s

उद्योगले नै लुकायो पाँच मजदुरको मृत्यु

क्रान्ति शाह

वीरगन्ज : वीरगन्जस्थित सर्वोत्तम स्टिल उद्योगले ५ जना मजदुर मृत्युको घटना एक सातासम्म लुकाएको रहस्य खुलेको छ। भदौ १० गते फलाम गलाउने क्रममा उद्योगको भट्टी पड्किएर १५ मजदुर घाइते भएका थिए। तीमध्ये ५ जनाको मृत्यु एक साताअघि नै भएको खुलेको हो। तर, उद्योगले त्यसबारे औपचारिक जानकारीसमेत दिन मानेको छैन। 

उद्योग व्यवस्थापनले सख्त घाइते ६ जनालाई भदौ १० गते रातारात भारतको पटनास्थित एपोलो अस्पताल पठाएको थियो। त्यसमध्ये ५ मजदुरको मृत्यु भएको जानकारी पर्सा प्रहरीले बिहीबार मात्र पाएको छ। मृत्यु हुनेमा भारत बिहारका ५२ वर्षीय विनोद पाण्डे र २७ वर्षीय गगन नायक उत्तर प्रदेशका ३२ वर्षीय धिरु सहनी, लखनउका ३७ वर्षीय मानस परिदा र ३० वर्षीय रामपुकार यादव छन्। 

पटनाको एपोलो अस्पतालमा उपचारका क्रममा ३ जनाको भदौ १६ गते र २ जनाको भदौ १८ गते मृत्यु भएको जानकारी बिहीबार मात्र पाएको पर्साका एसपी बेलबहादुर पाण्डेले बताए। ‘५ जनाको मृत्यु भएको रहेछ,’ एसपी पाण्डेले अन्नपूर्णसँग भने, ‘तर, यो जानकारी बिहीबार मात्रै पाएका हौं।’ 

वास्तविकता लुकाउने उद्योगको प्रयास

उद्योग व्यवस्थापन पक्षले ५ जना मजदुरको मृत्युबारे आधिकारिक जानकारी नै दिन मानेको छैन। भट्टी बिस्फोटको घटना उद्योगले सुरुदेखि नै ढाकछोपको प्रयास गरेको थियो। 

उद्योगका महाप्रबन्धक गुरुप्रसाद चौधरीसँग बिहीबार साँझ प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमै आउन चाहेनन्। उनको मोबाइल नं ९८५१२३७१८७  मा पटक—पटक फोन गर्दा नउठाइ काटेका छन्। घटना भएको दिन पनि सञ्चारकर्मीलाई घटनास्थलमा जान बन्देज गरियो। व्यवस्थापनले उद्योगको मूल गेटबाटै सञ्चारकर्मीलाई फर्काएको थियो।  

वीरगन्जमै सुविधासम्पन्न ठूला अस्पताल भए पनि घटनाको वास्तविकता बाहिर आउन नदिन व्यवस्थापनले ६ जना घाइते मजुदरलाई रातारात भारतको पटना लगेको थियो। घटना भएकै दिन वीरगन्जमा उपचाररत मजदुरले उद्योगकै लापरबाहीका कारण भट्टी पड्किएर आगो लागेको बताएका थिए। त्यही दिन  ६ जनासहित अरू घाइतेलाई रातारात पटना लगिएको थियो।  उद्योगले पुराना कवाडी संकलन गरेर ल्याएको सिलिण्डर भट्टीमा पर्दा दुर्घटना भएको घाइते मजदुरले बताए। तर, उद्योग व्यवस्थापनले भने फ्रेस फलाम जन्य कच्चा पदार्थबाट मात्र बिलेट उत्पादन गरिरहेको दाबी गरिरहेको छ। 

भदौ १० गते घटना बारे सञ्चारकर्मीलाई जानकारी दिने क्रममा घाइते मजदुरले उद्योगले बजारबाट संकलन गरी पुराना खिया लागेका पुराना स्क्रेप (कबाडी फलाम) खरिद गरेर बिलेट र डण्डी उत्पादन गर्दै आएको खुलासा गरेका थिए। ‘भट्टामा फलामजन्य कवाडहरू हाल्यौं। त्यसमा ग्यासको सिलिण्डर पनि रहेछ,’ घाइते मजदुरले भनेका थिए, ‘सिलिण्डर पड्किएर भट्टा बिस्फोट भयो। आगोको लप्कामा हामी पर्‍यौं।’ फलामजन्य कवाडमा सिलिण्डर पनि मिसिएको र उक्त सिलिण्डरमा ग्यास भए, नभएको आफूहरूलाई जानकारी नदिइएको ती मजदुरले बताए।  अरू स्टिल उद्योगले बिलेट आयात गरेर फलामको डण्डी उत्पादन गर्दै आएका छन्। घटनाको वास्तविकता लुकाउने उद्योग व्यवस्थापनको प्रयासलाई स्थानीय प्रशासनले पनि साथ दिएको आशंका गरिएको छ। साताअघि नै ५ जना मजदुरको मृत्यु भए पनि स्थानीय प्रशासनले भने त्यसबारे जानकारीसमेत राखेको छैन।  पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले ५ जना मजदुरको मृत्यु भएको जानकारी आधिकारिक रूपमा नआएको बताए। ‘मैले पनि मौखिक रूपमा मात्रै सुनेको छु। उद्योग व्यवस्थापनसंग बुझ्छु,’ उनले भने।

Published on: 10 September 2021 | Annapurna Post

Link

Back to list

;