s

विदेशबाट आउनेलाई स्थानीय तहको निगरानीमा १४ दिन होम क्वारेन्टिन

Year of Publication: 22 July 2020 | Nagarik

Published by: CESLAM

पवित्रा सुनार

सरकारले विदेशबाट स्वेदश फर्किनेलाई स्थानीय निकायको निगरानीमा मात्र होम क्वारेन्टिनमा राख्ने मापदण्ड संशोधन गरेको छ । हवाइ उडान मार्फत बिभिन्न देशबाट आइरहेको र भदौदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान सुचारु हुने हुँदा जोखिम देशबाट समेत नेपालीहरु आउने क्रम रहेकोले मापदण्ड संशोधन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मापदण्ड अनुसार होम क्वारेन्टिनमा बस्न चाहने व्यक्तिलाई स्थानीय निकायको निगरानीमा मात्र होम क्वारेन्टिनमा पठाइनेछ । जसको लागि सम्वन्धित व्यक्तिको घरको भौतिक पूर्वाधार क्वारेन्टिनमैत्री हुनु पर्नेछ । सूर्यको प्रकाश पर्याप्त भएको हावा खेल्ने हुनु पर्नेछ । सकेसम्म स्नानघर, शौचालयको छुट्टै व्यवस्था हुनु पर्नेछ । यदि सामूहिक शौचालय भएमा प्रयोग पनि अनिवार्य निसंक्रमण गर्नु पर्नेछ ।

त्यसैगरी क्वारेन्टिनमा बस्ने व्यक्तिले घरका सदस्य तथा आफन्तहरुसंग भेटघाट गर्दा दुई मिटरको भौतिक दूरी कायम राख्नु पर्नेछ । क्वारेन्टिनमा बस्ने व्यक्ति र परिवारका अन्य व्यक्तिले कुराकानी गर्दा अनिवार्य रुपमा तीन तहको मास्क प्रयोग गर्नु पर्नेछ । यसको साथै पटक–पटक सावुन पानीले हात धुने र सेनिटाइजरको प्रयोग गर्नु पर्नेछ । खोक्दा, हाच्छ्यिु गर्दा रुमाल या टिसियु पेपरले मुख छोप्ने, धेरै छोइने ठाउँहरु ढोका, मेशिनका ह्याण्डल, टेवुल तथा अन्य यस्तै सामग्रीहरु निसंक्रमण गर्ने र घरका अन्य सदस्यले समेत सावुन–पानीले पटक–पटक हात धुने गर्नु पर्छ ।

यसका साथै यो अवधिमा अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कने, आवश्यक सामग्री परिवारका अन्य सदस्यले व्यवस्था गर्ने, मानसिक स्वास्थ्य राम्रो राख्न आफूलाई मन पर्ने पुस्तक पढ्ने, योग अभ्यास गर्ने, कुनै जिज्ञासा भएमा नेपाल सरकारले तोकेको ११३३ नम्वरमा फोन गर्ने गर्नु र आफ्नो स्वास्थ्य अवस्था बारेमा नजिकको स्वास्थ्य संस्थामा जानकारी दिने गर्नु पर्नेछ ।

‘यो अवधिमा अरुको सम्पर्कमा गएमा वृद्ध तथा प्रतिरक्षा क्षमता कमजोर भएकालाई कोरोना संक्रमणको जोखिम बढ्छ’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने । यसअघि स्थानीय निकायमा सामुदायिक क्वारेन्टिनको मात्र मापदण्डले व्यवस्था गरेको थियो ।

६९ प्रतिशत भन्दा बढी कोरोना संंक्रमित निको भए

नेपालमा कुल १७ हजार ९ सय ९४ जना कोरोना संक्रमित मध्येमा ६९.३४ प्रतिशत निको भएका छन् । मंगलबार एकैदिनमा ६ सय ९ जना निको भइ बिभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सहित नेपालमा निको हुनेको संख्या १२ हजार ४ सय ७७ पुगेको छ । हालसम्म नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मंगलाबार देशभरमा ३ हजार ९ सय ६३ वटा नमूना परिक्षण भएकोमा १ सय ५० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो बृद्विदर मंगलबारकै जतिको दर अर्थात् ३.७८ छ । मंगलबार सवैभन्दा बढी धनुषामा २९ जना संक्रमित भएका छन् । त्यसैगरी कंचनपुरमा २० र महोत्तरीमा १३, काठमाडौं उपत्यकामा ८ र ललितपुरमा ९ जना संक्रमित भएका छन् । नेपालका ३ वटा जिल्लाहरु रौतहट, कैलाली र बाजुरामा मात्र ५ सय भन्दा बढी सकृय संक्रमित रहेका छन् भने ७ वटा जिल्ला कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।

सरकारले भदौ १ गतेदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाइ उडान सुचारु गर्ने बाध्यताम्क निर्णय लिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । हवाइ उडान खोलेपछि छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमण ह्वात्तै बढेकोले यो अवधिमा आमजनता थप सचेत हुनको लागि डा.गौतमले आग्रह गरे । उनले भने,‘ बिभिन्न अवरोध भएका कामहरु खोल्नको लागि सरकारले उडान तथा लकडाउन खुकुलो पारेको हो, यसले थप जोखिम बढाएको, हरेक व्यक्तिले कोरोनाबाट बच्ने उपाय आफै अपनाएरै मात्र सुरक्षित हुन सकिन्छ’ उनले भने ।

Published on: 22 July 2020 | Nagarik

Link

Back to list

;