s

मलेसियाबाट १२ शव आइपुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — वाइडबडी विमानको अभावले मलेसियामा रोकिएका १२ जना नेपाली श्रमिकका शव आइतबार स्वदेश ल्याइएको छ । उनीहरूको विभिन्न कारणले मलेसियामा मृत्यु भएको थियो । 

वैदेशिक रोजगार बोर्डका अनुसार महोत्तरीका देवेन्द्रकुमार यादव, नवलपरासीका नुमबहादुर लुंगेली मगर, सर्लाहीका चन्द्रकुमार साह, गोरखाका मेघबहादुर कुँवर र सूर्य विकको शव आइपुगेको हो । 

यसैगरी भोजपुरका भूपाल पाण्डे, पाँचथरका सूर्यबहादुर चौहान, सुनसरीका विष्णु राजधामी र महेन्द्रप्रसाद मेहता, बागलुङका चन्द्रबहादुर विक, बाँकेका विनय कहर र झापाका उज्ज्वल भुजेलको शव आइपुगेको छ । 

स्वदेश आइपुगेका श्रमिकको शवलाई श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । 

‘कस्तो दुःखद अवस्था । वैदेशिक रोजगारीमा मलेसिया गएका नेपाली युवाहरूमध्ये १२ जनाको शव एकै दिन त्रिभुवन विमानस्थल आइपुग्यो । तीमध्ये गोरखा सिरानचोक ५ का सूर्य विक (२८ वर्ष) र गोरखा नपा १२ का मेघबहादुर कुँवर (२७ वर्ष) को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँसु थामिन्थ्यो र,’ भट्टराईले ट्वीटरमा लेखेका छन् ।

Published on: 5 April 2021 | Kantipur

Link

Back to list

;