s

झन्डै ४ सय रोहिंग्या कपनको लसुनटारमा, थोरै थोरै संख्यामा छिरेर धेरै बने

 शिवहरि घिमिरे 

थोरै थोरै संख्यामा नेपाल छिरेका रोहिंग्या शरणार्थीको संख्या झन्डै ४ सय पुगेको छ । उनीहरू अहिले काठमाडौंको कपनस्थित लसुनटारमा बस्दै आएका छन् । म्यानमारमा रोहिंग्यामाथि दमन भएपछि शरणार्थीको रूपमा ठूलो संख्यामा बंगलादेश प्रवेश गरेका थिए । तिनीहरूमध्ये केही भारत हुँदै नेपाल आएका थिए । शरणार्थीको रूपमा नेपाल छिरेका उनीहरूले उक्त ठाउँलाई आफ्नो इलाकाजस्तै बनाइसकेका छन् । बर्माबाट लखेटिएको बताउँदै नेपालमा आश्रय लिन खोजेका उनीहरूको संख्या झन् झन् बढ्दो छ । ६ दिन अघि मात्रै १४ जना रोहिंग्या नेपाल आएका छन् । यसअघि ३ सय ७० जना भन्दा बढी रोहिंग्या नेपालमा आइसकेका थिए । उनीहरू आफ्नै खर्चमा कपनमा जग्गा भाडामा लिएर टहरा निर्माण गरी बस्दै आइरहेका छन् । 

नेपाल प्रहरीको तथ्यांकअनुसार उनीहरूमध्ये १ सय २ जना पुरुष, ७७ जना महिला र १ सय ८० जनाभन्दा बढी बालबालिका रहेका छन् । उनीहरूमध्ये केही करिब ५ वर्षदेखि यस क्षेत्रमा बसोबास गर्दै आइरहेको प्रहरीले जनाएको छ । सुरुमा थोरै संख्यामा नेपाल छिरेका उनीहरूको संख्या कसरी बढ्दै गयो ? यसबारे नेपाल प्रहरीलाई समेत थाहा छैन । प्रहरीले नेपाल छिर्ने स्थलमार्गहरूमा कडाइ नगर्दा हिँडेरै भए पनि रोहिंग्याहरू राजधानीसम्म आइपुगेका हुन् । नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले संयुक्त राष्ट्रसंघीय उच्चआयुक्त कार्यालय (युएनएचसिआर) मा सूचीकृत भएर केही रोहिंग्या शरणार्थीहरू नेपालमा बसे पनि केही अवैध रूपमा नेपाल छिरेर बस्दै आइरहेको बताए । ‘खुला सिमानाको फाइदा लिँदै धेरैजसो लुकीछिपी नेपाल आएका छन्,’ उनले भने,  ‘केही व्यक्तिलाई सम्पर्क सूत्र, बिचौलियाले पनि ल्याएर छाडेको अवस्था छ ।’ उनले यसबारेमा सरकारले थप चासो नदिए शरणार्थीको संख्या बढ्ने र व्यवस्थापनमा समस्या हुने बताए । संयुक्त राष्ट्रसंघीय उच्चआयुक्त कार्यालय (युएनएचसिआर) का अनुसार पनि नेपालमा बसोबास गर्दै आइरहेको रोहिंग्याको संख्या बढेको छ । यहाँ बसेकामध्ये केहीले अनुमति नलिई अवैध रूपमा बसोबास गर्दै आइरहेका छन् । झन्डै तीन सय रोहिंग्याहरूको रेकर्ड युएनएचसिआरसँग छ । अन्य रोहिंग्याहरू अवैध रूपमा बसेका छन् । उनीहरू अवैध तवरले लुकीछिपी नेपाल भित्रिएको हुन सक्ने युएनएचसिआरले जनाएको छ । उनीहरू रङ लगाउने तथा निर्माणका काममा सहभागी हुँदै आएका छन् । 

गृह र अध्यागमन विभागमा तथ्यांक नै छैन

यति धेरै रोहिंग्या कपनमा बसोबास गर्दै आइरहेको भए पनि अध्यागमन विभाग र गृह मन्त्रालयले तिनको व्यवस्थापनमा कुनै चासो दिएका छैनन् । उनीहरूको संख्या र व्यक्ति विवरणको रेकर्ड राख्ने, बासको व्यवस्था गरिदिने, कारबाही तथा देश फर्काउन पहल गर्ने मुख्य जिम्मेवारी अध्यागमन विभाग र गृहकै भए पनि यी निकायले रोहिंग्याको तथ्यांकसमेत राखेका छैनन् । अध्यागमन विभागका प्रवक्ता झंकनाथ ढकालले यसबारेमा विभागलाई जानकारी नहुने बताए । उनले भने, ‘यसबारेको सूचना हामीलाई जानकारी छैन, रोहिंग्याहरू नेपालमा पहिलेदेखि नै बस्दै आएका हुन्, अहिले पनि आए भन्ने सुनिएको छ, उनीहरूमाथि अनुसन्धान, कारबाही र व्यवस्थापन गर्ने जिम्मा गृह मन्त्रालयको हो ।’ उनले हालसम्म नेपाल छिरेका रोहिंग्याहरूको यकिन संख्या विभागसँग नभएको बताए । 

गृह मन्त्रालयले पनि रोहिंग्याहरूको तथ्यांक राखेको छैन । गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलले केही दिनअघि नेपाल आएका रोहिंग्याहरूमाथि अनुसन्धान भइरहेको बताए । उनले भने, ‘हालसम्म कति रोहिंग्या नेपालमा छन्, त्यसबारे जानकारी छैन, अस्ति मात्रै आएकाहरूमाथि अध्यागमन विभागले अनुसन्धान गरिरहेको छ।’ 

यही बसेकाहरूको सूत्रबाट प्रवेश गर्छन् रोहिंग्या

केही वर्षदेखि नेपालमा बस्दै आएका रोहिंग्याहरूले आफ्ना छिमेकी र साथीभाइलाई नेपाल ल्याउने गरेको पाइएको छ । नेपाली भाषा बोल्न जानेका र यहाँको स्थलमार्ग राम्ररी बुझेकाहरूले दलालमार्फत अन्य रोहिंग्यालाई झिकाउने गरेको प्रहरीको अनुमान छ ।  यहाँ बस्दै आएकाहरूको सूत्रबाट लुकीछिपी थप रोहिंग्याहरू नेपाल आएपछि उनीहरूको संख्या बढेको प्रहरीको भनाइ छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतले यसबारेमा थप अनुसन्धान र सोधपुछ भइरहेको बताए । उनले भने, ‘उनीहरू कसरी नेपाल छिरे भनेर सोध्दा स्थलमार्गबाटै आएको बताउँछन्, कतिपयले दलालले अरू नै देशमा लग्ने भनेर नेपाल पुर्‍याएको पनि प्रहरीलाई बताएका छन् ।  प्रहरीले समातेर केहीलाई अध्यागमन विभागको जिम्मा लगाउँछ ।’ उनले यसबारेमा अध्यागमन विभागले अध्ययन गरिरहेको बताए ।  

ठूलो समस्या बन्न सक्छ रोहिंग्या

अवैध रूपको प्रवेशलाई रोक्न नसक्ने हो भने सरकारलाई रोहिंग्या व्यवस्थापन थप चुनौतीपूर्ण हुने देखिन्छ । बिस्तारै बिस्तारै उनीहरूले आफ्नो संख्या बढाइरहेका छन् । कडाइ नगर्ने हो भने आगामी ५ वर्षमा हजारौँ संख्यामा रोहिंग्याहरू नेपाल छिर्ने अनुमान गरिएको छ । उनीहरूलाई नाका/सिमानाहरूबाट नै कडाइ गर्नुपर्ने सुरक्षा निकायका जानकारहरू बताउँछन् । नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लले सीमा र स्थलमार्गहरूमा कडाइ गर्नुपर्ने बताए । ‘नेपालमा खुला सिमाना छ त्यसैले भारतीय नाका हुँदै नेपाल छिर्नेको संख्या बढिरहेको छ, पछिल्लो समय धेरै रोहिंग्याहरू काठमाडौं आएका छन्, उनीहरू कसरी आए, कोमार्फत आए भन्नेबारे अध्ययन अवश्य गर्न जरुरी छ,’ उनले भने ।  

नेपाल प्रहरीले उनीहरू कोमार्फत आए भन्ने विषयमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीका प्रवक्ता कुँवरले बताए । ‘कोही न कोही सूत्रबाट उनीहरू नेपाल आएका हुन्, यहीँ बस्नेहरूले पनि बोलाएका हुन् सक्छन्,’ उनले भने, ‘अथवा कोही त्यस्तो बिचौलियाले उनीहरूलाई ल्याउँदै छाड्ने गरेको पनि हुन सक्छ।’ 

प्रहरीलाई समेत पत्तो छैन 

पाँच दिनअघि झापाको काँकडभिट्टा सीमा हुँदै १४ जना रोहिंग्या शरणार्थी नेपाल छिरे । उनीहरू काठमाडौं आएपछि मात्रै प्रहरीले पत्तो पायो । प्रहरीले उनीहरूलाई बौद्धबाट पक्राउ गरेको थियो । तर, उनीहरू यहाँसम्म कसरी आए भन्नेमा प्रहरीलाई जानकारी नै भएन । प्रहरीले सोधपुछका क्रममा उनीहरूले पूर्वको झापा काँकडभिट्टा हुँदै नेपाल आएको बताएका छन् । कतै पैदल हिँडेर र कतै गाडीमा चढेर काठमाडौंसम्म आइपुगेको उनीहरूले प्रतिक्रिया दिएका छन् । प्रहरीका

अनुसार कतिपयलाई दलालहरूले राम्रो देश पुर्‍याउने भन्दै रकम लिएर नेपाल ल्याएर छाडेर भाग्ने गरेको पनि भेटिएको छ । सुरक्षित बास खोज्दै हिँडेका उनीहरूलाई दलालले नै काठमाडौं पुर्‍याएको प्रहरी स्रोतको दाबी छ ।

Published on: 17 September 2021 | Nayapatrika

Link

Back to list

;