s

१० हजार चालक/सहचालक बेखर्ची • तराई बन्दको असर

शंकर आचार्य
 
भारतको आन्ध्र प्रदेशस्थित गुन्टोरबाट २७ दिनअघि रातो खुर्सानी बोकेको ट्रक लिएर आएका चालक जीएम राव वीरगन्जमा अलपत्र परेका छन् । वीरगन्ज भन्सारको यार्डमा १५ दिनदेखि उनको ट्रक थन्किएको छ । यहाँ रहेका आयातकर्तालाई फोन गर्दा नउठाएकाले उनलाई खुर्सानी ‘निल्नु न ओकल्नु’ भएको छ ।
 
त्यसअघि सीमावर्ती भारतीय सहर रक्सौलको रमगढवामा १ साता रोकिएका थिए । मध्य तराईमा आब्हान गरिएको बन्दका कारण ३ सातादेखि उनी कामविहीन भएका छन् । उनले ल्याएको बाटो खर्चसमेत सकिएको छ । ‘पैसा सकियो, उता भारतमा साहुलाई फोन गर्दा पठाइदिन्छु मात्र भन्छ, पठाउँदैन,’ उनले भने, ‘बन्द कहिले खुल्ने हो ठेगान छैन, ट्रकमै सुतेको छु, साथीभाइसँग सापट लिएर नुन/भात खाएर बसेको छु ।’
 
भारतको पश्चिम बंगाल खडगपुरबाट लोडर बोकेर आएको ट्रक सीमा क्षेत्रमा ३ साता रोकियो । सोमबार राति नेपाली भूमिमा प्रवेश गर्‍यो । तर उक्त लोडर भन्सार र जाँचपास प्रक्रिया पूरा गर्न थप केही दिन रोकिनुपर्ने भएपछि चालक सनोज कुमारले भन्सारको दक्षिण तर्फको खाली जग्गामा अनलोड गरिदिए । मंगलबार बिहान ट्रकमा तरकारी भात पकाउँदै गरेका उनले ठूलो भारी बिसाएजस्तो अनुभव सुनाए । ‘बंगालबाट हिँडेको १ महिना भयो,’ उनले भने, ‘जसोतसो आइयो, अब सीमामा रहेको जाम छिचोल्दै कसरी भारत प्रवेश गर्ने चिन्ता छ ।’ ट्रकमा इन्धन कसरी भर्ने चिन्ताले पनि सताएको उनले बताए ।
 
उनले बाटो तथा इन्धन खर्चका लागि ल्याएको पैसा सकिएकाले चाहेर पनि फर्कने अवस्था नरहेको बताए । ‘साहुलाई खबर गरेको छु,’ उनले भने, ‘इन्डियन आयल कर्पोरेसनलाई उतैबाट इन्धनको पैसा पठाइदिन्छु भनेका छन् तर आजसम्म पठाएका छैनन्, अझ कति दिन कुर्नुपर्ने हो कुन्नि ?’ राव र कुमारजस्ता धेरै भारतीय चालक अहिले यस्तै पीडा भोगिरहेका छन् ।
 
भारतका विभिन्न राज्यबाट मालसामान लिएर आएका उनीहरू रक्सौल र वीरगन्जमा अलपत्र परेका छन् ।वीरगन्ज भन्सार क्षेत्रदेखि भारतको रामगढवा लक्ष्मीपुर क्षेत्रसम्म भारतीय सवारी साधनको करिब २० किलोमिटर लामो लाम लागेको छ । करिब ५ हजारको संख्यामा यस्ता मालवाहक सवारी नेपाल भित्रिने प्रतीक्षामा बसेका छन् ।
 
सुरक्षा एस्कर्टिङमा दैनिक भित्रिने थोरै सवारी जाँचपास गरी भन्सारबाट छुटे पनि धेरै सवारी साधनमा रहेका मालवस्तुका आयातकर्ताले जोखिमका कारण एस्कर्टिङबाट मालसामान भित्र्याउन नचाहेकाले पनि भारतीय सवारी चालकलाई मालसामान सवारी साधनमै राख्नुपर्ने बाध्यता छ । प्रत्येक सवारी साधनमा एक चालक र अर्का सहचालकसमेत रहने भएकाले कम्तीमा १० हजार जना बाटोमै अलपत्र परेका छन् ।
 
अधिकांश मालवाहक सवारी विभिन्न भारतीय ट्रान्सपोर्ट कम्पनीका हुन् । चालक र सहचालक जागिर गुम्ने डरले कष्ट सहेर भए पनि मालसामान आयातकर्ताले चाहेको गन्तव्यसम्म पुर्‍याउनैपर्ने बाध्यता रहेको बताउँछन् । आयातकर्ताले पनि मालसामान नछुटाउने र भन्सार क्षेत्रमा पनि पर्याप्त खाली जग्गा नभएकाले चालकहरूले मालसामान अनलोड गर्न नसक्ने स्थिति रहेकाले बन्द खुल्ने र आयातकर्ताले जाँचपास गराएर सामान लग्ने समयको प्रतीक्षा गर्नेबाहेक उनीहरूसँग अन्य विकल्प छैन ।
  
Published on: 9 September 2015 | Kantipur
 

Back to list

;