s

श्रम स्वीकृति लिनेमा नयाँ नगण्य, पुराना धेरै

गोरखापत्र समाचारदाता 

काठमाडौँ, मङ्सिर ४ गते । कोरोना भाइरस (कोभिड–१९)को महामारीबीच पनि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्दै गएको छ । गएको असार १८ गते पुनः श्रम स्वीकृति र भदौ १४ देखि नयाँ श्रम स्वीकृति दिन सुरु गरेसँगै श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति खुला भएयता झन्डै २० हजारले श्रम स्वीकृति लिएका छन् । जसमा करिब १९ हजार सात सय पुनः श्रम स्वीकृति लिने र झन्डै ३०० जना नयाँ श्रम स्वीकृति लिनेको रहेको विभागले जनाएको छ ।

नेपाल र श्रम गन्तव्य देशमा कोभिड–१९ का महामारीका कारण स्वास्थ्य जोखिम बढेपछि गत फागुन २९ बाट रोकिएको श्रम स्वीकृति गत असार १८ देखि पुनः श्रम स्वीकृति खुला गरिएको थियो भने गत भदौ १४ देखि नयाँ श्रम स्वीकृति दिन खुला गरेर श्रम स्वीकृति दिन थालिएको हो । सो कार्यालयका अनुसार ६० भन्दा बढी देशमा जानका लागि श्रम स्वीकृति लिएका छन् ।

विभागका अनुसार महिनागत रूपमा हेर्दा गत असारमा दुई हजार ४९४ जनाले श्रम स्वीकृति लिए भने साउनमा दुई हजार ९७९ जनाले श्रम स्वीकृति लिएको देखिन्छ । यस्तै भदौमा एक हजार ५२५ जनाले श्रम स्वीकृति लिए भने असोज २० सम्म पाँच हजार ७८९ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै कात्तिकमा सात हजार ७९७ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

वैदेशिक रोजगार कार्यालयका प्रमुख विनु वज्राचार्यले वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिने जाने कुल सङ्ख्याको देशगत रूपमा तथ्याङ्क नराखिए पनि सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (यूएई), कतार, साउदी अरब, मलेसिया, कुवेत, जापान जानका लागि बढी रहेको जानकारी दिनुभयो । उहाँले असोजदेखि पछिल्लोपटक श्रम स्वीकृति लिएकाको तथ्याङ्क देशगत रूपमा छुट्याएर राख्ने गरी तयारी गरेको जानकारी दिनुभयो ।

विभागले रोजगारदाता कम्पनीले श्रमिक लिने र सम्झौता अनुसारको सेवासुविधा दिने प्रतिबद्धता पत्र बनाई नेपाली दूतावास र वैदेशिक रोजगार विभागमा इमेल गरेमा श्रम स्वीकृति दिने गरेको छ । भदौको पहिलो साता नयाँ श्रमिकका लागि श्रम स्वीकृति खुला गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि सूचना जारी गर्दै वैदेशिक रोजगार कार्यालय, ताहाचलले पूर्व तथा अन्तिम श्रम स्वीकृतिका लागि फाइल पेस गर्दा रोजगारदाताबाट हालै जारी भई नेपाली दूतावासबाट प्रमाणीकरण भएको सहमति पत्र (नो अब्जेक्सन लेटर)समेत पेस गर्नुपर्ने सूचना जारी गरेको थियो ।

Published on: 19 November 2020 | Gorkhapatra

Link

Back to list

;