s

प्रधानमन्त्री भन्छन्-अवसर बढ्दा विदेशिने घटे, अध्ययन भन्छ-फर्किएकामध्ये आधा बेरोजगार

रवीन्द्र घिमिरे

२३ जेठ, काठमाडौं । गत जेठ १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै भनेका थिए,’देशभित्र रोजगारीका अवसर बढ्दै र श्रमशक्ति बाहिरिने क्रम घट्दै छ ।’ प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् २ लाख प्रत्यक्ष रोजगारी उपलब्ध भएको सम्बधोनमा उल्लेख गरेका थिए ।

तर, उनको दावीलाई हालसालै उनी आफैं अध्यक्ष रहेको राष्ट्रिय योजना आयोगले गरेको कोभिडको महामारीले वैदेशिक रोजगार र यसले नेपालको अर्थतन्त्रमा पारेको प्रभावबारेको अध्ययन प्रतिवेदनले खण्डन गरेको छ । आयोगको अध्ययनले देशमा फर्किएका ३९ प्रतिशत युवा कुनै काम नपाएर बसिरहेको र २० प्रतिशत परम्परागत कृषिमा फर्किएको ठहर गर्दै ५७ प्रतिशत विदेश फर्किन मन नभए पनि फर्किन बाध्य हुनुपर्ने मनस्थितिमा रहेको देखाएको छ । 

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयको तथ्याङ्कअनुसार महामारीका कारण २०७७ असारदेखि २०८ वैशाख १७ सम्म ४ लाख ४४ हजार ७९९ नेपाली विदेशबाट रोजगारी गुमाएर फर्किएका छन् ।

विदेशबाट फर्किएकामध्ये ३९ प्रतिशत पूर्ण बेरोजगार रहेको देखाएको छ । २० प्रतिशतले तलब नआउने खालका कृषिमा पेशामा आवद्ध भएका छन् भने २३ प्रतिशतले कृषिबाहेकका अन्य पेशा (स्वरोजगार) अंगालेका छन् । ९/९ प्रतिशत कृषि र गैरकृषिसम्बद्ध काम (तलबसहित) गरिरहेका छन् ।

वैदेशिक रोजगारीबाट फर्किनेमध्ये ५८ प्रतिशतले फेरि विदेशिने इच्छा नरहेको बताएका छन् । तर, ९.२ प्रतिशत भने तुरुन्तै फर्किन चाहन्छन् भने ७.८० प्रतिशत जान समान्य इच्छुक मात्रै छन् । २४.२० प्रतिशत भने अवस्था हेरेर मात्रै फर्किने/नफर्किने निर्णय लिने सोचमा छन् । 

फर्किएकाहरुमध्ये ४३ प्रतिशतले तालिम र अनुभवको कमीले जागिर पाउन चुनौती भएको बताएका छन् । ३९ प्रतिशतले कुनै जागिरका अवसर र त्यससम्बन्धी सूचना नै नपाएको बताएका छन् ।

७८ प्रतिशतले आफैं काम गरेर स्वरोजगार हुन आर्थिक अभावका कारण समेत नसक्ने बताएका छन् । ४६ प्रतिशतले आफूसँग अनुभव र सिप समेत नभएकाले स्वरोजगार हुन नसकेको समेत बताएका छन् ।

अध्ययनअनुसार ५७ प्रतिशतले रोजगारको अभावका कारण फर्किने मानसिकता बनाएको बताएका छन् । २८ प्रतिशतले गरिबीका कारण फर्किनुपर्ने देखिएको छ । १० प्रतिशले यहाँको आय कमजोर भएकाले विदेश नगइ नहुने बताएका छन् । २ प्रतिशतले भने परिवारको दवाव समेत रहेको बताएका छन् ।

विदेश फर्किन नचाहनेमध्ये ३०.९ प्रतिशत यहाँ आफ्नै कुनै व्यवसाय सुरु गरे स्वरोजगार बन्न चाहन्छन् । १७.७ प्रतिशत परम्परागत कृषिमै फर्किन चाहन्छन् भने १७.२ प्रतिशत व्यवसायिक कृषि अंगाल्न चाहन्छन् ।

१७.९ प्रतिशत सरकारी तथा निजी क्षत्रेमा जागिर खान चाहन्छन् भने ७ प्रतिशत दैनिक ज्यालादारी गरेर बस्ने सोचमा छन् ।

३३.३ प्रतिशत विदेशबाट फर्किएकाहरु कृषिमा काम गर्न चाहिरहेका छन् भने ३१.१ प्रतिशतले अवसर पाए सेवा क्षेत्रमा काम गर्ने इच्छा देखाएका छन् । सेवा क्षेत्रमा काम गर्न चाहनेमध्ये ६५ प्रतिशत होटल/रेस्टुरेन्ट, ट्राभलजस्ता सेवा थाल्न चहान्छन् ।

यस्तो काम थाल्न ४०.२ प्रतिशत युवा सरकारबाट आर्थिक अनुदान र सहयोग चाहन्छन् । ४३.९ प्रतिशतले उचित वातावरण तयार हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय योजना आयोगले गरेको  अध्ययनले महामारीका कारण एक वर्षमा विदेशमा कार्यरत ६ लाख १८ हजार नेपाली काम गुमाएर नेपाल फर्किन सक्ने देखिएको छ । आयोगले गरेको महामारीका कारण स्वदेश फर्किने नेपाली श्रमिकबारे गरिएको अध्ययनमा एक वर्षभित्र ६ लाख १८ हजार ७ सय नेपाली स्वदेश फर्किनसक्ने अनुमान गरिएको छ । त्यसमध्ये ३ लाख ६० हजार नेपाली तुरुन्तै फर्किनसक्ने अध्ययनको ठहर छ ।

Published on: 7 June 2021 | Onlinekhabar

Link

Back to list

;