s

परराष्ट्र मन्त्रालयकै नक्कली लेटरहेड र छाप बनाएर करोडौँ ठगी

कुपन्डोलका मनोज भनिने अनुपकुमार सिंहलाई नक्कली कागजात बनाएर ठगेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनले वर्किङ भिसामा अमेरिका र युरोपका विभिन्न मुलुक पठाउने भन्दै ठगी धन्दा चलाउँदै आएका थिए । असनस्थित उनको कार्यालयमा छापा मार्दा परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार विभाग र नेपालस्थित बेलायती दूतावासमातहतको कन्सुलेट कार्यालयको नक्कली लेटरहेड तथा छाप बनाएर ठगेको पाइएको छ । उनले पटक–पटक गरेर ३५ देखि जनालाई ठगेको अनुमान छ ।

सरकारको दाबी छ– अपराध नियन्त्रणमै छ । तर, अपराधी र ठगको हौसला बुलन्द तथा आत्मबल उच्च छ । उनीहरूलाई कानुन र प्रहरीकै कुनै डर छैन । कुपन्डोलका मनोज भनिने अनुपकुमार सिंहको ठगी धन्दाले त्यही भन्छ । तीन दिनअघि पक्राउ परेका सिंहमाथि पाँच दिनको म्याद थपेर प्रहरी अनुसन्धान जारी छ ।

युरोप र अमेरिका लैजाने प्रलोभनमा एक करोड रुपैयाँभन्दा धेरै ठगी गरेको अभियोगमा प्रहरीले सिंहलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनले वर्किङ भिसामा अमेरिका र युरोपका विभिन्न मुलुक लैजाने प्रलोभनमा ठगी धन्दा चलाउँदै आएका थिए । असनस्थित उनकै कार्यालयमा छापा मारेपछि ठगी गर्ने खेल बाहिर आएको हो ।

आफ्नो ठगी कर्म अगाडि बढाउन सिंहले परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार विभागको नक्कली लेटरहेड तथा छाप बनाउँथे । यतिले मात्र नभई युवालाई फसाउन उनले नेपालस्थित बेलायती दूतावासमातहतको कन्सुलेट कार्यालयको समेत नक्कली लेटरहेड तथा छाप बनाएका थिए । यसका आधारमा उनले पटक–पटक गरेर ३५ देखि जनालाई ठगेको अनुमान छ ।

काठमाडौं परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले उनलाई सरकारी कार्यालयको नक्कली लेटरहेड र छापसहित पक्राउ गरिएको बताए । ‘ठगिएको जाहेरी परेको थियो । त्यसपछि उनी पक्राउ परेका छन् । उनको कार्यालयमा छापा मार्दा परराष्ट्र मन्त्रालयका नक्कली छाप र लेटरहेड भेटियो,’ प्रवक्ता राठौरले भने, ‘कागजपत्रमा आफैँले हस्ताक्षर गर्ने रहेछ । छाप पनि आफैँ लगाउँदो रहेछ । घटना सम्बन्धमा थप अनुसन्धान हुँदै छ ।’

असनस्थित कार्यालयमा छापा मार्दा प्रहरीले विभिन्न सरकारी कार्यालयको छाप र लेटरहेड बरामद गरेको थियो । प्रहरीका अनुसार उनले बेलायती सरकारमातहतको श्रम मन्त्रालय र नेपाल सरकारमातहतको श्रम मन्त्रालयबीच श्रम सम्झौता भएको नक्कली कागजात बनाउने गर्थे ।

श्रमिकका लागि परराष्ट्र मन्त्रालयमार्फत बेलायतबाटै माग आएको भन्दै आफैँ नक्कली मागपत्र बनाउँथे । पत्रमा मजदुरका लागि निर्धारण भएर आएको पारिश्रमिक पत्रसमेत देखाउँथे । सम्पर्कमा आएकालाई सोही पत्र देखाउँथे । जान चाहनेसँग आवश्यक सबै कागजपत्र माग्थे ।

केही महिनापछि कागजपत्र बुझाउनेलाई फोन सम्पर्क गरेर बोलाउँथे । भिसा आएको भन्दै नेपालस्थित दूतावासका कर्मचारीको हस्ताक्षर र छाप हानिएको कागजपत्र उनीहरूलाई दिन्थे । यसबापत उनले प्रतिव्यक्ति न्यूनतम १६ लाख रुपैयाँ लिएको प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रहरीले उनको कार्यालयबाट बेलायती सरकारमातहतको श्रम मन्त्रालय र नेपाल सरकारको श्रम मन्त्रालयबीच सम्झौता भएको भन्दै होटेल मिडल्यान्डका लागि मजदुर माग गरिएको मागपत्र बरामद गरेको छ । नेपाल सरकारको परराष्ट्र मन्त्रालयको लेटरहेडमा उल्लेखित मागपत्रमा वैदेशिक रोजगार विभागका उपसचिव सञ्जय रावलको हस्ताक्षर छ । सँगै नेपालस्थित बेलायती दूतावासमातहतको कन्सुलेट अफिसको छापसमेत पत्रमा छ ।

‘यसले विदेशका विभिन्न मुलुकबाट श्रमिक माग भएको भन्दै आफैँ हस्ताक्षर गर्ने रहेछ । लेटरहेडदेखि छापसमेत आफैँ बनाउँदो रहेछ । भ्रममा परेका सर्वसाधारणबाट यसले १६ लाख रुपैयाँसम्म असुल गरेको पाइएको छ,’ परिसर प्रवक्ता एसपी राठौरले भने, ‘अहिलेसम्म हामीकहाँ दुई पीडितको जाहेरी परेको छ । जाहेरी आउने क्रम जारी छ । त्यसो हुँदा यसले धेरैजनाबाट ठूलो रकम ठगेको हुन सक्छ । अनुसन्धान जारी छ ।’

प्रहरीका अनुसार अहिले मनोज अधिकारी र रामकृष्ण खत्रीको जाहेरी परिसरमा परेको छ । पीडितमध्ये अधिकारीलाई बेलायत र खत्रीलाई अमेरिका लैजाने प्रलोभन दिएको थिए । यसका लागि अधिकारीले साढे १६ लाख रुपैयाँ र खत्रीले पनि १५ लाख रुपैयाँभन्दा धेरै रकम बुझाइसकेका छन् । पक्राउ परेका सिंहविरुद्ध सरकारी कागजात किर्ते, ठगी र चेक बाउन्सको मुद्दा चल्ने परिसरका प्रवक्ता एसपी राठौरले बताए ।

उनले भने, ‘सरकारी कागजात किर्ते गरेको छ । त्यस्तै यसले काटेको चेक पनि बाउन्स भएका छन् । त्यसो हुँदा यसलाई सरकारी कागजात किर्ते, चेक बाउन्स र ठगी मुद्दाअन्तर्गत म्याद थप भएर अनुसन्धान भइरहेको छ ।’

Published on: 16 September 2020 | Naya Patrika

Link

Back to list

;