s

राजदूतहरु भन्छन् – श्रम सम्झौता नगरी खाडीमा घरेलु कामदार पठाउनु हुन्न

५ असोज, काठमाडौं । खाडी मुलुकमा कार्यरत नेपाली राजदूतले घरेलु कामदार नपठाउन सरकारको ध्यानाकर्षण गरेका छ ।

सोमबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा प्रविधिको प्रयोगमार्फत सहभागी भएका विभिन्न देशका राजदुतले यस्तो आग्रह गरेका हुन् ।

नेपालले २०७२ सालदेखि खाडी मुलुकहरुमा घरेलु कामदारका रुपमा जान रोक लगाएको छ । तर, भारतको बाटो हुँँदै साउदी अरेबिया, ओमन, युएईलगायतका देशमा नेपालीहरु घरेलु कामदारका लागि गइरहेका छन् ।

सरकारले भारतको बाटो हुँदै जानेहरुलाई रोक्ने गरी काम गर्नुपर्ने कतारका लागि नेपाली राजदूत नारद भारद्वाजले बताए ।

‘भारतको बाटो हुँदै आउँछन् । उनीहरु सामान्य समस्यामा पर्दा समेत सम्पर्कमा आउँदैनन् । साह्रै गारो भएर गुहार गुहार भन्नुपर्ने अवस्थामा मात्रै फोन गर्छन्’ भारद्वाजले भने ।

बार्षिक ४०/५० जना घरेलु कामदारको उद्धार गरेर नेपाल पठाउने गरिएको जानकारी दिँदै उनले सीमा नाकामा कडाइ गरेर अवैध रुपमा घरेलु कामदारमा जानेहरुलाई सरकारले रोक्न सक्नुपर्ने बताए ।

सरकारले कामदार पठाउँदा सीप सिकाएर, सुरक्षाको ग्यारेन्टी गराएर र श्रम सम्झौता गरेर मात्रै कामदारलाई विदेश पठाउने गरी ठोस रुपमा कानुनी व्यवस्था समेत गर्न नसकेको राजदूत भारद्वाजले टिप्पणी गरे ।

कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले पनि अशिक्षित र सामान्य अंग्रेजी भाषासमेत नजान्नेहरु घरेलु कामदारका रुपमा अवैध बाटो भएर जाँदा साह्रै समस्या भएको बताए ।

शारीरिक, मानसिक समस्या भोग्नुपर्ने, लामो समयसम्म काम गर्नुपर्ने, आफन्तकामा समेत गएर काम गरिदिनुपर्ने, परिवारसँग महिनामा एक पटकसमेत कुरा गर्न नपाउने जस्ता समस्या कुवेतमा रहेका नेपाली घरेलु कामदारहरुले भोग्नुपरिरहेको उनको भनाइ छ । यस्तो समस्यामा पर्नेहरुमा अवैध बाटो भएर जानेहरु नै रहेको राजदूत भण्डारीले बताए ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले ‘ग्यासको सिलिण्डर नै नदेखेकाहरु’ समेत घरेलु कामदारका रुपमा जाने गरेको भन्दै सीप र क्षमताकै कारण नेपालीहरुले दुख पाइरहेको बताए ।

उनले पनि सीप र क्षमता परीक्षण गरेर र श्रम सम्झौता गरेर मात्रै नेपालीहरुलाई घरेलु कामदारका रुपमा पठाउने गरी कानुनी र नीतिगत कार्यहरु गर्न सरकारलाई आग्रह गरे ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पछिल्लो समय खाडी मुलुकमा रहेका नेपालीहरुको समस्याको बारेमा छलफल गरिरहेको छ ।

समिति आफैँ पनि खाडी मुलुकमा रहेका नेपालीहरुको समस्या बुझ्न स्थलगत अध्ययनमा गएको थियो । सोही अध्ययनका आधारमा समितिले सरोकारवालासँगको छलफललाई निरन्तरता दिएको हो ।

सरोकारवाला र सरकारपक्षसँग छलफल गरेर समिति निचोडमा पुग्ने समिति सभापति विमल श्रीवास्तवले जानकारी दिएका छन् ।

Published on: 22 September 2020 | Onlinekhabar

Link

Back to list

;