s

रुसी सेनामा कार्यरत नेपालीहरुबारे के भन्छन् रादजूत नोभिकोभ ?

Year of Publication: 21 March 2024 | Nagarik

Published by: CESLAM

रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फिर्तीको वातावरण बनाउन अर्थमन्त्री वर्षमान पुनले नेपालका लागि रुसी रादजूत अलेक्सेई नोभिकोभसँग आग्रह गरेका छन्।

नवनियुक्त अर्थमन्त्री पुनलाई बधाई ज्ञापन गर्न आज अर्थ मन्त्रालय पुगेका राजदूत नोभिकोभसँग अर्थमन्त्री पुनले यस्तो आग्रह गरेका हुन्।

रुस–युक्रेन युद्धमा परी मृत्यु भएका नेपालीको शव फर्काउने वातावरण बनाउन, घाइतेको उपचार तथा मृतक परिवारलाई राहत एवं क्षतिपूर्तिको व्यवस्था गर्न पनि अर्थमन्त्री पुनले रुसको ध्यानाकर्षण गराए।

‘रुसी सेनामा आफ्ना नागरिक भर्ती गराउने हाम्रो नीति नभएको विषयमा परराष्ट्र मन्त्रालयले यसअघि नै स्पष्ट गरिसकेको छ। तर, पनि विभिन्न बाटो भएर गएका नेपाली रुसी सेनामा भर्ती भएका छन्’, उनले भने, ‘यसमा नेपाल सरकारसँगै आम जनताको गम्भीर चासो र चिन्ता छ। म यहाँमार्फत् रुस सरकारलाई रुसी सेनामा कार्यरत नेपालीको घर फिर्तीको वातावरणका लागि आग्रह गर्दछु।’

जवाफमा राजदूत नोभिकोभले नेपालीलाई सेनामा भर्ती गर्ने कार्यमा नेपाल सरकार दोषी नभएको स्पष्ट पार्दै रुसले पनि नेपालीलाई बोलाएर सेनामा भर्ती नगरेको तर्क गरे। भारत र दुबईसहित विभिन्न मुलुकबाट अवैध रुपमा गएका नेपाली स्वेच्छाले सेनामा भर्ती भएको उनले बताए।

रुसले फिर्ता पठाउन चाहे पनि सबै नेपाली स्वदेश फर्कन इच्छुक नभएको खबर आफूले पाएको दाबी पनि उनले गरे। ‘नेपालले पठाएर वा हामीले आह्वान गरेर उनीहरु सेनामा भर्ती भएका होइनन्। स्वेच्छाले भर्ती भएकाले स्वदेश फर्कभन्दा पनि धेरै नेपाली नफर्कने मनस्थितिमा रहेको खबर हामीले पाएका छौंँ’, राजदूत नोभिकोभले भने।

युक्रेनी सेनाले बन्धक बनाएका नेपालीलाई युद्धबन्दी साटासाट गरेर मुक्त गराउने तयारी भइरहेको जानकारी पनि राजदूत नोभिकोभले अर्थमन्त्री पुनलाई दिए। ‘हाम्रो सेनाको नियन्त्रणमा रहेका युक्रेनी फौजका सदस्यसँग साटेर भए पनि नेपालीहरुलाई युक्रेनबाट मुक्त गर्ने तयारी छ’, उनले भने।

Published on: 21 March 2024 | Nagarik

Link

Back to list

;