s

शिविरमा बस्ने भुटानीलाई पूर्वशरणार्थीको राहत

काठमाडौँ — आप्रवासनमा जान नपाएका र आफन्तबाट पनि टाढिएका प्रतिनिधि शरणार्थी परिवारलाई पुनर्वासमा गइसकेका दिदबिहिनीले चामल, दाल, तेलसहितको राहत उपलब्ध गराएका छन् ।

एक दशकअघिसम्म झापाकै शरणार्थी शिविरमा रहेका र पुनर्वासका क्रममा अमेरिका तथा क्यानडा पुगेका दिदीबहिनी मुना रइका मगर र लीला रइका मगरले दमक, बेल्डाागीस्थित शिविरका ३५ परिवारलाई स्वेच्छिक रुपमा राहत दिएका हुन् । ‘हामी बेल्डाागी शिविरमैं जन्मे-हुर्केका हौं । आफ्नो थातथलो र शरणार्थी शिविरमा रहेका आफन्तको सम्झनामा केही राहत लिएर आएका हौं,’आठ वर्षअघि शरणार्थी आयोगको पुनर्वास कार्यक्रममा परेर अमेरिकाको म्यासाचुटेस पुगेकी मुनाले भनिन् ।

दिदीबहिनीले राजनीतिक बन्दीका रुपमा भुटानका जेलमा रहेका शरणार्थीका शिविरस्थित आफन्त, शारीरिक र मानसिक रुपमा अशक्त तथा वृद्धवृद्धा र एकल गरी ३५ परिवारलाई जनही २५ केजी चामल, दाल, तेल तथा १ हजार रुपैयाँ नगद सहयोग गरेका थिए ।

‘विदेशी दाता र नुन, चामल दिने संस्थाहरूले हामीलाई सहयोग गर्न छाडिसकेका छन्,’राहत पाउनेमध्ये ६५ वर्षिया डम्बरकुमारी अधिकारीले भनिन्‚ ‘संकटको बेलामा ठूलो सहयोग पाएजस्तो भएको छ ।’ डम्बरकुमारीको एकमात्र छोरो ओमनाथको मृत्यु भएको १४ वर्षयता भुटानको चेम्गाङमा राजनीतिक बन्दीका रुपमा थुनामा छन् ।

उनीसहित एक दर्जन युवाहरू राजनीतिक बन्दीका रुपमा भूटानमा आजीवन कारावासको सजाय बेहोर्दै थुनामा राखिएका छन् ।

भुटानमा सन् २००८ मा सुरु भएको मानिने लोकतान्त्रिक शासन पद्धतिपछि पक्राउ परेका बिर्खबहादुर क्षेत्री, हस्तबहादुर राई, सन्मान गुरुङ, चतुरमान तामाङ, नन्दलाल बस्नेत, गोविन्द निरौला, आइतराज राई, खगेन्द्र खनाल, सुकमान मगर, कुमार गौतमसहित चेम्गाङका कारागारमा छन् । उनीहरूमध्ये धेरैजसोका आफन्तजन बेल्डाागी शिविरमा बसिरहेका छन् भने कतिपयका पुनर्बसोबासमा तेस्रो देश गइसकेका छन् । शिविरमा रहेका अरु असहाय र अशक्त परिवारलाई राहतसहितका सहयोग निरन्तर गर्ने क्यानडाबासी लीला रइका मगरले बताइन् ।

Published on: 17 May 2022 | Kantipur

Link

Back to list

;