s

नेपाल र ओमान सरकारबीच प्रवेशाज्ञा छुट सम्झौता : प्रवेशाज्ञाविना ९० दिनसम्म एक-अर्काको देशमा प्रवेश गर्न सकिने

नेपाल र ओमान सरकारबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानीबाहकलाई एक–अर्काको देशमा प्रवेशाज्ञा छुट दिने सम्झौता भएको छ । सोमबार ओमानको परराष्ट्र मन्त्रालयमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार सो राहदानीबाहक दुवै देशका नागरिकले एक–अर्काको देशमा प्रत्येकपटक प्रवेश गरेको मितिदेखि ९० दिनसम्म प्रवेशाज्ञा नलिकन ट्रान्जिटका रूपमा रहन, बस्न तथा त्यहाँबाट प्रस्थान गर्न सक्नेछन् ।

सम्झौतामा नेपाल सरकारको तर्फबाट ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र ओमानको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव महोम्मद विन नासिर विन मोहम्मद अल वहेबिनले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात् ओमान र नेपालबीच हुने द्विपक्षीय औपचारिक भ्रमण, ट्रान्जिट भ्रमणलगायत अन्य गतिविधिहरू बढाउन सहयोग पुग्नेछ । त्यसैगरी, पछिल्लो समयमा ओमान अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त ट्रान्जिटका रूपमा विकास भइरहेको सन्दर्भमा श्रमलगायत अन्य विविध गतिविधिहरूका लागि ओमानमा हुने भ्रमणहरूमा समेत सम्झौताले सहजीकरण गर्नेछ ।

हस्ताक्षर कार्यक्रमपछि आ–आफ्ना धारणा राख्दै महामहिमहरूले प्रवेशाज्ञामा सहजीकरण भएसँगै दुवै देशले आपसी सम्बन्धका विविध आयामहरूलाई थप गतिशील र सक्रिय बनाउनुपर्ने विषयमा जोड दिए ।

सो अवसरमा महामहिमहरूले कोरोनाको प्रभावका बाबजुद पनि देशहरूले अर्थतन्त्रलाई चलायमान बनाउन सबैले रचनात्मक तथा नवप्रवर्तनात्मक क्रियाकलापमा जोड दिनुपर्ने विचार राखेका थिए । यसैगरी, छलफलमा द्विपक्षीय लगानी प्रवद्र्धन, पर्यटन प्रवद्र्धन एवं आपसी हितका विषयहरू पनि समावेश भएका थिए ।

Published on: 20 October 2020 | Naya Patrika

Link

Back to list

;