s

विदेशबाट आउनेलाई पाँच दिनपछि अनिवार्य परीक्षण

Year of Publication: 20 July 2020 | Nagarik

Published by: CESLAM

पवित्रा सुनार

विदेशबाट नेपाल आउनेहरूका लागि सरकारले ५ दिनपछि अनिवार्य रूपमा पिसिआर परीक्षण गर्ने निर्णय गरेको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको नियमित बैठकले यस्तो निर्णय गरेको हो। यसअघि १४ दिन क्वारेन्टिनमा बसेपछि मात्र परीक्षण गर्ने व्यवस्था थियो।

विदेशबाट आउनेलाई ५ दिनसम्म होल्डिङ सेन्टरमा राखेपछि मात्र परीक्षण गरिनेछ। १४ दिनपछि गरिने र ५ दिनअघि गरिने दुवै परीक्षण प्रक्रिया प्रभावकारी नभएकाले ५ दिनपछि परीक्षण गर्ने निधो गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।

आउने क्रममै भए संक्रमण ५ दिनपछि मात्र देखिन सुरु हुने भएकोले यो प्रक्रिया प्रभावकारी हुने सहप्रवक्ता अधिकारीले बताए। योसँगै स्थलगत मार्गबाट आउनेहरू, जोखिमयुक्त पेसामा संलग्न व्यक्तिहरू, स्वास्थ्यकर्मीलगायतको परीक्षण गर्ने निर्णय भएको छ। नेपालमा तथ्याकंमा कोरोना संक्रमण घटे पनि छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमण बढिरहेको र त्यहाँबाट आवात–जावात कायम रहेकाले अहिले पनि नेपाल संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। ‘संक्रमण घटे पनि हामी उच्च जोखिममै छौं,’ उनले आइतबार नियमित पे्रस ब्रिफिङका क्रममा भने। यो जोखिमलाई घटाउन परीक्षणभन्दा पनि हामीले अपनाउने सावाधानी बढी भरपर्दो हुने उनले बताए। ‘हामी सधैं जोखिममा छौं, मुख्य कुरा हाम्रो बानी–व्यवहारमा सुधार हुनुपर्छ। अहिले कोरोनाको जोखिम घटेजस्तो गरी नियम उल्लंघन भइरहेको देखिन्छ, यसले थप जोखिम बढाएको छ,’ उनले भने।

आइतबार देशभरमा परीक्षण भएका ४ हजार ७ सय ४१ वटा नमुना परीक्षणमध्ये १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमितसहित नेपालमा कुल संक्रमित संख्या १७ हजार ६ सय ५८ पुगेको छ। तीमध्ये ४० जनाको मृत्यु भएको छ। आइतबारै नै थप ५८ जना निको भई डिस्चार्ज भएका छन्। उनीहरूसहित नेपालमा कुल ११ हजार ६ सय ९५ जना अर्थात् ६६.२४ प्रतिशत निको भएका छन्। हाल क्वारेन्टिनमा २२ हजार ६ सय ६२, सक्रिय संक्रमित आइसोलेसनमा ५ हजार ९ सय २३ जना छन्।

आइतबार सबैभन्दा बढी सप्तरीमा ३२, सर्लाहीमा २५ र कैलालीमा २४ जना देखिएका छन् । त्यसैगरी नवलपरासीमा र बर्दियामा १०÷१० जना संक्रमित भएका छन्। आइतबार नेपालका तीन जिल्ला रौतहट, बाजुरा र कैलालीमा मात्र ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ८ वटा जिल्ला भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला कोरोना संक्रमण मुक्त रहेका छन्। पछिल्लो अवधिमा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ७ हजार २ सय २० जना छन्। त्यसपछि प्रदेश ५ मा ३ हजार ६ सय ८८ जना छन्।

लुकिछिपी आउनेबाट जोखिम

सरकारले कोरोना संक्रमणबाट बचाउनको लागि लामो समयदेखि हवाइ उडान र सीमा नाका तथा एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा रोक लगाएको छ। तर लुकिछिपी दैनिक हजारौंैको संख्यामा राजधानी छिर्ने गरेका छन्। तरकारी, फलफूल तथा अन्य सामग्री ढुवानी गर्ने मालवाहक गाडी तथा मोटरसाइकलमा राजधानी भित्रिने गरेको कोरोना परीक्षण गर्न आउनेहरूबाट जानकारी पाएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक तथा सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताए। ‘भारतको मोतियारीबाट समेत यहाँ आएका छन्,’ उनले भने।

टेकु अस्पतालमा यसरी परीक्षण गर्न आउने अहिले दैनिक ५ सय जनासम्म रहेको अस्पतालका प्रवक्ता डाक्टर अनुप बास्तोलाले बताए। लुकेर आएका उनीहरू घरबेटीको दबाबपछि मात्रै अस्पतालसम्म परीक्षणका लागि आउने गरेको उनले बताए। अस्पतालमा आउने सबैको परीक्षण भने गरिँदैन। सरकारले जारी गरेको कोभिड–१९ परीक्षण निर्देशिकाले सबैको परीक्षण गर्न नमिलेपछि १५ दिनसम्म होम क्वारेन्टिनमा बस्न र त्यो अवधिमा कुनै समस्या भएमा अस्पतालमा सम्पर्क गर्नु भन्दै पठाउने गरेको डा.बास्तोलाले बताए। यसरी आउनेहरू मध्येमा असार मसान्तभित्रमा मात्र १३ सयको पिसिआर परीक्षण गरिएको र त्यसमध्ये १३ जनालाई कोरोना पुष्टि भएको डाक्टर बास्तोलाले जानकारी दिए।

‘हामीले होम क्वारेन्टिनमा बस्नु भनेर पठाउँछौं, सरकारी नियमअनुसार बसे वा नबसेको भने थाहा हुँदैन,’ डा.पुनले भने। उनका अनुसार भारत तथा तराईबाट लकडाउनको अवधिमा आउनेहरू धेरै जसो फलफूल पसले, शैलुन व्यवासायी, तरकारी व्यापारी, मजुदरी गर्नेहरू हुने र उनीहरू आफ्नो काममा जानुपर्ने बाध्यताले तोकिएको दिनसम्म होम क्वारेन्टिनमा आंशिक मात्रै बस्नेत गरेका छन्।

दैनिक कोरोना प्रभावित क्षेत्रबाट आउने र पूर्ण क्वारेन्टिनमा नबस्दा उपत्यकामा जोखिम बढेको डा.पुनले बताए। सरकारको पछिल्लो तथ्याकंले संक्रमित संख्या घट्नु सकरात्मक कुरा भएपनि व्यवस्थापन बाहिरबाट आउनेको संख्याले जोखिम बढ्दै गएको छ। राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिष्ट धनराज पौडेलका अनुसार नेपालमा १०÷१२ लाख भारतीय विभिन्न पेशामा रहेका छन् र उनीहरू विभिन्न तरिकाले यहाँ आउने क्रम भइरहेको छ।

नागढुंगा चेकपोष्टले दिएको जानकारी अनुसार दैनिक तराई तथा भारतबाट गरेर दैनिक ५ सयदेखि १ हजार वटासम्म मालवाहक गाडी राजधानी भित्रिने गरेका छन्। हाल भारतबाट प्राविधिक सामग्री लिएर दैनिक तीन÷चार वटा मात्र आउने गरेको र यस्ता गाडीमा लुकेर आउने तर चेकपोष्ट आइपुग्दा लुकुर जाने गरेको चेकपोष्ट नाकाका प्रहरी निरिक्षक हेमन्त थापाले बताए। लुकेर आउनेलाई फेला पारेमा आफूहरूले नाकाबाटै फिर्ता पठाउने गरेको उनको भनाइ छ।

Published on: 20 July 2020 | Nagarik

Link

Back to list

;