s

पुनः रोजगारीमा जानलाई ऋणकै भर

गोपाल संग्रौला

वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली युवामध्ये झन्डै ८० प्रतिशत श्रमिक ऋणकै भर पर्ने गरेका छन् । प्रवासी नेपाली समन्वय समिति (पिएनसिसि) ले संकलन गरेको तथ्यांकमा आधारित रही गरिएको अध्ययनमा ऋण लिएकामध्ये लगभग ५० प्रतिशतले ऋण तिर्न बाँकी रहँदै स्वदेश फर्कनु पर्ने बाध्यता देखाइएको छ ।

 सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटी, सोशल साइन्सले गरेको अध्ययनले वैदेशिक रोजगारीबाट फर्केर आएका आप्रवासी श्रमिकहरू थप आर्थिक जोखिममा रहेको देखाएको छ । त्यसैगरी वैदेशिक रोजगारी रहेका श्रमिकले सेवा शुल्क बुझाउन ठुलो लगानी गर्दा लामो समय विदेश बस्नु पर्ने बाध्यता रहेको देखिएको छ । पुनः वैदेशिक रोजगारीमा जाने योजनामा रहेको श्रमिकहरूमध्ये ५४ प्रतिशतले पुनःऋण लिएर वैदेशिक रोजगारीमा जाने योजना बनाउने गरेको देखिएको छ ।

त्यसैगरी पुनःवैदेशिक रोजगारीमा जाने योजनामा रहेको आप्रवासी श्रमिकहरूमध्ये ४६ प्रतिशतको आफूले पहिले वैदेशिक रोजगारीमा जनाको लागि लिएको ऋण तिर्न बाँकी रहेको देखिन्छ । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका नेपाली श्रमिकले आर्जन गरेको पुँजी उद्यमशिलतामा लगाउने नीति लिएता पनि ऋणको भारी बोकेर फर्केका श्रमिकलाई उद्यमी बनाउन चनौती हुने गरेको देखिएको छ । धेरै ऋण लिएर गएका श्रमिकमध्ये वैदेशिक रोजगारीबाट फर्किएका ७२ प्रतिशतले वैदेशिक रोजगारीको क्रममा बचत गर्न समेत नसकेको अध्ययनले देखाएको छ ।

वैदेशिक रोजगारीका क्रममा गन्तव्य देशहरूमा सामना गरेको विभिन्न प्रकारका समस्या जस्तै करारपत्रसँग सम्बन्धित मुद्दा, कारावास र बेपत्ता भएका तथा हराएका सम्बन्धी मुद्दाहरूको कारण उनीहरूले बचत गर्न नसकेको अध्ययनले देखाएको छ । अध्ययनकर्ता जीवन बानियाले वैदेशिक रोजगारीबाट नेपाल फर्किएका आप्रवासी कामदारमध्ये ३७.६ प्रतिशत निर्वाहमुखी कृषिमा संलग्न भएको र १६.५ प्रतिशत बेरोजगार रहेको देखिएको बताएका छन् ।

नेपाल फिर्ता आएपछि अप्रवासी श्रमिकले उच्च लाभ हुने काम पाउन नसकेको, नेपालको श्रम बजारमा उनीहरूको सीप र ज्ञानको मेल नभएको र उचित कामका अवसरहरूको नरहेको देखाएको छ । ९.२ प्रतिशत श्रमिकले आफूले आर्जन गरेको सीप मात्रै नेपालमा प्रयोग गर्न सकेको बानीयाले बताएका छन् । करिब ३३ प्रतिशतले विदेशमा सिकेको सीप नेपालको श्रम बजारसँग सान्दर्भिक नभएको, २० प्रतिशतले नेपाली श्रम बजार अथवा स्थानीय श्रम बजारमा समान काम उपलब्ध नभएको र ११ प्रतिशतले प्राविधिक भिन्नताहरूका कारण आफूले सिकेको सिप नेपालमा उपयोग गर्न नसकेका देखिएको छ ।

सरकारी कार्यक्रममा पहुँच अध्ययनले वैदेशिक रोजगारीबाट फर्किएका नेपाली आप्रवासी श्रमिकमा केन्द्रीय, प्रदेश र स्थानीय तहले सञ्चालन गरेका रोजगार, उद्यम तथा वित्तीय योजना तथा कार्यक्रम बारे जानकारी नभएको देखाएको छ । सो सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिब केबलप्रसाद भण्डारीले वैदेशिक रोजगारी क्षेत्रमा सुधार गर्नु पर्ने विभिन्न समस्या रहे जस्तै विदेशबाट फर्केका श्रमिकका लागि पनि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न नसकेको स्वीकारे ।

उनले वैदेशिक रोजगारीमा देखिएका समस्यालाई सुधार गर्न प्रविधि तथा कानूनी विषयमा सुधार भइरहेको बताए । झन्डै ५९ प्रतिशत आप्रवासी श्रमिकले सरकारद्वारा सञ्चालित वित्तीय योजनाहरूको जानकारी नभएको बताएका थिए । बेरोजगार नागरिकहरूका लागि सरकारद्वारा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमबारे २५.७ प्रतिशतलाई जानकारी रहेको अध्ययनले देखाएको छ । यसरी नै २२ प्रतिशतलाई सीप र व्यावसायिक तालिम एवं १७.४ प्रतिशतलाई सहुलियतपूर्ण ऋण योजनाबारे जानकारी हुने गरेको देखिएको छ ।

विभिन्न योजनाका बारेमा सुनेका १३.३ प्रतिशतले मात्रै योजनाबाट लाभ प्राप्त गरेका बताएका थिए । विभिन्न अन्तर सम्बन्धित कारकहरूले नेपाल फर्किएका आप्रवासी श्रमिकहरूलाई फेरि वैदेशिक रोजगारीमा जान बाध्य गरेको देखिएको छ । स्थानीय श्रम बजारमा एकीकरण हुन नसकेर ५४ प्रतिशत, घरायसी खर्च धान्न अपर्याप्त आम्दानी भएका ८० प्रतिशत र व्यावसायिक असफलताले २० प्रतिशत नेपाली युवा पुनः वैदेशिक रोजगारीमा जाने योजनामा रहेको पनि अध्ययनले देखाएको छ ।

Published on: 22 December 2023 |Karobar

Link

Back to list

;