s

नयाँ जुक्ति लगाउँदै युवती तस्करी

भारतका कतिपय क्षेत्रमा दसैंका बेला मानव बलि दिने चलन कायमै रहेकाले तस्करहरु सक्रिय भएको प्रहरीको आशंका

जितेन्द्र शाह, मातृका दाहाल

विराटनगर, काठमाडौं — ‘राम्रो काम त छैन,’ एक युवक १९ वर्षीय किशोरीसँग भन्छन् । किशोरी लजाएजस्ती देखिन्छिन् । त्यसपछि युवक फित्ताले उनको उचाइ नाप्न थाल्छन् । किशोरी तनक्क तन्किएर उभिन्छिन् । उचाइ ५ फिट ६ इन्च देखिन्छ । युवकले हात देखाउन लगाउँछन् ।

किशोरी दाहिने हातका औंला फिँजाएर देखाउँछिन् । युवकले अर्को हात पनि देखाउन लगाउँछन् । उता अर्को व्यक्ति भिडियो र फोटो खिचिरहेको हुन्छ । नापजाँच सकिएपछि किशोरीलाई कालो कपडा लगाउनुपर्ने सर्त राखिन्छ । अर्की युवतीको पनि यसैगरी नापजाँच हुन्छ । कान्तिपुरलाई प्राप्त १ मिनेट ३ सेकेन्डको यो भिडियोमा केका लागि शरीर नापजाँच गरिँदै छ भन्ने खुल्दैन ।

सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीले शंका लागेर सुनसरीको कोसी गाउँपालिका–८ भन्टाबारीबाट दुई युवालाई पक्राउ गरेर खानतलासी गर्दा उक्त भिडियो बरामद भएको हो । बुधबार धानखेतबाट दगुर्दै दसगजा कटेका कृष्णसवरन गाउँपालिका–४, बनौलीका मोहम्मद साहिल मन्सुरी र सिरहाको लाहान नगरपालिका–१९, कटाहका २९ वर्षीय जीवछकुमार साह पक्राउ परेका हुन् । उनीहरूसँगै नापचाँज गरिएका किशोरी र युवती पनि थिए । प्रसिद्ध बाबाको दर्शन गर्ने र पूजामा सहभागी भएबापत ४ लाख रुपैयाँ दिने प्रलोभन देखाएर सप्तरीका ती दुईलाई भारत लैजान लागिएको खुलेको छ । सशस्त्र प्रहरीले चारै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाएको छ ।

भान्टाबारीकै जस्तो घटना असोज ४ गते मोरङको रानीमा भयो । आफू बेचिन लागेको आशंकामा सुनसरीकी १७ वर्षीया किशोरी रानी नाकामा मानव तस्करले छोपेर राखेको अटोरिक्साबाट असोज ४ गते हाम फालेर भागिन् । कुमारी भएकीले पूजामा सहभागी भए ५ हजार रुपैयाँ दक्षिणा र नयाँ मोबाइल दिने प्रलोभन देखाएर ती किशोरीलाई भारत लान खोजिएको थियो । उनलाई यसरी लानुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । यो घटनामा पक्राउ परेका एक अभियुक्तले बयानमा यो अपराधमा भारत विहारको सहरसा जिल्लाको झिटकैयामा रहेका निर्माण व्यवसायी उनका भिनाजु रन्धीर मण्डल र भिनाजुकै भाइ वीरेन्द्रको समेत संलग्नता छ । फारबिसगन्ज पुर्‍याएर ती किशोरीलाई भिनाजु र उनका भाइको जिम्मा लगाउने योजना रहेको ती अभियुक्तलाई बताएका छन् ।

यी दुवै घटनामा मानव तस्करहरूले नेपाली युवतीलाई भारतमा लगेर बेच्न धार्मिक कार्यक्रममा सहभागी गराउने कथा रचेको प्रहरीको आशंका छ । पैसा कमाउने महत्त्वाकांक्षाले उनीहरू फस्ने गरेका छन् । कतिपयलाई बलि दिनै पनि युवती फकाउन गिरोह गाउँगाउँ पसेको हुन सक्ने मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायतले कसैले ठूलो रकमको आश्वासन दिँदैमा लोभिनु नहुनेमा जोड दिए । ‘तस्करहरूले अपराधमा नयाँनयाँ उपाय खोजिरहेका हुन्छन् । अन्धविश्वास र कुरीतिको आडमा प्रलोभन देखाइएको हुन सक्छ, कोही–कसैले यस्तो प्रलोभन र आश्वासन दिए तत्काल प्रहरीमा खबर गर्नुपर्छ,’ उनले भने ।

गत वर्ष पुस १० गते एक युवतीलाई आर्थिक प्रलोभन देखाएर भारत लैजान लागिएको सुइँको पाएपछि मोरङ प्रहरीको सहयोगमा महानगरीय प्रहरी परिसर काठमाडौंले ६ जनालाई पक्राउ गरेको थियो । त्यति बेला प्रहरीलाई ‘बलि दिन लैजाने तयारी भइरहेको’ भन्ने सूचना आएको थियो । गत वर्ष जेठ १५ मा धनुषाको मिथिला नगरपालिका–६ का ५५ वर्षीया सरुधन महतो अढाई वर्षीया शिशुको बलि दिएको अभियोगमा पक्राउ परेका थिए । शिशु हराएको भोलिपल्ट शव भेटिएको उक्त घटनामा अनसुन्धान गर्दा बलि दिएको खुलेको प्रहरीको भनाइ थियो । २०७५ असोजमा नवलपरासीको प्रतापपुरमा एक महिलालाई राति पूजा लगाएर बलि दिने तयारी भइरहेको सुइँको पाएपछि प्रहरी पुगेर संलग्नलाई नियन्त्रणमा लिएको थियो ।

पछिल्लो समय तस्करले किशोरी खोज्न बेरोजगार एवं विपन्न समुदायका युवायुवतीलाई प्रयोग गर्न थालेकाले चिन्ताको विषय भएको प्रहरीले जनाएको छ । अनुसन्धानमा संलग्नका अनुसार दसैंमा भारतको विहार, उत्तर प्रदेश, झारखण्ड र पश्चिम बंगालको ग्रामीण क्षेत्रमा कुमारीलाई नरबलि दिने चलन कायमै छ । ‘तस्करले युवतीलाई भारतमा पुर्‍याएर वेश्यावृत्तिमा लगाउन वा नरबलिका लागि फकाएको हुन सक्छ, यसबारे भारतीय सुरक्षाकर्मीसँग समन्वय गरेर अपराधको जरोसम्म पुग्ने प्रयासमा छौं,’ मोरङ प्रहरी प्रमुख खड्काले कान्तिपुरसँग भने ।

उद्धार गरिएका युवतीले दिएको बयानअनुसार भारत जान विवाहित भए न्यूनतम ६ फिट उचाइ र अविवाहित भए ५ फिट २ इन्च हुनुपर्ने सर्त राख्ने गरिएको छ । मोरङका प्रहरीका प्रवक्ता डीएसपी कविन्द्र कार्कीले यस्तो अपराधमा संलग्न र हराइरहेका युवती तथा किशोरीको विवरण संकलन भइरहेको जानकारी दिए ।

रानीको पहिलो घटनापछि सचेत भएकाले दोस्रो घटनामा सीमामा खटिएका भारत तथा नेपालका सुरक्षाकर्मीले समन्वय गरेर अनुसन्धान गर्दा थप दुई युवती बेचिनबाट जोगिएको प्रहरीले जनाएको छ । ‘पूजामा सहभागी भएर फर्कने भन्ने भरोसा दिएर भारत लानु मानव बेचबिखनको नयाँ तरिका हो,’ मोरङ प्रहरी प्रमुख खड्काले भने, ‘महिला तथा बालबालिका कुनै खाले उपहार तथा नगदको प्रलोभनमा पर्नु हुँदैन । समाज र अभिभावक पनि सचेत हुनुपर्छ ।’ लामो समयदेखि नेपाल प्रहरीको अपराध अनुसन्धानमा एसपी खड्का संलग्न छन् ।

सामाजिक अभियन्ता विवश श्रेष्ठले धार्मिक कार्यमा सहभागी हुँदैमा लाखौं रुपैयाँ मिल्ने आश्वासन दिनुले नै स्वतः शंका उब्जाउने बताउँछन् । ‘पूजामा मात्र सहभागी हुँदा लाखौं रुपैयाँ त कसैले पनि दिँदैन,’ उनले भने, ‘पूजा र दर्शन बहाना मात्र हो ।’ उनले कतिपय सर्कसमा समेत लाने गरेको पाइएको बताए । श्रेष्ठ आबद्ध संस्थाले पछिल्ला पाँच वर्षमा मात्र विराटनगर–रानी नाकाबाट ४ सय ३६ जना युवतीको उद्धार गरेको छ ।

चेलीको उद्धार गरिएको छ । समाजशास्त्री मुकेश सिंहले आर्थिक रूपमा सम्पन्नलाई मात्र सम्मान दिने संकीर्ण सामाजिक सोचले गर्दा नैतिकता बिर्सेर युवा पिढी धन कमाउने छोटो मार्गमा लाग्दा यस्ता अपराधहरू बढ्दै गएको बताउँछन् ।

Published on: 8 October 2020 | Kantipur

Link

Back to list

;