s

काठमाडौंको चार आना जग्गा बेचेर गएको टर्कीमा आफू नै बेचिएपछि...

करिब डेढ वर्षअघि गोंगबुको नयाँ बसपार्कस्थित टिकट काउन्टरमा काम गर्ने एक पुरुषको स्कुटर दुर्घटनामा मृत्यु भयो। उनका दुई छोरा र एक छोरी छन्। सबै जना काठमाडौंकै एक घरमा डेरा गरी बस्थे। उनकै आम्दानीले जसोतसो घर धानिरहेको थियो।

दुर्घटनापछि घरमा समस्या पर्न थाल्यो। उनकी श्रीमती माया (नाम परिवर्तन) लाई छोराछोरी कसरी हुर्काउने भन्ने चिन्ता भयो। त्यही बेला बागलुङ ढोरपाटन नगरपालिका-४ की पूर्णिमा सिर्पाली बस्नेत उनीहरूको सम्पर्कमा आइन्। 

पूर्णिमा काठमाडौंको माछापोखरीमा डेरा गरी बस्थिन्। 

प्रहरीका अनुसार मायाको परिवार र पूर्णिमाबीच सामान्य चिनजान थियो। सोही चिनजान र उनीहरूको आवश्यकता बुझेर पूर्णिमाले माया र उनकी २२ वर्षीया छोरी सीमा (नाम परिवर्तन) लाई वैदेशिक रोजगारीका लागि टर्की जान सुझाइन्।

 

पूर्णिमाले उनीहरूलाई जनही १०/१० लाख मात्रै खर्चिने हो भने महिनाको ८०-९० हजार रूपैयाँ तलब पाइने प्रलोभन देखाइन्। मायाले घरमा आर्थिक समस्या भइरहेका बेला त्यही उपाय ठीक हुने ठानिन्। उनीहरूलाई १०-१० लाख जुटाउन पर्ने थियो। त्यसका लागि उनीहरूले बुढानिलकण्ठको चार आना जग्गा बेचे।

त्यही जग्गाबाट आएको पैसा दिएर उनीहरूले विदेशिने सोचे, पूर्णिमालाई पैसा बुझाए। 

'उनीहरूले पैसा पनि दिए। पूर्णिमा केही समय सम्पर्कविहीन नै भइन्,' नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोकी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दुर्गा सिंहले भनिन्, 'त्यसरी सम्पर्कविहीन भएपछि पनि हामी विदेश जाँदैनौं। पैसा फिर्ता देओ भनेर भनेछन्।'

तर पूर्णिमाले भनिछन्- तिमीहरूको टर्की जाने कार्ड बनिसकेको छ। अब जानै पर्छ।

ब्युरोका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) ढुण्डिराज न्यौपानेका अनुसार पूर्णिमाका बुवा पनि विदेशमै थिए। माया र सीमा दुवै विदेशिन तयार भएपछि पूर्णिमाले उनीहरूलाई आइएमओमार्फत बुवासँग सम्पर्क गराइदिइन्। 

पूर्णिमाको बुवाले भनेअनुसार नै उनीहरूले काठमाडौंको ताहाचलस्थित श्रम कार्यालयबाहिर काम गर्ने जीवन भट्टसँग भेटे। जीवनले पनि माया र सीमासँग टिकटलगायत विभिन्न कागजात तयार पारेबापत् ५३ हजार रुपैयाँ लिए। त्यसपछि दुवै गत असोज २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्किस एयरलाइन्समार्फत् टर्की पुगे। 

टर्की पुगेपछि माया र सीमाले पूर्णिमाका बुवालाई भेटे। उनले पनि आश्वासन दिए- काममा लगाइदिन्छु। उनीहरू ढुक्कै थिए। तर तीन दिनसम्म कोठामै थुनिएपछि सीमा नेपाल फर्किन चाहिन्। पाइनन्।

काममा लगाउने भन्दै टर्कीको बोर्डरमा पुर्‍याएर २ हजार लिरा (टर्कीको मुद्रा) पूर्णिमाको बुवाले आफूहरूलाई बेचेको माया र सीमाले सुइँको पाए। अरूलाई पनि त्यसरी नै पूर्णिमाको टोलीले बेच्ने गरेको थाहा पाए।

मानव बेचबिखनमा परेको थाहा पाएलगत्तै राजदूतावाससँग समन्वय गरी सीमा नेपाल फर्किइन्। उनी गत मंसिर ८ गते नै नेपाल फर्किएको ब्युरोले जनाएको छ। छोरी आएपछि उनकै सहयोगमा आमा पुस २६ गते नेपाल फर्किइन्। 

नेपाल फर्किएर उनीहरूले प्रहरी कार्यालयमा आफूहरू मानव बेचविखनमा परेको भन्दै जाहेरी दिए। 

सोही जाहेरीको आधारमा प्रहरीले पूर्णिमा सिर्पाली बस्नेत र जीवन भट्टलाई पक्राउ गरेको छ। प्रहरीले मंगलबार काठमाडौंको सोल्टीमोडबाट भट्टलाई पक्राउ गरेको हो भने पूर्णिमालाई माइतीघरबाट बुधबार पक्राउ गरेको हो।  

ब्युरोकी प्रमुख एसएसपी दुर्गा सिंहका अनुसार उनीहरू यसरी नै धेरै मानिसहरूलाई बेचेको आशंका गरिएको छ। प्रहरीले अन्य धेरैलाई पनि प्रलोभनमा पारेर रकम उठाएको अनुसन्धानबाट पाएको छ। त्यसैअनुसार प्रहरीले पीडितहरूलाई सम्पर्कमा ल्याउने लगायतको अनुसन्धान अघि बढाएको छ।

'अरूलाई पनि यसरी नै ठगेको हुनसक्ने भनेर हामीले पीडितहरूको खोजी गरिरहेका छौं,' एसएसपी सिंहले भनिन्, 'आमाले अहिले बरू जग्गा बेचेको पैसाले नेपालमै किराना पसलमात्रै खोले पनि पैसा कमाइन्थ्यो किन विदेश गएँ भन्दै थिइन्।'

प्रहरीले पूर्णिमा र जीवनमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार अनुसन्धान गरिरहेको छ।

Published on: 26 February 2021 | Setopati

Link

Back to list

;