s

सामाजिक सुरक्षा कोषमा को-को सूचीकृत भए ?

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा पाँच हजार रोजगारदाता सूचीकृत भएका छन्। ती रोजगारदाताका ६६ हजार श्रमिक कार्यक्रममा सामेल भएका हुन्। सामाजिक सुरक्षा कोषका अनुसार दुई महिनाको अवधिमा करिब तीन हजार योगदानकर्ताले एक करोड ५८ लाख योगदान गरेका छन्। कोषका अनुसार पछिल्लो समयमा रोजगारदाता तथा श्रमिकको आकर्षण बढ्न थालेको हो। साउनअघिसम्म सामेल हुन उदासीन देखिएका रोजगारदाता पछिल्लो समयमा आकर्षित भएको कोषका कार्यकारी प्रमुख कपिलमणि ज्ञवालीले बताए। उनका अनुसार पछिल्लो समयमा सामेल हुने र योगदान हुने क्रम बढ्दै गएको छ।

सरकारले गत मंसिर ११ गते घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा साउन १ गतेदेखि योगदान सुरु भएको हो। कोषका अनुसार साउन १ गतेअघिसम्म दुई हजार नौ सय रोजगारदाता र २० हजार श्रमिक मात्र सामेल भएका थिए। कोषका अनुसार ठूला रोजगारदाता एवं ठूला करदाता कोषमा सामेल भइसकेका छन्। रिलायन्स प्रालि, नोबेल मेडिकल, सूर्य नेपाल, डाबर नेपाल, युनिलिभर, सूर्य नेपाल, चौधरी ग्रुप, किरण सुज, शिवम सिमेन्ट, शंकर ग्रुप, त्रिनेटी कलेज, किष्ट, त्रियोग, नेशनल हेल्थ केयर, सांग्रिला, मेरियड, डिस्ट्रलरी, नर्भिक, सानिमा हाइड्रो, गोल्छा अर्गनाइजेसनलगायत कार्यक्रममा सामेल भइसकेका छन्।

असोजभित्र सबै रोजगारदाता आइसक्ने कोषको दाबी छ। डेढ लाखदेखि दुई लाखसम्म रोजगारदाता सामेल हुन सके पूर्णरूपमा कार्यक्रम सफल हुने कोषको दाबी छ। केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको ‘राष्ट्रिय आर्थिक गणना २०७५’ को नतिजाअनुसार नेपालमा ९ लाख २३ हजारभन्दा बढी औद्योगिक प्रतिष्ठान सञ्चालनमा छन्। ती प्रतिष्ठानमा ३२ लाख २८ हजारभन्दा बढी श्रमिक काम गर्छन्। तथ्यांकमा प्रतिष्ठानको संख्या र श्रमिकको संख्या धेरै देखिए पनि सञ्चालनमा रहेका प्रतिष्ठान निकै कम छन्। एक हजारभन्दा बढी रोजगारी दिने ५३ वटा मात्रै प्रतिष्ठान छन्। एक जनालाई मात्रै रोजगारी दिने प्रतिष्ठानको संख्या ३ लाख ४६ हजारभन्दा बढी छ। सरकारले प्रतिष्ठानका श्रमिकलाई समेटेपछि अनौपचारिक हुँदै स्वरोजगारका श्रमिकलाई समेत यसको दायरामा ल्याउने सरकारी योजना छ। यस कार्यक्रमबाट श्रमिक तथा रोजगारदाता दुवै लाभान्वित छन्। सरकारले रोजगारदातालाई असोजसम्म सामेल हुन निर्देशन जारी गरेको छ। ‘कार्यक्रममा सबै सामेल हुनेछन्’, उनले भने, ‘यसले श्रमिकलाई फाइदा पुग्नेछ।’

लगानी कार्यविधि बन्दै

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा जम्मा भएको रकम विभिन्न क्षेत्रमा लगानी गरिने भएको छ। सरकारले कोषमा जम्मा हुने रकम परिचालन गर्ने तयारीस्वरूप लगानी कार्यविधि र भुक्तानी कार्यविधिको मापदण्ड बनाएको छ। उक्त मापदण्ड मन्त्रिपरिषद्बाट पारित गरेर कार्यान्वयनमा ल्याइने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। सरकारले योगदानको रकम ऋणपत्र, बैंक तथा वित्तीय संस्थाको शेयर, म्युचल फन्ड, डिबेन्चर, कमर्सियल बैंकमा लगानी गर्ने योजना बनाएको छ। बैंकको ग्यारेन्टी कर्जाका साथै योगदानकर्ताले घर कर्जा, शिक्षा कर्जा र सामाजिक कर्जा पाउने व्यवस्था छ।

सरकारले घोषणा गरेको कार्यक्रमअनुसार कोषमा योगदान गर्ने श्रमिकले सामाजिक सुरक्षा कोषबाट औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा स्किमअन्तर्गत सामाजिक सुरक्षा सुविधा पाउँछन्। मातृत्व सुरक्षा योजनाका लागि १८ महिनाको अवधिमा १२ महिना योगदान गर्नुपर्छ। दुर्घटना तथा अशक्तता वृत्ति योगदान गरेको समयदेखि प्राप्त गर्ने व्यवस्था छ। व्यवसायजन्य रोगको उपचार गर्न दुई वर्षसम्म योगदान गरेको हुनुपर्नेछ। रोेजगारजन्य दुर्घटनाबाहेक अन्य दुर्घटना भएको अवस्थामा ७ लाख रुपैयाँसम्मको उपचार खर्च स्किमबाट प्राप्त हुन्छ।

योगदानकर्ताको मृत्यु भए आश्रित परिवारलाई प्राप्त हुने सुविधाअन्तर्गत योगदानकर्ताको श्रीमान् वा श्रीमतीलाई योगदानकर्ताको अन्तिम आधारभूत पारि श्रमिकको ६० प्रतिशतले जीवित रहेसम्म मासिक निवृत्तिभरण (पेन्सन) उपलब्ध हुने व्यवस्था छ। १८ वर्ष उमेर पूरा नभएको सन्ततिलाई १८ वर्षको उमेरसम्म ४० प्रतिशत सन्तति शैक्षिक वृत्ति दिइन्छ। योगदानकर्ताको एकाघरको पति वा पत्नी वा छोराछोरी कोही पनि नभएको अवस्थामा आश्रित बाबुआमालाई जीवित रहँदासम्म मासिक ६० प्रतिशत रकम पाइने व्यवस्था छ। वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताको अवकाशपछि जीवित रहेसम्म निवृत्तिभरणको व्यवस्था गरिएको छ।

Published on: 19 September 2019 | Annapurna Post

Back to list

;