s

सुरक्षा कोषमा समेट्न गृहकार्य

काठमाडौँ, असार ९ गते । सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा गएका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समेट्नका लागि गृहकार्य सुरु भएको जनाइएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र सामाजिक सुरक्षा कोषका अधिकारीबीच बुधबार राजधानीमा भएको छलफलमा कोषले सोबारेमा जानकारी दिइएको हो ।

कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले वैदेशिक रोजगारीमा जानेलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा योजनामा समेट्नका लागि श्रम स्वीकृति दिने बेलामा नै समेट्न सकिने गरी कार्यविधि बनाउन थालिएको बताउनुुभयो । एनआरएनएसँग र विदेशबाट फर्किएका श्रमिकका संस्थाहरूको सहकार्यमा कोषले छिट्टै कार्यविधि बनाएर लागू गर्ने उहाँको भनाइ छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा ल्याउने घोषणा गरेको छ । कोषका कार्यकारी निर्देशक ज्ञवालीले बजेटमा आएको कार्यक्रमलाई कार्यान्वयनका ल्याउन कार्यविधि बनाउने गृहकार्य गरेको जानकारी दिनुुभयो ।

कोषका निर्देशक कृष्ण अधिकारीले विदेशमा रहेका नेपालीलाई कोषमा समेट्नका लागि एनआरएनएले साथ दिएमा चाँडै लागू हुने बताउनुुभयो । कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्ण आचार्यले कानुनी अड्चनलाई हटाएर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्न आग्रह गर्नुभयो ।

एनआरएनएअन्तर्गतको वैदेशिक रोजगारी तथा कल्याणकारी विभागका प्रमुख डीबी क्षेत्रीले वैदेशिक रोजगारीमा जाने नेपालीलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा योजनामा समेट्नका लागि श्रम स्वीकृति दिँदा र श्रम सम्झौता गर्दा अनिवार्य सामाजिक सुरक्षा कोषमा जोड्ने सर्त राख्नुपर्नेमा जोड दिनुभयो ।

Published on: 23 June 2022 | Gorkhapatra

Link

Back to list

;