सम्झनामा नेपाली थातथलो

विप्लव भट्टराई

झारखण्ड — ‘चौंरीगाई कहाँ चर्‍यो धौलागिरि वनैमा...’ मध्यपश्चिमको यो लोकभाका झारखण्डको विकट मानिने चिरकुण्डीमा भेटिएका रामबहादुर पुनको मुखमा ताजै छ । १८ वर्षको उमेरमा माइका भनिने विद्युत् र कस्मेटिक पदार्थमा प्रयोग हुने धातुको खानीमा काम गर्न झारखण्ड आइपुगेका उनलाई गाउँघरको यादले अझै छाडेको छैन ।

गीत सुनाउँदै भावुक बनेका उनले रोजगारीका लागि परदेश आएयता पुर्ख्यौली थातथलो कहिल्यै नफर्केको सुनाए । पाल्पा घर बताउने उनलाई यहाँ आएपछि गाउँघरको रहनसहन र अवस्थाबारे केही पत्तोअत्तो छैन । बाल्यकालमा बितेका दिनले सपनामा पनि झस्काउँछ । ‘बालबच्चा र नातिनातिना यतै हुर्किए,’ उनले भने, ‘मुटुभरि माया भए पनि पुरानो थलो सम्झनामा राख्नबाहेक केही गर्न सकिएन ।’

उनका छिमेकी मंगलबहादुर थापाको अवस्था पनि उस्तै । जसोतसो नेपाली बोल्ने उनीहरू घरगाउँ सम्झँदा भक्कानिन्छन् । गोरखाको बारपाकलाई पुर्ख्यौली थलो मान्ने उनी आउजाउ र भेटघाट नहुँदा दोस्रो पुस्ता भने थातथलोबाट विमुख भएको बताउँछन् । ‘छोराछोरी कनिकुथी पहाडे भाषा बुझ्छन,’ ५६वर्षीय थापाले भने, ‘नातिनातिनाको दिमागमा त नेपालप्रतिको कुनै सम्झना र भाषाका विषयमा ज्ञान हुने कुरै भएन ।’

सँगै भेटिएका उमेशबहादुर क्षत्रीलाई न भाषाको ज्ञान छ न पिता पुर्खाको थलोबारे जानकारी । भन्छन्, ‘बाजे यहाँ आएर बसेको भन्ने थाहा छ तर कहिले नेपाल गइएन पनि र पुर्ख्यौली ठाउँको याद पनि भएन ।’

झारखण्डको भित्री गाउँमा नेपाली भाषा बोल्ने र सिकाउने कुरामा समस्या छ तर राजधानी राँचीमा भने नेपालको छुट्टै गौरव छ । संस्कृति र भाषालाई जोगाइराखेका उनीहरूमा भने थातथलोको अत्तोपत्तो नहुने समस्या अरूजस्तै छ ।

राँचीको डोरन्डास्थित नेपाल हाउस परिसरमा रहेको गोर्खा सहिद स्मारक चोकमा भेटिएका शिवकुमार लिम्बूको पुर्ख्यौली थलोका कहानी अचम्मलाग्दा थिए । उनको परिवार ताप्लेजुङको हाङदेवाबाट तीन पुस्ताअघि आएपछि यतै स्थापित भएका हुन् । ‘पोहोर गाउँ खोज्दै जाँदा अकमक्क परेर फर्कनुपर्‍यो,’ उनले भने, ‘ताप्लेजुङको फुङलिङ पुगेर पुर्ख्यौली थलो खोजेको, कसैले पनि बताउन सकेनन् । आफूले पहिलेको वडा र ठेगाना बताइयो, अहिले त्यो फरक भएछ । अकमक्क परेर फर्किएँ ।’

प्रस्ट नेपाली बोल्ने र नेपालप्रति गौरव गर्ने नेपाल हाउस क्षेत्रका धेरैलाई आफ्ना पितापुर्खाको मूल थलोबारे हेक्का नभएको पाइयो । झारखण्डका विभिन्न स्थानमा छरिएर बसेका अधिकांश नेपाली माइका र कोइलाखानीमा काम गर्न आएकाहरू छन् । १९८० मा सामूहिक रूपमा प्रहरीमा नेपाली युवा लगिएपछि राँचीमा नेपाली बस्ती विस्तार भएको थियो ।

त्यसपछि यही क्रम चलिरहँदा अहिले यो क्षेत्रमा ५० हजार नेपाली मूलका बासिन्दाको इज्जतिलो बसाइ रहेको हो । यहीँ भेटिएका विनोद खातीले पनि पितापुर्खाको ठाउँबारे अनभिज्ञता जनाए । ‘तीन पुस्तादेखि नै यतै रहेकाले धेरैपटक खोज्दै जाँदा पनि नभेटदा नेपाली मूलको हुँ भन्नुबाहेक केही अस्तित्व रहेन,’ उनले भने, ‘नागरिकता त खोजेको होइन तर पुर्ख्यौली थलो मात्र भेट्न कसैले सहयोग गरे अभारी हुने थिएँ ।’

यो क्षेत्रमा दसैंमा टीका लागाइन्छ । भैलेनी खेल्ने चलन नेपालमा जस्तै छ । लोसार मनाइन्छ । नेपाली भाषालाई मज्जाले बोल्ने प्रशस्तै भेटिन्छन् तर पुर्ख्यौली थातथलोबारे भने धेरै बेखबर देखिए ।

Published: 13 August 2019/ Kantipur

Back to list

AnnouncementView all

;