s

जाहेरी लिनै मान्दैनन् प्रहरी

पाँच लाख रुपैयाँ ठगेर दलाल फरार भएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रकम दिएको भौचर बोकेर जाहेरी दिन आएका नगरकोटका नुक्रबहादुर तामाङ।

काठमाडौं – छोरालाई विदेश पठाइदिन्छु भनेर पाँच लाख रुपैयाँ ठगेर दलाल फरार भएपछि नगरकोटका नुक्रबहादुर तामाङ १५ दिनअघि महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीमा जाहेरी दिन पुगे। भर्खर प्लस टु सकाएर बसेका छोराले विदेश जाने रहर गरेपछि उनले दलालमार्फत छोरालाई साइप्रस पठाउन तयार भएका थिए। दलालले दसैंको फूलपातीअवागै पठाउँछु भनेर आश्वासन दिएपछि उनले पाँच लाख रुपैयाँ ऋण खोजेर दलालाई बुझाएका थिए। तर भोलिभोलि भन्दै दलालले विदेश पठाउन झुलाउन थालेको पाँच महिना बित्यो। छोराले कमाएर पठाएपछि पुसभित्रै किस्ता तिर्छु भनेर सर्त राखेका तामाङ छोरा विदेश नजाँदै किस्ता तिर्ने बेला आएपछि छटपटाइरहेका छन्। दलाल अभिषेक सिंह भने फरार छन्। दलाल सम्पर्कमा नआएपछि तामाङ मेट्रोमा जाहेरी दिन पुगेका थिए। तर त्यहाँ प्रहरीले उनको जाहेरी लिन मानेन। भक्तपुरमै जाहेरी दिनुस् भनेर फर्कायो। ‘भक्तपुरमा दुई महिनाअघि नै जाहेरी दिन गएको थिएँ, अहिले हुँदैन पछि आउनुस् भनेर फर्कायो,’ उनले भने, ‘नजिकका एकजनाले मेट्रोमा जानुस् भनेका थिए, यहाँ त झन् जाहेरीले नै लिन मानेन।’ शंखमूलका अनिश उपे्रतीको कोठाबाट आइतबार ल्यापटप र १० हजार रुपैयाँ चोरी भयो। उनी महानगरीय प्रहरी परिसर काठमाडौंका जाहेरी दिन पुगे। तर उनको जाहेरी प्रहरीले लिन मानेन। बानेश्वर वृत्तमा जान सुझाव दिइयो। उप्रेती परिसरबाट सरासर बानेश्वर वृत्तमा आएर खोजतलास तथा उजुरी शाखाभित्र छिरे। जाहेरी दिन नपाउँदै प्रहरीले भन्यो, ‘यस्तो जाहेरी यहाँ लिँदैनौं, ल्यापटप र मोबाइल हराएको जाहेरी परिसरमै दिनुपर्छ।’ उपे्रती झन् अलमलिए। हराएको सामान फेला पर्ला भन्ने आसमा पुनः परिसर पुगे। दोस्रोपल्ट परिसर पुग्दा प्रहरीको हप्की खाएपछि उनी जाहेरी नदिई फर्किए। आइतबार टेकु परिसरमा भेटिएका उनले भने, ‘वृत्तमा गएको परिसर जानू भने परिसर गएको प्रहरीले झर्को मानेपछि फर्किएँ।’ दुई वर्षअघि ऋण लिएको व्यक्तिले म्याद नाघिसक्दा पनि पैसा फिर्ता नगरेपछि कुपण्डोलका राजेश अधिकारी जाहेरी दिन शुक्रबार महानगरीय प्रहरी परिसर जावलाखेलमा पुगे। उनको पनि परिसरले जाहेरी लिनै मानेन। घटनास्थलको नजिकको प्रहरी कार्यालयले जाहेरी लिन नमानेपछि उनी महानगरीय प्रहरी परिसर टेकुमा आए। त्यहाँ आएर उनले जाहेरी दिन खोजे तर प्रहरीले लिनै मानेन। त्यहाँको प्रहरीले नजिकको प्रहरी कार्यालयमा जाहेरी जानुस् भनेपछि उनी अलमलमा परे। ‘तीन लाखको कारोबार हो। दुई वर्षअघि चिनजानकै व्यक्ति उदय श्रेष्ठलाई दिएका थिएँ। उसले पैसा फिर्तै दिएन। प्रहरीकहाँ जाहेरी दिन गएको लिनै मानेन। सानातिना मुद्दा भनेर बेवास्ता गर्दा रहेछन्,’ उनले सुनाए। आफू ठगिएपछि प्रहरी प्रशासन गुहार्दै जाहेरी दिन पुगेका पीडित व्यक्तिले प्रहरीबाट भोगेका अनुभव साँच्चिकै तीता छन्। पीडितहरू अपराधीलाई कारबाहीको माग राख्दै प्रहरी प्रशासलाई गुहारे पनि प्रहरीले भने चासै दिँदैन। बरु यहाँ जानुस्, त्यहाँ जानुस् भनेर उल्टै पीडितहरूलाई नै घुमाउँछ। पीडित व्यक्तिका अनुसार प्रहरीले सानातिना अपराध भनेर जाहेरीलाई बेवास्ता गर्ने गरेको छ। ‘प्रहरीले पनि सानाठूला अपराध भनेर छुट्याउँदो रहेछ, थोरै रकम ठगेको छ भने त्यसलाई त्यति चासोका साथ लिँदो रहेनछ,’ एक पीडितले भने, ‘वैदेशिक रोजगारमा दलालले ठगेपछि तीन महिनाअघि परिसरमा जाहेरी दिएको प्रहरीले फाइल नै अघि बढाएको रहेनछ, फलोअपमा जाँदा उल्टै हप्काए।’ प्रहरीले आवश्यक सहजीकरण गर्न र जाहेरी लिन नमान्दा कानुनी र कारबाही प्रक्रिया नबुझेका सर्वसाधारणले दुःख पाउने गरेका छन्। परिसरका डिएसपी कृष्ण कुमार चन्दले क्षेत्राधिकार अनुसार प्रहरी कार्यालयहरुले काम गरिहरहेको दाबी गरे। उनले पीडितहरूले नजिकको प्रहरी कार्यालय छाडेर टाढाको प्रहरी कार्यालय रोज्दा अनावश्यक दुःख भोग्नुपरेको बताए। ‘सबै मुद्दा एकै ठाउँबाट हेर्न थालेपछि कार्यालयमा मुद्दाको चाप बढ्छ, त्यसकारण पनि प्रहरीले ठाउँ–ठाउँमा कार्यालय सञ्चालन गरेको हो, आफूलाई पायक पर्ने प्रहरी कार्यालयमा गएर पनि दुःख पाइयो भने मात्रै अरू कार्यालयमा आउनु राम्रो हो,’ उनले भने। उनका अनुसार पछिल्लो समय परिसरमा जाहेरी र मुद्दाको चाप बढेको छ। पीडितहरूले सोधीखोजी नगर्दा आफैं दुःख पाउने गरेका छन्। तर प्रहरीले संवेदनशील मुद्दालाई छिटो टुंगो लगाउन खोज्दा कतिपय साना मुद्दा लत्रिने गरेका हुन्।

Published on: 20 January 2020 | Nagarik

Link

Back to list

;