s

विदेशबाट फर्किनेलाई होम क्वारेन्टाइन !

Year of Publication: 22 July 2020 | Kantipur

Published by: CESLAM

अतुल मिश्र

काठमाडौँ — कोभिड–१९ प्रभावित मुलुकबाट स्वदेश फर्किनेहरू आफ्नै घरमा क्वारेन्टाइनमा बस्न पाउने भएका छन् । सरकारले तोकिएको मापदण्ड पूरा गरेर घरमै क्वारेन्टाइन बस्न सक्ने गरी ‘होम क्वारेन्टाइन’ मापदण्ड स्वीकृत गरेको हो । मापदण्डअनुसार १४ दिनसम्म घरमै क्वारेन्टाइन बस्न सकिनेछ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारी भन्छन्, ‘विदेशबाट आएकाले घरमै क्वारेन्टाइनमा बस्न चाहेमा सम्बन्धित अधिकारीले स्थानीय तहको सहमति र प्रत्यक्ष निगरानीमा १४ दिन होम क्वारेन्टाइनमा पठाउन सक्छ । तर सरकारले स्वीकृत गरेको मापदण्डअनुसारको भौतिक पूर्वाधार भने हुनु जरुरी छ ।’

घरमै क्वारेन्टाइन बस्न हावा खेल्ने र पर्याप्त प्रकाश आउने छुट्टै कोठा हुनुपर्छ । सकेसम्म स्नान घर/शौचालयको छुट्टै व्यवस्था हुनुपर्छ । सामूहिक शौचालय भए प्रयोगपछि प्रत्येक पटक संक्रमण हटाउने रसायनले राम्ररी सफा गरेपछि मात्र परिवारका अन्य सदस्यले उपयोग गर्नुपर्छ । ‘घरमा समेत अत्यावश्यक अवस्थामा बाहेक सदस्यहरूसँगको भेटघाटमा अनिवार्य रूपले २ मिटरको भौतिक दूरी कायम गर्नैपर्छ,’ डा.अधिकारीका अनुसार सामान्य रूपमा प्रत्यक्ष भेटघाटलाई होम क्वारेन्टाइनमा प्रोत्साहित गरिएको छैन ।

उनका अनुसार अत्यावश्यक अवस्थामा पनि मिलेसम्म सामाजिक दूरी कायम राखेर भेट्ने र यस्तो बेला दुवै पक्षले मेडिकल मास्क वा कपडाको तीन तह भएको मास्क अनिवार्य रूपमा लगाएकै हुनुपर्छ । सकेसम्म घर बाहिर निस्किनु हुँदैन । क्वारेन्टाइनमा रहनेले समय–समयमा साबुनपानीले हात धुनुपर्छ । ७० प्रतिशत अल्कोहलयुक्त सेनिटाइजरसमेत प्रयोग गर्न सकिन्छ । मापदण्डअनुसार क्वारेन्टाइनमा रहनेले अनावश्यक ठाउँ र वस्तुहरू छुनु हुँदैन । विद्युतीय माध्यमबाट पैसाको कारोबारलाई प्राथमिकता दिनुपर्छ । सकेसम्म आफ्नै आँखा, नाक र मुखलाई समेत नछुन, जथाभावी नथुक्न, खोक्दा वा हाँच्छिउ गर्दा रुमाल वा टिस्यु पेपरले मुख छोप्न सुझाइएको छ । ‘होम क्वारेन्टाइनमा रहँदा विशेषगरी वृद्धवृद्धा, दीर्घरोगी, गर्भवती, सुत्केरीलगायतलाई संक्रमण हुन नदिन उच्च सतर्कता अपनाउनुपर्छ,’ डा.अधिकारी भन्छन्, ‘क्वारेन्टाइनमा बस्नेले उपयोग गर्ने भाँडाहरू राम्ररी सफा गरेर सुकेपछि मात्र पुनः प्रयोग गर्नुपर्छ ।’

बेलाबेलामा क्वारेन्टाइन बसेको कोठा र प्रयोग गरिएका सामानलाई सेनिटाइजसमेत गर्दै जानुपर्छ । बढी प्रयोग हुने ढोका, ह्यान्डल, टेबुललगायतका सामग्रीलाई नियमित रूपमा डिस्इन्फेक्टेन्ट प्रयोग गरी सफा गर्नुपर्छ । क्वारेन्टाइनमा बस्दा शारीरिक र मानसिक स्वास्थ्यमा समेत विशेष ध्यान दिनुपर्छ । यसका लागि योग, व्यायाम, ध्यान, स्वस्थकर मनोरञ्जनका उपायसमेत अपनाउन सकिने मापदण्डमा उल्लेख छ । ‘यतिले मात्र हुँदैन,’ डा.अधिकारी थप्छन्, ‘क्वारेन्टाइनमा रहनेहरू सम्भावित संक्रमित हुने भएकाले उनीहरूबाट उत्पन्न फोहोरसमेत संक्रमणको कारक हुन सक्छ । यसको उचित रूपमा व्यवस्थापन आवश्यक हुन्छ ।’

मापदण्डअनुसार होम क्वारेन्टाइनमा रहेकाले आफ्नो स्वास्थ्य अवस्थाबारे चिकित्सक, स्वास्थ्यकर्मी वा नजिकको स्वास्थ्य संस्थामा नियमित जानकारीसमेत गराउनुपर्छ ।

Published on: 22 July 2020 | Kantipur

Link

Back to list

;