s

कोरियामा एक नेपालीको मृत्यु

गोकुल थोकर

सोल — दक्षिण कोरियामा एक नेपालीको औद्योगिक दुर्घटनामा मृत्यु भएको छ । छुङ्छननाम्दोको छङयाङगुनको बंगुर फर्ममा कार्यरत लमजुङका इन्द्र गुरुङको शुक्रबार मृत्यु भएको हो ।

लमजुङ परिवार दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष मेघ वाइबाले ढलको पाइप मर्मतको क्रममा दुर्घटनामा परी गुरुङको मृत्यु भएको जानकारी दिए । ‘बंगुरको मलमूत्रबाट ग्यास निकाल्ने गरेको रहेछ । केही दिनदेखि त्यो पाइप बन्द भएकोले बनाउन जाँदा विषाक्त ग्यास निस्केर मृत्यु भएको अनुमान रहेछ । त्यहाँ सीसीटीभी पनि रहेनछ । थप कुरा अनुसन्धानपछि भन्न सकिने प्रहरीले बताएका छन्,’उनले भने । गुरुङसँगै काम गर्ने ३० वर्षीय कोरियालीको पनि सोही घटनामा मृत्यु भएको छ ।

दुई वर्षअघि पनि बंगुर फर्ममा काम गर्ने क्रममा विषाक्त ग्यासका कारण दुई जना नेपालीले ज्यान गुमाएकाथिए । कोरियाली मजदुर युनियनहरुले कामदारका लागि सुरक्षा माग्दै आए पनि सरकारले बेवास्ता गर्दै आएको छ । ‘कोरियामा ज्यान गुमाउने विदेशी धेरै छन् । औद्योगिक दुर्घटनामा रोजगारदाताको हेलचेक्र्याइँ मुख्य कारण हो । त्यसैले त्यस्ता रोजगारदातालाई कडा कारबही गरे धेरै कामदारको ज्यान बच्नसक्थ्यो,’ प्रवासी मजदुर युनियनका महासचिव मधुसुधन ओझाले भने ।

प्रत्येक वर्ष ८ हजारभन्दा बढी औद्योगिक दुर्घटना भएको कोरियाली श्रम मन्त्रालयको तथ्यांकले देखाउँछ ।

Published on: 19 September 2022 | Kantipur

Link

Back to list

;