s

श्रम सहचारीलाई धम्क्याउने म्यानपावर व्यवसायीमाथि छानबिन

होम कार्की

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउदी अरबको जेद्दास्थित श्रम सहचारी प्रेम उपाध्यायलाई धम्की दिने म्यानपावर व्यवसायी रघु पुरीमाथि छानबिनको प्रक्रिया अगाडि बढाएको छ ।

साउदीको इसान कब्बानी एन्ड पार्टनरले नेपाली कामदार ल्याउन नेपाली महावाणिज्यदूतको कार्यालयमा पेस गरेको मागपत्रलाई प्रमाणीकरण नगरेको विषयमा श्रम सहचारी उपाध्यायलाई धम्की दिएपछि व्यवसायी पुरीमाथि छानबिन प्रक्रिया अगाडि बढाइएको हो ।

‘कुनै एजेन्ट वा व्यवसायीले श्रमिकको हितको सवालमा काम गर्ने श्रम सहचारीमाथि धम्की दिने विषय मन्त्रालयलाई सह्य हुँदैन, यो निकै गम्भीर विषय हो,’ श्रममन्त्री शेरबहादुर कुँवरले कान्तिपुरसँग भने, ‘मैले धम्की दिने व्यवसायीमाथि छानबिन गरी प्रतिवेदन पेस गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिइसकेको छु ।’

श्रममन्त्री कुँवरले विगतमा धम्की दिने व्यवसायीमाथि छुट भए पनि अब त्यस्तो व्यवहारलाई निरन्तरता नदिइने प्रतिबद्धता जनाए । ‘यस्तो प्रवृत्ति पहिला पनि हुन्थ्यो होला, अब यसलाई कुनै पनि हिसाबबाट प्रश्रय मिल्दैन, कानुनले दिएको अधिकार प्रयोग गर्ने श्रम सहचारीमाथि कुनै पनि व्यक्तिबाट धम्की दिने विषयलाई कदापि छुट हुँदैन,’ उनले भने, ‘मैले गन्तव्य देशमा खटिएका श्रम सहचारीहरूलाई कसैको डरत्रास नमानी ढुक्क भएर आफ्नो कार्यसम्पादन गर्न निर्देशन दिएको छु ।’

श्रम सहचारीहरूको संयुक्त बैठकमा उपाध्यायले आफूलाई पुरीबाट धम्की दिएको जानकारी गराएका थिए । ‘एउटै कम्पनीले एउटै कोटाको मागपत्र दुईवटा म्यानपावरलाई दिएको रहेछ, पहिला ग्लोबल सोर्सिङ सर्भिसेस म्यानपावरलाई मागपत्र दिएर पठाएको थियो, पछि सोही कोटाको मागपत्र रिभर ओभरसिजले लिएर आयो, एउटै कोटाको मागपत्र दुईवटा म्यानपावर कम्पनीलाई दिएपछि प्रमाणीकरण गर्न निर्देशिकाले रोकेको छ,’ उपाध्यायले राखेको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक श्रम सहचारीले कान्तिपुरलाई भने, ‘मागपत्र प्रमाणीकरण नगरेपछि व्यवसायी रघु पुरीले मलाई फोनमा धम्क्याउने काम भयो । तँलाई रघु पुरी को हो थाहा छ ? म देखाइदिन्छु भने ।’ 

रिभर ओभरसिजका सञ्चालक रहेका पुरी वैदेशिक रोजगार व्यवसायी संघ तदर्थ समितिका सदस्य पनि हुन् । व्यवसायी संघले तोकिएको समयमा अधिवेशन गर्न नसकेपछि अहिले तदर्थमा चलिरहेको छ । रिभर ओभरसिज खाडी तथा मलेसियामा सबैभन्दा बढी कामदार पठाउने १० वटा म्यानपावरभित्र पर्छ । रिभर ओभरसिजका प्रतिनिधिले बुधबार पनि विभागका कम्प्युटर अधिकृतमाथि पनि धम्की दिइएको थियो । यो विषय पनि श्रम सहचारीहरूको बैठकमा उठेको थियो । कम्प्युटर अधिकृतमाथि धम्की दिने विषयलाई भने विभागले सामान्य भनेको छ । ‘विभागमा चर्को स्वर हुने विषय सामान्य हो,’ विभागका प्रवक्ता कृष्ण भुसालले कान्तिपुरसँग भने ।

वैदेशिक रोजगारीमा रहेका कामदारको अधिकार रक्षा गर्न भन्दै मागपत्र प्रमाणीकरणको अधिकार नेपाली दूतावासलाई दिएको छ । दूतावासले मागपत्र प्रमाणीकरण गरेपछि कामदारको भर्ना प्रक्रिया अगाडि बढ्छ । व्यवसायी पुरीले भने आफूले धम्की दिएको विषयलाई अस्वीकार गरेका छन् । ‘मैले धम्की दिएको होइन, खाली कानुनी कुरा मात्रै गरेको हुँ,’ पुरीले कान्तिपुरसँग भने, ‘कम्पनी गलत छ, तलब दिँदैन र कामदारले समस्या पाएका छन् भने मागपत्र रोक्नु ठीक हो तर एउटाले पेस गरेको मागपत्र प्रमाणीकरण गरिदिने र अर्कोको नगरिदिने प्रवृत्तिले समस्या निम्ताएको छ । यसबारे कुरा राखेको मात्रै हो ।’

Published on: 22 September 2022 | Kantipur

Link

Back to list

;