s

विदेशबाट आउनेलाई पीसीआर अनिवार्य

Year of Publication: 20 July 2020 | Kantipur

Published by: CESLAM

अतुल मिश्र

काठमाडौँ — सरकारले विदेशबाट आउनेलाई पीसीआर परीक्षण गरेपछि मात्र घर जान दिने भएको छ । यसका लागि हवाई मार्गबाट आउनेहरू ५ दिन होल्डिङ सेन्टरमा बस्नैपर्ने भएको छ । विदेशवाट हवाई मार्ग भएर आउनेहरू पहुँचका आधारमा एयरपोर्टबाट सोझै घर जाने तथा होल्डिङ सेन्टरमा लापरबाही गर्ने गरेको गुनासो आएपछि पीसीआर परीक्षणमा कडाइ गरिएको हो ।

स्वास्थ्य मन्त्रालयको आइतबारको उच्चस्तरीय बैठकले गरेको निर्णयअनुसार विदेशवाट हवाई मार्गमार्फत आउने सबैलाई होल्डिङ सेन्टरमा ५ दिन राखेर पीसीआर परीक्षण गरेपछि मात्र सम्बन्धित स्थानीय तहमा पठाइनेछ । विदेशबाट स्थलमार्गबाट आउनेहरूसमेत पीसीआर परीक्षण गरेर मात्र सम्बन्धित ठाउँमा जान पाउने छन् । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले कोभिड संक्रमितको सम्पर्कमा आएका, स्वास्थ्यकर्मी, अत्यावश्यक सेवाकर्मीको समेत परीक्षण गर्ने निर्णय गरिएको जानकारी दिए । ‘चिकित्सकको सल्लाहअनुसार अरूको पनि परीक्षण गर्ने निर्णय भएको छ,’ उनले भने ।

विज्ञहरूले विदेशबाट आउने सबैको पीसीआर गरेपछि मात्र घर पठाउनुपर्ने आवश्यकता बारम्बार औंल्याउँदै आए पनि सरकारले खासै वास्ता गरेको थिएन । ‘स्वास्थ्य मन्त्रालयले विदेशबाट आउने सबैको पीसीआर गर्ने निर्णय गर्नमा धेरै ढिलो गर्‍यो,’ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले भने, ‘कोरोनाको हटस्पट अमेरिका र बेलायतबाट आएकालाई समेत सोझै घर जान दिइएको थियो ।’

अमेरिकाबाट आएका ४ सय २३ जनामध्ये ५ प्रतिशत (२१ जना) होटल क्वारेन्टाइनमा र अन्य होम क्वारेन्टाइनमा बसेका थिए । अमेरिकाबाट आएका ८३ प्रतिशत व्यक्ति काठमाडौंमै रहेको डा. बीसी बताउँछन् । यस्तै बेलायतबाट आएका २ सय २९ जनामध्ये ६७ जना प्रदेश गए भने बाँकी काठमाडौंमै बसे । डा. बीसीका अनुसार शनिबारसम्म २५ देशबाट ३० हजार ९ सय ४० जना नेपाली १ सय ९९ उडानबाट मुलुक भित्रिएका छन् । यसमध्ये २५ प्रतिशत काठमाडौंमै बसे भने ७५ प्रतिशत उपत्यका बाहिर गए ।

विदेशबाट आउनेहरूमा ३.६ प्रतिशत मात्र होटल क्वारेन्टाइनमा गएका थिए भने बाँकी होम क्वारेन्टाइनलगायतका ठाउँमा बसेका थिए । डा. बीसीले कोरोनाको हटस्पट मुलुकबाट आइसकेकाहरूमा कोरोनाको स्थिति निगरानी गर्नुपर्ने बताए ।

Published on: 20 July 2020 | Kantipur

Link

Back to list

;