s

फिलिपिन्समा बन्धक ६९ नेपालीको उद्धार

काठमाडौँ — मानव तस्करीको गिरोहले फिलिपिन्स पुर्‍याएका ६९ जना नेपालीलाई त्यहाँको प्रहरीले उद्धार गरेको छ । भिजिट भिसामा पुगेका उनीहरूलाई बन्धक बनाई अनलाइन ठगी धन्दामा लगाउने गरेको पनि खुलेको छ ।

राजधानी मनिलाबाट करिब सय किमि दूरीमा रहेको पामपान्गाको क्लर्क फ्रिपोर्टस्थित क्लर्क सन भ्याली हब कर्पोरेसन र मावालाकटस्थित विशेष आर्थिक क्षेत्रमा छापा मारेर ६९ नेपालीसहित १ हजार १ सय ३७ जना विदेशीलाई उद्धार गरिएको हो । अनलाइनमार्फत ठगी धन्दा गर्न लगाउने १२ जना पनि पक्राउ परेका छन् । बन्धक बनाइएकामा नेपालसहित भियतनाम, चीन, इन्डोनेसिया, मलेसिया, म्यान्मार, थाइल्यान्ड, भुटान, भारत, ताइवान र भारतका नागरिक थिए । उनीहरू अहिले प्रहरीको आश्रयमा छन् ।

फिलिपिन्स मामिला हेर्ने मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार उद्धार गरिएका चार महिलासहितका नेपालीलाई टिकट प्रबन्ध मिलाई केही दिनमै नेपाल पठाउने तयारी भइरहेको छ । ‘उनीहरूको राहदानी फिलिपिन्स प्रहरीले राखेको छ,’ दूतावासका द्वितीय सचिव प्रेमबहादुर बुढा थापाले कान्तिपुरसँग भने, ‘दूतावासले ट्राभल डकुमेन्ट जारी गरी फिलिपिन्स पठाइसकेको छ ।’

मानव तस्करी गिरोहले उनीहरूलाई आकर्षक तलबमा कल सेन्टरमा काम लगाउने प्रलोभन दिएर त्यहाँ पुर्‍याएका थिए ।

उनीहरूलाई अनलाइनमार्फत अन्तर्वार्ता लिएर छनोट गरिएको थियो । ‘मलाई कम्पनीले ह्वाट्सएपबाट छनोट गरेको हो । महिनाको एक हजार डलर तलब, निःशुल्क होस्टल र खानाको व्यवस्था भनिएको थियो,’ उद्धार गरिएका एक नेपाली युवाले कान्तिपुरसँग भने, ‘हवाई टिकट पनि कम्पनीले नै पठाइदिएको थियो ।’ फिलिपिन्स पुगेपछि भने आफ्नो राहदानी जफत गरिएको उनले बताए । ‘हामीलाई कल सेन्टरको काम भनिएको थियो, त्यहींबाट मान्छेलाई फसाएर ठगी गर्ने कुरा पछि मात्रै थाहा पायौं,’ उनले भने, ‘मोबाइल दिइएको थिएन । आफ्नै कोठाको सहकर्मीसँग पनि बोल्न बन्देज थियो । गेटबाहिर जान रोक थियो । ड्युटी सकिएपछि क्याम्पमा लगेर छोडिने गरेको थियो । हामी त एक खालको बन्दी जस्तै थियौं ।’

अर्का नेपाली युवाले पनि काम छोड्न खोज्दा नदिइएको गुनासो गरे । ‘दैनिक १८ घण्टासम्म ग्राहक खोज्ने काममा लगाइन्थ्यो । ग्राहक भेटिएन भने करार रद्द गर्ने धम्की दिन्थ्यो । तलब कटौती गरिदिन्थ्यो,’ उनले भने, ‘तीन दिनसम्म बेड वा कुर्सीबिना कोठामा लगेर थुनेर राख्यो । दैनिक एक कप चाउचाउ र सानो बोतलको पानीको भरमा बस्नुपर्थ्यो ।’ उनका अनुसार अपरिचित व्यक्तिसँग फर्जी ‘रोमान्टिक अनलाइन रिलेसन’ बनाउन तालिम दिइन्थ्यो । त्यसपछि क्रिप्टोकरेन्सी किन्न लगाउने र फर्जी बैंक खातामा रकम जम्मा गर्न लगाइन्थ्यो । त्यहाँ उनीहरूसँगै दुई सयभन्दा बढी इन्डोनेसियाका नागरिक पनि काम गर्थे । मनिलास्थित इन्डोनेसियाको दूतावासमा गोप्य उजुरी परेपछि राजदूतले प्रहरीलाई खबर गरेका थिए । राष्ट्रिय प्रहरीको साइबरविरुद्ध अपराधको नेतृत्वमा गएको प्रहरीको टोलीले छापा मार्दा फिलिपिन्सकै ठूलो अनलाइन ठगी बाहिरिएको हो । प्रहरीले ठगी धन्दा चलाउने १२ जनामध्ये सात जना चाइनिज, दुई जना इन्डोनेसियाली र एक मलेसियन नागरिकलाई हिरासतमा लिएको छ । न्याय विभागका सहायक सचिव मिको क्लभानोलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले उनीहरूविरुद्ध मानव तस्कर, अपहरण र अध्यागमन कानुनको उल्लंघनसम्बन्धी मुद्दा चलाइने उल्लेख गरेका छन् । फिलिपिन्सका सांसद शेरविन गत्चालियनले त्यहाँको संसद्मा बोल्दै मनोरन्जन तथा खेल निगम भ्रष्ट हुँदा फिलिपिन्स मानव तस्कर र ठगी गर्ने ठाउँका रूपमा विकसित भइरहेको बताइन् ।

Published on: 5 June 2023 | Kantipur

Link

Back to list

;