्याम्बोडिया ६ नेपाली अलपत्र

वैदेशिक रोजगारीमा कम्बोडिया पुगेका ६ नेपाली अलपत्र परेका छन्। क्यासिनोमा आकर्षक तलबमा काम लगाइदिने प्रलोभनमा दलालमार्फत त्यहाँ पुगेका तनहुँ ऋषिङका पाँचसहित ६ जना कम्बोडिया मा अलपत्र परेका छन्। उनीहरू सीमावर्ती सहर सिमरिपका नेपाली मूलको आश्रयमा छन्।

दलालको प्रलोभनमा परेर कम्बोडिया जानेमा ऋषिङ गैह्राथोकका जंगबहादुर थापा, मचदाङका रेशम थापा, चैनपुरका धनबहादुर राना र चालिसेका गोपाल थापासँगै काभ्रेलाञ्चोक महादेवस्थानका विनोद खरेल छन्।

प्युठान बरौला ३ घर भई ललितपुर २३ निवासी दुर्गाबहादुर गुरुङको साथमा उनीहरू बैंकक हुँदै असार २५ गते त्यहाँ पुगेका थिए। सिमरिपमा एक रात बसेका उनीहरूसँग एजेन्ट गुरुङले क्यासिनोमा सेक्युरिटी गार्डमा मासिक ९ सय ७० डलरमा काम लगाउने सम्झौता गराएका थिए। गुरुङ भोलिपल्टै बेपत्ता भएपछि युवाले आफू ठगिएको थाहा पाएका हुन्। सबै युवा ऋषिङ गैह्राथोक घर भई हाल व्यास–७ कलेस्ती बस्दै आएका धनबहादुर रानामार्फत गुरुङको सम्पर्कमा पुगेका थिए।

राम्रो रोजगारीको अवसरमा रहेका जंगबहादुरसँग चिनजानमा रहेका धनबहादुरले राम्रो अफर रहेको भनेर फोन गरेपछि उनले गाउँका अरू युवालाई पनि लिएर कम्बोडिया उड्ने तयारी गरेको बताए। कम्बोडिया मा व्यवसाय सञ्चालन गरिरहेकी व्यास १४ की रजनी थापाको आ श्रयमा रहेका जंगबहादुरले अन्नपूर्णसँगको अनलाइन कुराकानीमा धनबहादुरबाट निरन्तर फोन आएपछि गाउँका युवालाई लिएर आफू पनि कम्बोडिया गएको बताए। ‘क्यासिनोमा आठजना चाहिएको छ, मासिक नौ सय डलर तलब हुन्छ भनेका थिए’, उनले भने। राम्रो कामको खबर पाएपछि काभ्रेका विनोद पनि उनीहरूको समूहमा मिसिएका थिए।

पीडित धनबहादुर रानाले नेपालका अर्का एजेन्ट धनबहादुरमार्फत १५ सय डलर सटहीसहित जनही दुई लाख ७० हजार रुपैयाँ नेपालमै बुझाएर कम्बोडिया उडेको बताए। ‘सेटिङ मिलाउने भनेर धनबहादुरको सहयोगमा पैसा बुझाएका हौं,’ उनले भने, ‘तर हामीसँगै उड्ने भनेका उनी भने घरमा नमिलेको भनेर उडेनन्।’ नेपालबाट बैंककसम्म पुगेका उनीहरुले कम्बोडिया पुग्न भने स्थलमार्ग प्रयोग गरेका थिए। कम्बोडिया पुगेकै दिन सम्पर्कमा आएका दुर्गाबहादुरले उनीहरूलाई कोराथामस्थित एचबी होटलमा राखेका थिए।

पीडित रेशमबहादुरका अनुसार सोही दिन राति युवकहरूलाई भेटेका दुर्गाबहादुरले आफूले भनेको भन्दा बढी तलब पाउने सुनाएका थिए। ‘हामीलाई नौ सय डलरमा काम लगाउने भनिएको थियो,’ उनले भने, ‘तर उसले तलब बढेको भन्दै नौ सय ७० डलरमा काम लगाउने भनेपछि हामी खुसी भयौं।’ लगत्तै कागजमा सम्झौता गराएर यसअघि भएको सहमतिअनुसार जनही ६ हजार डलर दुर्गाबहादुरले बुझेका थिए। ‘क्यासिनोमा हो, राम्रो काम हुन्छ। आज राम्रोसँग बस्नु म भोलि लिन आउँछु’ भनेर हिँडेका दुर्गाबहादुरले भोलिपल्ट इमोमा म्यासेज गरेर ‘धोका भयो त्यो मान्छेले फोन उठाएन, तिमीहरू थाइल्यान्ड हुँदै फर्कनू’ भनेर सम्पर्कविहीन भए। त्यसपछि मात्र आफूहरू ठगिएको थाहा पाएको रेशमले बताए।

‘भएभरको पैसा सबै उसैलाई दिएका थियौं,’ अर्का पीडित धनबहादुरले भने, ‘अब फर्कनु भनेर बेपत्ता भएपछि थाइल्यान्डको सीमासम्म पुग्यौं तर इमिग्रेसनले सिंगल इन्ट्री मात्र भएको भन्दै प्रवेश दिएन।’ उनीहरूले आफूसँग खर्च पनि सकिएकाले चाँडो पीडितमाथि कारबाही गरी घर फर्काउने वातावरण मिलाइदिन सरकारसँग आग्रह गरे। ‘हामी बिखर्ची भएका छौं। दोषीलाई कारबाही गरेर चाँडो घर फर्कन पाए हुन्थ्यो,’ उनले भने।

अलपत्रलाई नेपाली व्यवसायीको संरक्षण

अलपत्र परेपछि बल्ल युवाहरुले आफू ठगिएको भन्दै घरमा सन्देश पठाए। जंगबहादुरका आफन्त प्रेमबहादुरले आफ्नो चिनजानको सम्पर्कका आधारमा उनीहरु नजिकै रहेकी तनहुँकै रजनीसँग सम्पर्क गराएका थिए। ‘अलपत्र परेको सुनेपछि रजनीजीसँगको चिनजानका आधारमा उहाँले आ श्रय दिनुभएको छ,’ प्रेमबहादुरले भने। क्युरियो व्यवसाय गर्दै आएकी रजनी सिमरिपमा बस्छिन्। ‘नेपाली भाइहरु बेखर्ची भएर अलपत्र परेको थाहा पाएपछि बोलाएर मेरै फ्ल्याटमा कोठा दिएर राखेकी छु’, उनले भनिन्। उनले अलपत्र युवा फिर्तीका लागि गैरआवासीय नेपाली संघमार्फत सरकारसँग पहल गरिरहेको बताइन्। ‘दोषी पक्रेर फर्कने अवस्था नबन्दासम्म उहाँहरूलाई बस्ने व्यवस्था गरिदिएको छु,’ उनले भनिन्।

मानव तस्करीको जालो

मानव बेचबिखनमा संलग्नलाई हदैसम्मको कारबाही व्यवस्था छैन। यसरी ठगी गर्नेको पछाडि कारबाही नहुँदा विभिन्न मुलुकमा रोजगारीको लोभमा परेर नेपाली नागरिक ठगिएका छन्। स्थलमार्गबाट अमेरिका र युरोप लैजाने जालोजस्तै दलालले अन्य विभिन्न जालो बनिरहेका छन्।

खाडी र अफ्रिकी मुलुकमा युवती र युरोप–अमेरिकामा युवक/युवती दुवैलाई लालचमा पारेर ठगिरहेका अवस्थामा कम्बोडिया, भियतनाम, थाइल्यान्ड, लाओस, सिंगापुरमा पनि मानव तस्करी बढेको छ। युरोप पुग्ने लोभले लिबिया पुगेर अलपत्र परेकाहरु फर्किरहेको एक साता नहुँदै अहिले कम्बोडिया को घटना आएको हो। लिबियामा दुई साताअघि शरणार्थाी शिविरमा भएको आक्रमणमा परेर एक नेपाली युवाको मृत्यु भएको थियो।

दुर्गाबहादुरको ठगीको जालो

एनआरएनए कम्बोडिया ले दुर्गााबहादुरविरुद्ध ६ महिना अवधिमा ठगीका चारवटा उजुरी परेको भन्दै उनीमाथि कारबाहीका लागि सम्बद्ध निकायको ध्यानाकर्षण गरेको छ। उपाध्यक्ष लालबहादुर खड्काद्वारा जारी विज्ञप्तिमा उनीमाथि कारबाही माग गर्दै स्थानीय प्रहरीमा निवेदनसमेत दिएको उल्लेख छ। दुर्गाबहादुरविरुद्ध यसअघि नै महानगरीय प्रहरी परिसर ललितपुरमा ठगी गरेको भन्दै कारबाहीका लागि उजुरी परिसकेको वैदेशिक रोजगार विभागले जनाएको छ।

विभागको पत्रका आधारमा ललितपुर प्रहरीले खोजी गरे पनि उनी हालसम्म फरार छन्। ठगीका थप घटना सार्वजनिक भएपछि उनलाई पक्रन परराष्ट्र र गृह मन्त्रालयसँगै वैदेशिक रोजगार विभागमा पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए।

के भन्छन् नेपाली एजेन्ट धनबहादुर ?

अलपत्र परेका सबै पीडितले आफूहरू व्यास–७ कलेस्तीका बस्दै आएका ऋषिङ २ गैह्राथोकका धनबहादुर रानामार्फत कम्बोडिया पुगेको बताए पनि उनको परिवारले भने उनी एजेन्ट नभएको दाबी गरेको छ। ‘उहाँ पनि जान लाग्नुभएको थियो’, पत्नी नमुनाले भनिन्, ‘तर बालबच्चा साना भएकाले साथीहरूलाई सघाउन काठमाडौं जानुभएको हो। चिनजानका माध्यमबाट दुर्गाबहादुरले राम्रो काम छ भनेपछि साथीहरुलाई पनि खबर गरेर सघाउँदा यस्तो भयो।’ उनले पति बाहिर काममा गएको र मोबाइल नलागेको बताइन्। आफ्ना पतिले चार हजार रुपैयाँ लिएर काठमाडौं गएको र आउँदा रित्तै फर्केकाले कुनै पैसा नलिएको नमुनाले दाबी गरेकी छन्।

पीडितका आफन्त तथा ऋषिङ गाउँपालिकाका वडा सदस्य याम सारुले भने धनबहादुरलाई नै सेटिङका लागि भन्दै नेपालमा जनही दुई लाख ७० हजार बुझाएको दाबी गरे। ‘थाहा छैन भनेर उनी उम्कन मिल्दैन,’ उनले भने, ‘केही भए जिम्मा लिने सर्तमा उडेका हुन्।’

Published on: 20 July 2019 | Annapurna Post

Back to list

;