s

श्रम स्वीकृति लिएका कामदारलाई जोन्सन खोप देऊ : श्रम मन्त्रालय

Year of Publication: 15 July 2021 |  Kantipur

Published by: CESLAM

कान्तिपुर संवाददाता 

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई कोभिड विरुद्धको जोन्सन एण्ड जोन्सन खोप दिनको लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)लाई अनुरोध गरेको छ ।

श्रमले खोप प्राप्त गर्न नसक्दा रोजगारीको अवसरबाट वञ्चित हुनुपर्ने अवस्था आएको भन्दै सिसिएमसीलाई जोन्सन खोप उपलब्ध गराउन आग्रह गरेको हो । प्रमुख गन्तव्य देशहरुले जोन्सनलाई मान्यता दिएको छ । 

‘तत्कालको लागि एकलाख जनालाई पुग्ने खोपको प्रबन्ध भए वैदेशिक रोजगारीको क्षेत्रमा देखिएको समस्यालाई सम्बोधन हुनेछ,’ श्रम सचिव सुर्यप्रसाद गौतमले भने । नेपाली कामदारका प्रमुख गन्तव्य देशहरुले खोपको प्रबन्ध भएका देशबाट मात्रै कामदार लैजाने नीति लिएको छ । दुवै मात्राको खोप नभएपछि नयाँ र बिदामा आएका नेपाली कामदार समेत रोजगारीमा जान पाएका छैनन् । चालू आर्थिक वर्षमा एकलाख ५९ हजारले श्रम स्वीकृति पाएका छन् । जसमध्ये धेरै कामदार खोप नपाएर गन्तव्य देशमा जान रोकिएका छन् ।

नेपालीको आकर्षक गन्तव्य मानिएको दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, मलेसिया र कुवेतले नेपाली कामदारलाई जान रोकेको छ । साउदी अरब, कतार, बहराइन र ओमानले भने सर्तसहित क्वारेन्टाइनमा १० दिन बस्ने गरी कामदार लगिरहेको छ ।

गत वर्षको फागुन २१ देखि कोरियामा कामदार पठाउने प्रक्रियालाई स्थगित छ । कोरियाले नेपाललाई कोरोनाको अति संवेदशनील मुलुकको सूचीबाट हटाएको छैन । यूएईले वैशाख २३ देखि नेपालबाट कामदारसहितको यात्रुलाई प्रवेश निषेध छ । कोरोनाको ठूलो मारमा परेको भारतलाई खुल्ला गरेपनि नेपालबाट कामदार लगेको छैन । यूएईले भने नेपालमा खोप नभएको भन्दै नेपालीको प्रवेशलाई अनुमति दिएको छैन । यूएईको स्वास्थ्य मन्त्रालयको सूचना अनुसार फिजर–बायोटेक, स्पुटनिक भी, सिनोफार्म, अक्सफोर्ड–एस्ट्राजेनेका खोपलाई मात्रै मान्यता दिइएको छ । 

कोरोनाको पहिलो संक्रमणको लहर देखिएलगत्तै कामदार लैजान बन्द गरेको कुवेतले आदो साउन १७ गतेदेखि खोप लगाइसकेको कामदार मात्रै आउन पाउने जनाएको छ । कुवेतले नेपालमा रोकिएका पहिला नै भिसा भएका कामदारले अनलाइनबाट नै नविकरण गर्न पाउने बाटो खोलिदिएको छ । नविकरण गरी उनीहरु साउन १७ देखि कुवेत जान पाउनेछन् । कुवेतले जोनसनलाई अनुमोदन दिएको छ । 

साउदी अरब र कतारले जोन्सनलाई अनुमति दिएको छ । साउदी र कतारले खोप लगाएको कामदारले ७ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियमलाई हटाएको छ । श्रम मन्त्रालयले क्वारेन्टाइनमा बस्दा कामदारको लाखौं खर्च भइरहेको सूचना आइरहेकोले श्रम स्वीकृति पाएका कामदारलाई खोप जरुरी भएको जनाएको छ ।

Published on: 15 July 2021 |  Kantipur

Link

Back to list

;