s

टेकुमा कोभिड १९ विरुद्धको खोप प्रमाणीकरणमा भीड, विदेश जानेलाई सास्ती

पवित्रा सुनार 

सप्तरीका ४५ वर्षीय रामप्रित सदा र उनकै साथी अवस्थी सदाको शुक्रबार राति १० बजे साउदीको उडान छ। उडानअघि उनलाई जोन्सोनको खोप लगाउनु र खोप लगाएको प्रमाणपत्र तयारी गर्नुछ। यो कामका लागि उनी दुई दिनअघि नै सप्तरीबाट काठमाडौं आएका हुन्। सदा बिहीबार दिनभरि राजधानीका तीनवटा खोप केन्द्रमा पालैसँग लाइन बसे। तर सबै ठाउँमा खोप लगाउन पाएनन्। कारण उनको पालो आउनुअघि नै खोप सकियो। त्यसपछि सदा, उनको साथी अवस्थी सदासहित तीनजना शुक्रराज सरुवा अस्पतालमा पुगे। टेकु पुग्दा पनि खोप लगाउने लाइन सकिएको थियो।

उनीहरू तीनैजना यो अस्पतालमा दिउँसो भेटिएका थिए। खोप नपाएपछि उनीहरू दुवै काम स्थगित गरेर बसिरहेको गौशाला होटेलमा फर्किने तयारीमा थिए। ‘आज तीन ठाउँ पुग्यौं, खोप कतै लगाउन पाएनौं, भोलि विहान ७ बजे आउनु भनेका छन् ’ उनले भने। तर उनीहरू तीनै जना भोलि खोप लगाउन पाइने हो कि होइन ? खोप पाइहालेपनि भोलि नै हजारौैको लामो लाइन छिचालेर खोप प्रमणीकरण पत्र पाइएला किन नपाइला ? मनमा दोधार बोकेर फर्किन लागेको बताए। ‘भोलि खोप मिलेन भने हाम्रो जहाज छुट्छ,’ रामप्रितले भने।

शुक्रबार नै अफगानिस्तानका लागि उडान तयार भएका पोखराका सुनिल गुरुङ र पोल्याण्ड हिँडेका म्याग्दीका तेजबहादुर थापा पनि टेकु अस्पतालमा उस्तै चिन्तामा देखिए। उनीहरूलाई शुक्रबार दिनभरिमा पिसिआर गर्ने र खोप प्रमाणीकरण गर्नु र्ने छ। बिहिवार दिनभर लाइन बसे पनि खोप प्रमाणीकरण हुन सकेन। बिहीबार टेकु अस्पताल पुगे पनि हजारौंको लाइन देखेपछि प्रमाणीकरण पाउने स्थिति नदेखेर उनीहरू फर्किने तरखरमा थिए।

केही महिनापछि अमेरिका जाने तयारीमा रहेका विराटनगरका सरोज कटुवाल खोप लगाएर प्रमाणीकरण कागज लिन तीन दिनअघि काठमाडौं आएका हुन्। बुधवार वीर अस्पतालमा तीन घण्टा लाइन बसेपछि खोप लगाउन पाए। बिहिवार ३ बजे प्रमाणीकरण कागज लिन टेकु अस्पतालमा लाइन बसेको १२ घण्टापछि उनको पालो आयो र कोभिड खोप प्रमाणीकरण पत्र पाए। तर उनले खोप लगाउन र यो काजग लिनको लागि पाएको दुःख मनभरि बोकेर विराटनगर फर्किने सुरमा थिए। ‘लाइन पर्खिंदा अहिलेसम्म खाना खाएको छैन,’ उनले भने। प्रमाणीकरण पत्रको लागि ३ सयको बिल काट्न छुट्टै लाइन र बिल लिइसकेपछि पत्र लिनको लागि बस्नुपर्ने छुट्टै लाइनमा पाएको सास्ती उनले कहिल्यै नभुल्ने क्षण भएको बताए।

कटुवालका अनुसार एक युवा तीन दिनदेखि खोप र प्रमाणपत्रको चक्करमा भौतारिएका छन्। तर लामो लाइनको कारण पाउन सकेनन्। यीबाहेक कोभिड १९ खोप प्रमाण्ीकरण पत्रको लागि ११ देखि १३ घण्टा लाइन बसेका थुपै्रै भेटिए। कतार हिँडेका सञ्जय गुरुङसहितका तीन युवाले राति ३ बजेदेखि लाइन बसेपछि १२ घण्टामा पालो पाएका थिए। पीडित युवाको अस्पतालमा पत्रको लागि लाग्ने शुल्क तिर्ने काउन्टर र पत्र तयार गर्ने टेबुल एउटै हुनाले दिनभर लामो लाइन बस्नुपरेको गुनासो छ। अस्पतालको भने एकै दिन हजाराैँ युवा आएकोले अस्पतालले व्यवस्थापन गर्न नसकेको जवाफ छ। धेरैजनाको भीड भएपछि बुधबार र बिहीबार सेवा दिनको लागि सेवा अवधिको समय थप गरिएको अस्पतालका प्रमुख डा. अनुप बाँस्तोलाले बताए। ‘अहिले पनि मेरो वरपर १५ जना युवा हुनुहुन्छ, उहाँहरूलाई सेवा दिएर मात्र पठाउने तयारी गरेका छौं,’ बाँस्तोलाले बिहीबार साँझ भने। 

उपत्यकामा कोरोना संक्रमण बढिरहेको बेलामा अस्पतालमा सेवाग्राही दिने अस्पतालमा भीडभाड हुनु जोखिमपूर्ण अवस्था रहेको डा. बाँस्तोला बताउँछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका थुपै्र जिल्लामा पुनः संक्रमण बढ्दै गएपछि भीड नगर्न र जनस्वास्थ्यका मापदण्ड कडाइपूर्वक पालना गर्न निर्देशन दिएको छ। तर राजधानीकै शुक्रराज सरुवा अस्पतालले सरकारको नीति नियम पालना गर्न नसकेको बिहीबारको झझल्कोले देखाएको छ। बिहीबार भीड नियन्त्रण गर्न अस्पतालले प्रहरी र रेडक्रस सोसाइटीको सहयोग समेत लिन परेको थियो। दुईदिनको लगातार भीडपछि अस्पताले शुक्रबारदेखि प्रमाणीकरण टेबुल थप गरेर सेवा दिने निर्णय गरेको अस्पतालका प्रमुख डा. बाँस्तोलाले बताए। 

नेपालमा विभिन्न सरुवा रोग तथा कोभिड १९ संक्रमणपछि खोप प्रमाणीकरण, पिसिआर प्रमाणीकरण जस्ता आधिकारिक पत्रको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई जिम्मा दिएको हो। पहिलादेखि नै अन्य रोगमा प्रमाणीकरण पत्र दिँदै आएकोमा यसपटक धेरैजना आउँदा व्यवस्थापनमा कठिनाइ भएको अस्पतालले जनाएको छ। ‘अन्य दिन दैनिक पाँच÷दस जना मात्र आउँथे, अहिले कोभिड १९ विरुद्धको खोपको प्रमाणीकरण पत्र लिन एकैपटक धेरैजना आएका हुन्,’ उनले भने। यसअघि अस्पतालले एचआइभी, क्षयरोग, हेपाटाइटिश तथा अन्य सरुवा रोगहरूको प्रमाणीकरण पत्र दिंदै आएको छ।

 बिभिन्न देशहरूले कोभिड १९ विरुद्धको खोप लगाएको प्रमाणपत्र अनिवार्य गरेपछि नेपालबाट विदेश जानेहरूलै एकैपटक पत्र माग गरिरहेको बाँस्तोला बताउँछन्। ‘ कोभिड १९ बिरुद्धको राहानी पत्रको साथमा अप्टेरो नपरोस भनेर प्रमाणीकरण पत्र पनि अंगे्रजीमा लैजानेहरू धेरै छन्’ उनले भने।

Published on: 23 July 2021 | Nagarik

Link

Back to list

;