s

रोजगारको आधार कृषि, उद्योग र पर्यटन

विनोद सुवेदी

प्रदेश १ का स्थानीय तहले आफ्नै गाउँ–ठाउँमा रोजगार सिर्जना गर्ने थुप्रै सम्भावना र आधार भए पनि त्यसलाई उपयोग गर्न सकेका छैनन्। प्रदेश १ मा कृषि, पर्यटन र पूर्वाधार रोजगार सिर्जना गर्ने क्षेत्र भए पनि त्यसलाई स्थानीय तहले उपयोग गर्न नसक्दा एकातर्फ युवा बेरोजगार बनेका छन् भने अर्कातर्फ स्थानीय तहको आम्दानीको स्रोत पनि बढ्न सकेको छैन।

प्रदेश १ मा कृषि क्षेत्रलाई व्यवसायीकरण गर्न सके ठूलो मात्रामा रोजगार सिर्जना हुने र उत्पादन पनि बढ्ने सम्भावना छ तर स्थानीय तहले कृषि क्षेत्रलाई व्यवस्थित गर्न सकिरहेका छैनन्। कृषि क्षेत्रलाई व्यावसायिक बनाउन नसक्दा एकातर्फ जमिन बाँझै रहने र अर्कातर्फ युवा कामको खोजीमा विदेश भौंतारिनुपर्ने बाध्यता रहँदै आएको छ। कृषिलाई व्यवसायीकरण गर्न र भूमिको उपयोग गर्न स्थानीय तह एक्लैले नसक्ने र कतिपय विषय संघीय सरकारसँग अधिकार भएका कारण पनि स्थानीय तह एक्लैले केही गर्न सक्ने अवस्था नरहेको मोरङ जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साहले बताए। स्थानीय तहलाई कृषिको अधिकार दिएको भनिए पनि मल र बीउ संघीय सरकारकै अधिकार क्षेत्रभित्र रहेको उनले बताए।

साहले मुख्य समस्या नै संघीय सरकारले गरिरहेको छ। समयमा मल र बीउ उपलब्ध नहुने समस्याले वर्षौंदेखि यहाँका किसान प्रताडित छन् तर संघीय सरकारले कहिल्यै समयमा मल र बिउ उपलब्ध गराएको छैन। स्थानीय किसान मल र बिउ माग्दै गाउँपालिकामा आउने गरेको भए पनि आफूहरूको क्षेत्राधिकारभित्र मल खरिदको अधिकार नै नभएको उनले बताए। मल खरिदका लागि अधिकारप्राप्त निकाय साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी संघीय सरकार मातहतमा रहेको र ती निकायले कहिल्यै समयमा किसानलाई मल दिन नसकेको उनको गुनासो छ। मल र बिउ मात्रै होइन, सिँचाइ पनि जहदामा समस्या रहेको छ। सिँचाइका लागि बिजुली पनि संघीय सरकारकै मातहतमा रहेको उनले बताए। साहले भने बिजुलीको व्यवस्था नहुँदा किसानले सिँचाइ पनि गर्न पाइरहेका छैनन्।

विद्युत्का लागि नेपाल विद्युत् प्राधिकरणसँग माग गरे पनि प्राधिकरणले सिँचाइका लागि विद्युत् व्यवस्था गर्न चासो नदेखाएकोे अध्यक्ष साह बताउँछन्। उनले भने, ‘ताला–चाबी संघीय सरकारकै हातमा छ।’ जहदा गाउँपालिकामा कृषि क्षेत्रमा रोजगार सिर्जना गर्ने पर्याप्त सम्भावना भएर पनि संघीय सरकार र उसको मातहतका निकायको व्यवहारका कारण स्थानीय तहले कृषि क्षेत्रमा उल्लेख्य काम गर्न नसकेको साहले स्पष्ट पारे।

सुनसरीको बराह क्षेत्रकी उपमेयर नन्दकुमारी सुनुवारले आफ्नो पालिकामा कृषि, वन, जडिबुटी र पर्यटनको धेरै सम्भावना रहेको बताइन् तर हरेक विषयमा स्थानीय तह एक्लैले केही गर्न नसक्ने भएकाले संघीय सरकार र प्रदेश सरकारको मुख ताक्न विवश रहेको गुनासो गरिरन्। स्थानीय तहसँग पर्याप्त बजेट नहुँदा बराह क्षेत्रमा भएका पर्यटकीय क्षेत्रहरूको उचित विकास गर्न नसकिएको उनले बताइन्।

बराह क्षेत्र धामको प्रचार गरेर यस क्षेत्रलाई नेपालकै प्रमुख पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिने भए पनि स्थानीय तह एक्लैको बजेटले काम गर्न नसकिएको उनले बताइन्। यस्तै पर्यटकीय क्षेत्रको विकासका लागि संघ र प्रदेशले पनि पर्याप्त चासो नदेखाउँदा सम्भावना भएर पनि उपयोग गर्न नसकिएको उनले बताइन्। यस्तै वन तथा जडिबुटी क्षेत्रमा पनि बराह क्षेत्र नगरपालिकाले पर्याप्त सम्भावना बोकेको छ तर यस क्षेत्रमा जडिबुटी संकलन र प्रशोधनका लागि उद्योगहरू नहुँदा यहाँका जडिबुटी त्यसै खेर गइरहेको उनले बताइन्।

मोरङ बेलबारीका प्रमुख दिलप्रसाद राईले मोरङको बेलबारी क्षेत्र सिमसारका लागि प्रख्यात रहेको बताए। उनले सिमसारलाई उत्पादनसँग जोड्न सके यस क्षेत्रका सीमसारबाट मात्रै पनि ठूलो लाभ लिन सकिने बताए। यस्तै बेलबारी क्षेत्र कृषिका लागि पनि उत्तिकै उर्वर रहेको उनले जानकारी दिए। राइले भने, ‘सिमसार र कृषि क्षेत्र विकास गर्न सके बेलबारीमा रोजगार र आम्दानी दुवैमा वृद्धि गर्न सकिन्छ।’ राईले स्थानीय तहले यी दुवै क्षेत्र पहिचान गरी विकासका लागि काम थाले पनि स्थानीय तहको एकल प्रयासले मात्रै सम्भव नहुने उनले बताए। वन क्षेत्र स्थानीय तहको अधिकार क्षेत्रभित्र नपर्ने भएकाले संघीय सरकारको सहयोगबिना यस क्षेत्रका सिमसारको विकास र उपयोग सहज नरहेको उनको भनाइ छ।

मोरङ ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारले ग्रामथानमा थुप्रै पर्यटकीय क्षेत्र भए पनि ती क्षेत्रको विकास र प्रचार हुन नसकेको बताए। उनले गाउँपालिकाले पर्यटकीय क्षेत्र विकासका लागि काम गरिरहेको भए पनि त्यो पर्याप्त नरहेको बताए।

गच्छदारले ग्रामथानको पर्यटकीय क्षेत्रहरूको पहिचान, प्रचार र विकासका लागि प्रदेश र सघीय सरकारले विशेष चासो दिनुपर्ने धारणा राखे। उनले आफ्नो गाउँपालिकामा उद्योगहरू नभएका कारण पनि रोजगारको क्षेत्र साँघुरो रहेको बताए। उनले ग्रामथान गाउँपालिकामा कृषिमा आधारित ठूला उद्योगहरू स्थापना भए यस क्षेत्रमा उत्पादित कृषि उपजले सहजरूपमा बजार पाउने, उचित मूल्य पाउने र कृषिको व्यवसायीकरण र औद्योगीकरण पनि हुने धारणा राखे। उनले ग्रामथान गाउँपालिकामा उद्योगहरूको स्थापना गर्न निजी क्षेत्रलाई आग्रहसमेत गरेका छन्।

सुनसरी दुहवी नगरपालिकाका प्रमुख वेदकुमार गच्छदारले रोजगारको आधार कृषि, उद्योग भएकाले नगरपालिकाले उद्योग क्षेत्रको पूर्वाधार निर्माण र कृषि क्षेत्र विकासका लागि प्रयत्न गरिरहेको बताए। उनले यहाँ स्थानीय युवा बेरोजगार रहेको तर, उद्योगमा दक्ष जनशक्ति अभाव भई विदेशबाट कामदार ल्याउनुपर्ने बाध्यता रहेको बताए।

गच्छदारले स्थानीय युवाहरूलाई प्राविधिक शिक्षामार्फत दक्ष बनाई यहाँका उद्योगलाई आवश्यक जनशक्ति स्थानीय स्तरबाट उपलब्ध गराउने व्यवस्था गर्न आवश्यक रहेको बताए। उनले जसका लागि सिटिइभिटी र मनमोहन प्राविधिक विश्वविद्यालयले यहाँका उद्योगलाई आवश्यक जनशक्ति उत्पादन गर्न सहयोग गर्नुपर्ने धारणा राखे। गच्छदारले स्थानीय तहहरूमा स्रोतसाधनको अभाव धेरै काम हुन नसकेको भन्दै संघीय सरकारलाई स्थानीय तहको बजेट बढाउन आग्रह गरे।

Published on: 22 September 2022 | Nagarik

Link

Back to list

;